दिमाग गिजोलिने गरि लोकसेवामा सोधिने यी हुन् दर्जन प्रश्न, कसरी गर्ने हल ?

  • प्रकाशित मिति : २०७८ माघ २४, सोमबार
  • chhanbin.com

एक वा साे भन्दा कम अंकले लाेक सेवा परिक्षा सफल वा असफल हुने भन्ने निर्धारण गर्छ । तसर्थ लाेक सेवा परिक्षा तयारीकर्ताले परिक्षाकाे तयारी गर्दा धेरै कुरामा ध्यान दिनुपर्ने हुन्छ । प्रश्नकाे सहि उत्तर दिएर मात्र लाेक सेवा परिक्षामा सफल हुन मुस्किल हुन्छ । उत्तर सहि मात्रै भएर पुग्दैन्, उत्तर लेख्ने ढाँचाले पनि फरक पार्छ । त्यसैले यहाँ सम्भावित ११ प्रश्नकाे हल गर्ने तरिका प्रस्तुत गरिएकाे छ । याे सामाग्री सहसचिव प्रकाश दाहालकाे सहयाेगमा तयार गरिएकाे हाे ।

१. सापेक्ष शब्दले सकारात्मक र निरपेक्षले नकारात्मक अर्थ बुझाउछ ?

सापेक्ष शब्दले स्वतन्त्र रुपले रहेको नभएर अर्कोसंग सम्बद्ध भएको वा अर्कोसंगको तुलनायोग्य भन्ने अर्थ दिन्छ भने निरपेक्ष शब्दले अर्कोसंग सम्बद्ध नभएको वा कसै वा केहीसंग तुलना गर्न नमिल्ने स्वतन्त्र र अलग भन्ने अर्थ दिन्छ । तपाईले भने जस्तो सापेक्षको अर्थ सकारात्मक र निरपेक्षको अर्थ नकारात्मक होइन ।

२. सामाजिक सुरक्षाका सबै कार्यक्रमहरु सकारात्मक विभेदका कार्यक्रम भित्र पर्दछन ?

सामाजिक सुरक्षा र सकारात्मक विभेद फरक विषय हुन । सामाजिक सुरक्षा नीतिले समाजद्धारा स्वीकार गरिएका जोखिम र संकटावस्थाका व्यक्ति तथा समुहको जीवनको अस्तित्वलाइ सुरक्षित तुल्याउने ध्येयले न्यूनतम आवश्यकताको सम्बोधन गर्न आवश्यक वित्तीय तथा अन्य सहायता एवं सुविधाको सुनिश्चित गर्दछ भने सकारात्मक विभेदले समाजमा पछि परेका वा पारिएका वर्ग, समूहलाई उनीहरुको पछौटे अवस्थाबाट बाहिर ल्याई मूल प्रवाहमा आवद्ध गर्न वा मूल प्रवाहका वर्ग, समूह सरह समान तुल्याउन गरिने फरक वा विशेष व्यवहारलाई बुझाउँछ ।

त्यसैले सामाजिक सुरक्षा र सकारात्मक विभेद सामाजिक न्याय तथा सामाजिक समानताका औजार हुन । यी दुबै सामाजिक पुनर्वितरण र सामाजिक समताका विधि हुन । तर सामाजिक सुरक्षा सकारात्मक विभेदको वा सकारात्मक विभेद सामाजिक सुरक्षाको अंग वा परिपुरक चाहीं होइनन ।

३. वातावरण ह्रास र वातावरण प्रदुषणमा के फरक छ ?

वाततावरण प्रदुषणले वातावरणको गुणस्तर र स्वच्छतामा ह्रास ल्याउँछ जसलाई नै वातावरण विनास वा वातावरण ह्रास भनिन्छ । त्यसैले वातावरण प्रदुषण वातावरण ह्रासको एउटा कारक हो । वातावरण ह्रास परिणाम हो भने प्रदुषण सो को कारण हो ।

४. तुलनात्मक लाभका क्षेत्र भन्नाले के बुझ्ननुपर्छ ?

कुनै वस्तु वा सेवाको उत्पादन लागत अन्य मुलुकका तुलनामा अाफ्नाे मुलुकमा कम लाग्ने अवस्था छ भने त्यस्तो वस्तु वा सेवाको क्षेत्रलाई तुलनात्मक लाभको क्षेत्र भनिन्छ । यस्तो अवस्थामा कुनै मुलुकले आफुले सस्तोमा उत्पादन गर्न सक्ने वस्तु वा सेवाको उत्पादनमा केन्द्रित भई अाफ्नाेमा भन्दा कम लागतमा अर्को मुलुकले उत्पादन गर्न सक्ने वस्तु वा सेवा सोही मुलुकलाई उत्पादन गर्न छोडिदिन्छ र आफ्नाे सस्तोमा उत्पादन गरेको वस्तु त्यस्तो मुलुकमा निर्यात गरी सो मुलुकले सस्तोमा उत्पादन गरेको वस्तु वा सेवा आफूले आयात गर्ने गरी व्यापारिक अन्तरसम्बन्ध कायम गर्छ । यसलाई तुलनात्मक लाभको सिद्धान्त भनिन्छ र यही सिद्धान्तका आधारमा अन्तराष्ट्रिय व्यापार सम्भव भएको हो ।

५. ऐन, नियम, गठन आदेश र अध्यादेश तर्जुमामा सैद्धान्तिक सहमतिको अवधारणा लेख्नुहोस् ।

सैद्धान्तिक सहमति भनेको कुनै कानून तर्जुमा गर्नु पूर्व सोको अवधारणापत्र निर्माण गरी मन्त्रिपरिषदमा पेश गरेर मन्त्रिपरिषदले सो अवधारणा पत्रको अध्ययन तथा विश्लेषण गरी सो बमोजिम कानून बनाउनु उचित छ भन्ने ठानेमा कानून तर्जुमा प्रकि्रया अगाडि बढाउन विषयगत मन्त्रालयलाई स्वीकृती वा सहमति प्रदान गर्ने कार्य हो । कुनै पनि नर्या कानून बनाउनु पर्दा विषयगत मन्त्रालयले सर्वप्रथम मन्त्रिपरिषदबाट सैद्धान्तिक सहमतिप्राप्त गर्नु पर्दछ ।

६. शासन र सुशासनका समानता र भिन्नता प्रकाश पार्नुहोस् ।

शासन र सुशासन भिन्नता नै छुट्याउनु पर्ने गरी फरक विषय होइनन् । सुशासन शासनको पछिल्लो अवधारणा हो । यसको अर्थ शासनलाई सहभागिता, पारदर्शिता, उत्तरदायित्व र कानूनमा आधारित बनाएर खुला र पूर्वानुमानयोग्य बनाउनु भन्ने हुन्छ । त्यसैले सुशासन शासनभन्दा फरक अवधारणा नभएर शासनकै उन्नत र सुधारात्मक प्रयत्न हो ।

यद्यपि भिन्नता लेख्नु भनेरै सोधिएको अवस्थामा शासनलाई क्रियाकलाप, संरचना, प्रणाली र नियमहरुको समष्टि रुपमा समग्रतामा र सुशासनलाई शासनको सुधारात्मक उपायका रुपमा प्रस्तुत गर्न सकिन्छ ।

७. नेपालमा भ्रष्टाचार वृदि्ध हुनुको प्रमुख कारण सुचनाको हक र पारादर्सिताको प्रभावकरिता नहुनु हो, यस भनाइलाई पुष्टि गर्नुहोस् ।

यस प्रश्नको उत्तर लेख्दा भ्रष्टाचार नियन्त्रणमा सूचनाको हक र पारदर्शिताको भूमिका उल्लेख गर्दै नेपालमा सूचनाको हक र पारदर्शिताको अवस्था र त्यसले भ्रष्टाचार नियन्त्रण गर्नमा खेलेको भूमिका अलग अलग शीर्षकमा बुँदागत रुपमा लेख्न सकिन्छ ।

८. नेपालको आर्थीक कार्यप्रणालीबारे चर्चा गर्नुहोस भन्ने १० नम्बरकोे प्रश्नमा कुन–कुन कुरालाई समेट्नु पर्छ ?

यस प्रश्नको उत्तर लेख्दा संविधानको भाग १० मा उल्लिखित संघीय आर्थिक कार्यप्रणाली बुँदागत रुपमा लेख्नु पर्दछ र अन्तिममा एउट अनुच्छेदमा यसैगरी संविधानले क्रमशः भाग १६ र १९ मा प्रादेश र स्थानीय आर्थिक कार्यप्रणाली समेत तोकेको छ भनी उल्लेख गर्नुपर्दछ ।

९. सरकारको आर्थीक कार्यप्रणालीको बारेमा लेख्दा – सरकारको आर्थिक कार्यप्रणालीको परिचय लेखेर संघको आर्थिक कार्यप्रणालीको १० वटा धारा उल्लेख गरे उत्तर पुग्छ ?

यो प्रश्नको उत्तर केवल संघीय आर्थिक कार्यप्रणालीका १० वटा धाराहरु मात्र उल्लेख गरेर पूर्ण हुँदैन । त्यसभित्र भएका व्यवस्था समेत संक्षेपमा लेख्नु आवश्यक हुन्छ । प्रदेश र स्थानीय तहको छुट्टा छुट्टै आर्थिक कार्य प्रणाली समेत संविधानले तोकेको छ भन्ने कुरा समेत उल्लेख गर्नु पर्छ तर तिनीहरुका व्यवस्थाहरु भने उल्लेख गरिरहनु पर्दैन ।

१०. संवैधानीक विकासक्रमको प्रश्न सामाधान गर्दा कुन–कुन कुरा समावेस गर्दा सान्दर्भिक हुन्छ ?

संवैधानिक विकासक्रम लेख्दा हरेक संविधानलाई तिनको विषयवस्तु, सन्दर्भ र प्रक्रिया को दृष्टिकोणबाट सबल र दुर्वल पक्षलाई अत्यन्तै संक्षेपमा अनुच्छेदमा (एउटाको बढीमा ३-४ लाइनमा) लेख्नु राम्रो हुन्छ ।

११. नेपाल अधिराज्यको संविधान २०४७ र नेपालको संविधान बिच तुलना गर्नुहोस् भन्ने प्रश्नको कसरी समाधान गर्न सकिन्छ ?

कुनै पनि दुई संविधानलाई तुलना गर्नु पर्यो भने दुबै संविधानका समान विशेषताहरु र भिन्न विशेषताहरुलाई अलग अलग शीर्षक दिएर लेख्नु पर्ने हुन्छ । त्यसपछि नेपाल अधिराज्यको संविधान, २०४७ भन्दा नेपालको संविधान के कति कारणले उन्नत र अग्रगामी छ भनी संक्षेपमा व्याख्या गर्नु राम्रो हुन्छ ।