कमल थापा थप विक्षिप्त बन्ने देखियो यस्तो संकेत, घुमाएर क-कसले हान्दैछन् चड्कन ?

  • प्रकाशित मिति : २०७८ माघ २६, बुधबार
  • chhanbin.com

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता पशुपतिशमशेर राणाले पार्टी परित्याग गरेका कमल थापालाई तत्काल साथ नदिने संकेत दिएका छन् । आज (बुधबार) बिहान राप्रपाका केही नेताहरूसँग निवासमा छलफल गरेका राणाले अध्यक्ष राजेन्द्र लिङ्देन र कमल थापालाई मिलाएर लैजानुपर्ने धारणा राखेका छन् ।

पछिल्लो प्रतिकूल अवस्थामा पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्ने धारणा राख्ने क्रममा राणाले आफ्नो भूमिका दुवै नेतालाई मिलाउनेतिर नै हुने बताएका थिए । थापा र राणानिकट ती नेताहरूसँगको छलफलमा राणा राप्रपा छोडिहाल्ने मुडमा नदेखिएपछि अन्य नेताहरू पनि अन्योलमा परेका छन् ।

राणाकाे निवासमा पुगेका एक नेताका अनुसार राणाले थापालाई साथ नदिने स‌ंकेत गरेकाे अवस्थामा राप्रपाका पदाधिकारी र केन्द्रीय सदस्यहरू पनि प्रभावित हुनेछन् ।

पार्टी विभाजनको आरोप नलागोस् भन्नका लागि सकेसम्म पशुपतिशमशेर राणालाई अध्यक्ष बनाएर नयाँ पार्टी बनाउने रणनीतिमा कमल थापा छन् । आफूनिकट नेताहरूसँगको छलफलमा थापाले राणालाई अध्यक्षमा प्रस्ताव गर्न सक्ने बताएका थिए ।

राणाले अस्वीकार गरेको अवस्थामा राप्रपाका उपाध्यक्ष बुद्धिमान तामाङलाई अध्यक्षकाे प्रस्ताव गर्ने सोचमा पनि थापा रहेको उनीनिकट नेताहरूको भनाइ छ । बुधबार बिहानकाे अनौपचारिक छलफलमा दुवै नेतालाई मिलाउनुपर्ने तर्क राणाले गरेपछि उनले थापालाई साथ नदिने अनुमान गर्न थालिएको छ । त्यसो त अहिलेसम्म तामाङले पनि थापाको पक्षमा मुख खोलेका छैनन् ।