इमर्जिङ नेपालको खुल्यो आइपीओ, कति कित्ता भर्दा हुन्छ चाँदी कटाई ?

  • प्रकाशित मिति : २०७८ माघ २६, बुधबार
  • chhanbin.com

आज (कार्यालय समयदेखि) इमर्जिङ नेपाल लिमिटेडको प्राथमिक साधरण सयेर (आइपीओ) खुल्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ५ करोड ५५ लाख ६० हजार रुपैयाँ बराबरको ५ लाख ५५ हजार ६०० कित्ता सेयर निष्काशन गर्न लागेको हो ।

निष्काशन हुने कुल सेयरमध्ये ११ हजार ११२ कित्ता (२ प्रतिशत) कम्पनीका कर्मचारी र २७ हजार ७८० कित्ता (५ प्रतिशत) सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी ५ लाख १६ हजार ७०८ कित्ताका लागि सर्वसाधरणले आवेदन दिन पाउने छन् ।

कम्पनीको आइपीओमा फागुन १ गतेसम्म आवेदन दिन पाइने छ । सो अवधिमा सबै सेयर विक्री नभएमा ढिलोमा फागुन ११ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन पाउने छन् ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका, तिनका शाखा कार्यालयहरुका साथै मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।

कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक एनआइसी एशिया क्यापिटल लिमिटेड रहेको छ । कम्पनीको आइपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी आइआर डबल बी प्लस’ रेटिङ दिएको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम रहेको जनाउँदछ ।

कम्पनीमा नेपाल सरकारसहित ठूला व्यापारिक घराना विशाल ग्रुप, चन्द्रप्रसाद ढकाल, शेखर गोल्छा, पशुपति मरारका लगायत व्यवसायिको मुख्य लगानी रहेको छ । कम्पनीको राष्ट्रिय प्राथमिकताका क्षेत्रअन्तर्गतका पूर्वाधारको विकास, यातायात, सञ्चार, ऊर्जा, पर्यटन, उद्योग, स्वास्थ्य, कृषि, वित्तीय र अन्य आर्थिकरूपमा महत्व भएका योजनामा लगानी गर्ने उद्देश्य छ ।

हाल ५० करोड ४० हजार रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको आइपीओ विक्रीपछि ५५ करोड ५६ लाख रुपैयाँ पुग्नेछ।

कति कित्ता भर्नु उपयुक्त ?

धितोपत्र निष्काशन तथा बाँडफाँड नियमावली अनुसार सबै योग्य आवेदकलाई कम्तीमा १० कित्ताका दरले समानुपातिक हिसाबले आइपीओ बाँडफाँट गर्नुपर्ने हुन्छ। कम्पनीले सर्वसाधरणलाई ५ लाख १६ हजार ८०७ कित्ता छुट्याएको छ । सो आधाारमा प्रति आवेदकलाई १० कित्ताले बाँड्दा ५१ हजार ६७० जनालाई मात्र सेयर दिन पुग्छ ।

यसअघि खुलेका आइपीओमा २६ लाख बढीले आवेदन दिँदै आएका छन् । सो आधारमा १० कित्ता पाउन पनि भाग्यकै भर पर्नुपर्ने देखिन्छ । त्यसअनुसार कम्पनीको आइपीओमा १ हजार रुपैयाँ अर्थात १० कित्ताका लागि आवेदन दिनु उपयुक्त देखिन्छ ।