चुनाव घोषणा भएपछि आचारसंहिता कहिले देखि लाग्छ ? आयोगले कसरी गर्दैछ काम ?

  • प्रकाशित मिति : २०७८ माघ २४, सोमबार
  • chhanbin.com

निर्वाचन आयोगको परामर्शमा सरकारले स्थानीय तह निर्वाचनको मिति घोषणा गरेको छ। सोमबार आयोगका पदाधिकारीहरूसँग भएको छलफलको आधारमा सरकारले वैशाख ३० गते स्थानीय तह निर्वाचन गर्ने निर्णय गरेको हो।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले आगामी वैशाख ३० गते एकै चरणमा स्थानीय तहको निर्वाचन गर्ने गरेको हो। मन्त्रिपरिषद बैठकअघि प्रधानमन्त्री शेरबहादुर देउवाले आयोगका पदाधिकारीहरूसँग परामर्श गरेका थिए। परामर्शका क्रममा आयोगका पदाधिकारीहरूले वैशाख ३० गते निर्वाचनको मिति तोक्न प्रधानमन्त्री देउवालाई अनुरोध गरेका थिए।

आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले सोमबार भएको परामर्शमा आफूहरूले वैशाख ३० गते स्थानीय तह निर्वाचनको मिति तोक्न अनुरोध गरेको जानकारी दिए। ‘प्रधानमन्त्रीज्यूसँग आज फेरि हामीले परामर्श गरेका छौं। आयोगको सुरूकै एजेन्डा हो,’ थपलियाले भने,‘एक सप्ताहअगाडि चुनाव सम्पन्न भयो भने सपथग्रहण गरेर प्रतिनिधिहरू समयमै पुग्नु हुन्छ भन्ने आशय हो।’

दुई दिन ढिलो चाँडोले त्यति धेरै फरक नपर्ने बताउँदै उनले परामर्शका क्रममा वैशाख ३० को मिति प्रस्ताव गरेको बताए। ‘हामीले वैशाख ३० चुनाव गर्दा सम्भव हुन्छ भनेका थियौं,’ उनले भने,‘हाम्रै परामर्शमा मिति तोकिएको हो। आयोगलाई समय अपुग हुँदैन। थोरै चाप भए पनि तोकिएको मितिमा चुनाव सम्पन्न गराउन आयोगलाई समस्या छैन।’

मतदाता नामावली संकलन बन्द हुने

चुनावको मिति घोषणा भएसँगै आयोगले जारी राखेको मतदाता नामावली संकलन कार्य बन्द हुने भएको छ। प्रमुख आयुक्त थपलियाले चुनावको मिति तय भइसकेकोले मंगलबारदेखि मतदाता नामावली संकलन कार्य बन्द हुने जानकारी दिए।

‘अहिलेसम्म दर्ता भएका मतदाताहरूको नामावली ७७ जिल्लाबाट ल्याएर भोलिदेखि नयाँ दर्ता रोकिन्छ। संकलन भएका नामावलीरूमाथि छानबिन गरेर ७५३ स्थानीयमा पठाइन्छ। त्यसपछिमात्र अन्तिम रूप दिने काम हुन्छ,’ थपलियाले भने,‘यो अलिकति झन्झिटिलो हुन्छ। करिब ३०÷४० दिन नै लाग्छ।’

उनले मंगलबारबाटै नीति, कार्यविधि, ७५३ स्थानीय तहमा कार्यालय स्थापना र मतदानस्थल निरीक्षणलगायतका काम सुरू हुने जानकारी दिए। ‘७५३ स्थानीय तहमा कार्यालय स्थापना गर्ने, भौतिक पूर्वाधारबारे जानकारी लिने, मतदानस्थल पनि हेर्नुपर्ने हुन्छ,’ उनले भने,‘बजेट अनुमान, खरिद योजना, समानको बन्दोबस्त, निर्वाचन शिक्षाजस्ता कार्यक्रम सञ्चालन गर्ने कामतर्फ आयोग भोलिदेखि नै जुट्छ।’

तत्काल लागु हुँदैन आचारसंहिता

स्थानीय तहको मिति तोकिए पनि तत्काल आचारसंहिता लागु नहुने भएको छ। उम्मेदवारहरूको टुंगो नरहेकोले तत्काल आचारसंहिता लागु नहुने आयोगले जनाएको छ। प्रमुख आयुक्त थपलियाले तत्काल आचारसंहिता लागु नहुने बताए। ‘को चुनाव लड्न थाहा नभएपछि कसलाई आचारसंहिता लगाउने?,’ उनले भने,‘सरकारलाई पनि अहिले आचारसंहिता लागु हुँदैन। अहिले हामी नयाँ आचारसंहिता स्वीकृत गर्ने प्रक्रियामा छौं। पुरानो आचारसंहिता लागु हुँदैन।’

नयाँ आचारसंहिता स्वीकृत गर्न सबै राजनीतिक दलहरूसँग सहमति लिइसकेको बताउँदै उनले दुई चार दिनभित्र यो काम सकिने जानकारी दिए।

आयोगले तोकेको मितिबाट आचारसंहिता लागू हुने उनले बताए। ‘पहिले को अभ्यास के हो भने सामान्यतया उम्मेदवारले मनोनयन दर्ता गर्नुभन्दा अगाडि आचारसंहिता लागु हुन्थयो,’ थपलियाले भने,‘अहिले त सरकारले नै लिँदैन कि भाग के थाहा ? निर्वाचनमा भाग लिनेलाई आचारसंहिता लाग्ने हो। उम्मेदवारको मनोनयनभन्दा अगाडि आचारसंहिता लागु हुन्छ।’

थपलियाले उम्मेदवाहरूको मनोनयन चैतको २०-२२ सम्म पुग्ने अनुमान रहेको बताए। ‘सबै कामहरू गर्दा उम्मेदवारहरूको मनोनयन सम्भवतः चैतको २०-२२ तिर पुग्ला जस्तो छ,’ उनले भने,‘त्यसपछि आचारसंहिता लागु हुन्छ। अनि त्यतिबेलासम्म निर्वाचनसम्बन्धी सबै काम पनि पूरा भइसक्छ।’