आज इमर्जिङको भोलि बलेफी हाइड्रोपावरको अरू कुन-कुन दिन कुनको खुल्दैछ आईपी‌ओ ?

  • प्रकाशित मिति : २०७८ माघ २६, बुधबार
  • chhanbin.com

इमर्जिङ नेपालको प्राथमिक सेयर (आईपी‌ओ) बुधबारदेखि खुलेको छ । कम्पनीले अंकित मूल्य १ सयका दरले कुल ५ लाख ५५ हजार ६ सय कित्ता अर्थात ५ करोड ५५ लाख ६० हजार रुपैयाँ बराबरको आईपीओ बिक्री गर्न लागेको हो । फागुन १ गतेसम्म कम्पनीको आईपीओमा आवेदन दिन सकिनेछ ।

सामूहिक लगानी कोष र कर्मचारीलाई छुट्याएपछि ५ लाख १६ हजार ७०८ कित्ता सर्वसाधारणलाई बाँडफाँट हुनेछ । आफ्नो बैंक खाता भएको शाखा वा सीडीएससीको अनलाइन प्रणाली मेरोसेयरमार्फत आवेदन दिन सकिनेछ । इमर्जिङ लगत्तै अरु ३ कम्पनीको आईपीओ खुल्नेछ । यस कम्पनीले विभिन्न पूर्वाधार निर्माणका लागि अध्ययन गरी परामर्श दिनुका साथै लगानी गर्ने उद्देश्य लिएको छ ।

भोलि बिहीबारदेखि प्रभावित स्थानीयका लागि बलेफी हाइड्रोपावरको आईपीओ खुल्ने भएको छ । स्थानीयका लागि आईपीओ खुलाइसकेपछि सर्वसाधारणका लागि कम्पनीले आईपीओ निस्कासन गर्नेछ । सिन्धुपाल्चोक जिल्लाका आयोजना प्रभावित क्षेत्रहरु जुगल गाउँपालिका वडा नम्वर २,३ र ४ का लागि १० लाख ९६ हजार ७८२ कित्ता र प्रशारणलाइनबाट प्रभावित जुगल गाउँपालिका वडा नं। ५ र ७, बलेफी गाउँपालिकाको वडा नम्वर १, ३, ६ तथा ७ र सुनकोसी गाउँपालिकाको वडा नम्वर ७ का लागि ७ लाख ३१ हजार १८८ कित्ता सेयर निस्कासन हुने छ । यो कम्पनीको आईपीओमा प्रभावित स्थानीयले फागुन १२ गतेसम्म आवेदन दिन सक्ने छन् । ३६ मेगावाट क्षमताको यस आयोजना रनअफ रिभरमा आधारित हो । कुल लागत ७ अर्ब ६५ करोड लाग्ने अनुमान छ ।

राष्ट्रउत्थान लघुवित्तको आईपीओ सर्वसाधारणका लागि फागुन ४ देखि खुल्ने भएको छ । कर्मचारी र सामूहिक लगानी कोषलाई छुट्याएपछि ७ लाख ९४ हजार ५ सय कित्ता सेयर सर्वसाधारणका लागि खुल्नेछ । फागुन ८ गतेसम्म यसमा आवेदन दिन सकिनेछ ।

ग्रीन भेन्चर हाइड्रोपावरले प्रभावित स्थानीयका लागि फागुन २ गतेदेखि आईपीओ निस्कासन गर्ने भएको छ । प्रभावितलाई आईपी‌ओ बाँडफाँट गरेपछि सर्वसाधारणका लागि खुल्नेछ । ओखलढुङ्गा जिल्लाको खिजिदेम्बा गाउँपालिका १, २, ३ का सीमित प्रभावितले आवेदन दिन सक्नेछन् । लिखु गाउँपालिका ९, रामेछापको लिखु तामाकोसी गाउँपालिका २ र उमाकुण्ड गाउँपालिका ७ का प्रभावितले यसमा आवेदन दिन सक्नेछन् । फागुन १६ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीले ओखलढुङ्गाको लिखु खोलाबाट ५२.४ मेगावाट क्षमतामा विद्युत् उत्पादन गर्नेछ ।

त्यसपछि नेस्डो समृद्धि लघुवित्तको आईपीओ आउने छ । यद्यपि मिति तय भइसकेको छैन । नेस्डोले ८ लाख २८ हजार ७५० कित्ता सर्वसाधारण समूहको आईपीओ निष्कासन गर्नेछ ।