सेयर बजार आज लयमा फर्किदा यी कम्पनीलाई भयो मालामाल

  • प्रकाशित मिति : २०७८ माघ २४, सोमबार
  • chhanbin.com

सेयर बजारमा दोहोरो अंकको कमब्याक भएको छ । आइतबार ४० अंकले घटेको नेप्से आज दोहोरो अंकले लयमा फर्किएको हो । बिहीबार नेप्से १५.६९ अंकले बढेर २८५१.८६ विन्दुमा पुगेको छ । आज २२४ कम्पनीको ५ अर्ब २ करोड २० लाख १७ हजार १८१ रुपैयाँ बराबरको ९५ लाख १२ हजार ५८० कित्ता सेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटा समूहमध्ये बैंक, होटल र माइक्रोफाइनान्स बाहेक बाँकी सबै समूहको परिसूचकमा हरियाली छाएको छ । लगानी समूह सबैभन्दा धेरै ३.०६ प्रतिशतले बढेको छ । आज कारोबार भएका २२४ कम्पनीमध्ये १२४ कम्पनीको सेयर मूल्य बढेको छ भने ८३ कम्पनीको घटेको छ । १७ कम्पनीको मूल्य स्थिर रहेको छ ।

आज निफ्राको सर्वाधिक कारोबार भएको छ । यसको ४९ करोड बढीको सेयर किनबेच भएको छ । त्यस्तै, नेशनल हाइड्रो साढे २६ करोड र अरुण भ्याली २५ करोड बढीको कारोबार हुँदै शीर्ष तीन कम्पनीमा रहे ।

दोहोरो अंकले बढेको बजारमा निफ्राको सेयर मूल्य सबैभन्दा ८.४२ प्रतिशतले बढेको छ । त्यसैगरी, छ्याङ्दी हाइड्रोपावर ६.८३, सानिमा लाइफ ५.०४, नेशनल हाइड्रो ४.६६, बोटलर्स नेपाल ४.६१, नेपाल हाइड्रो डेभलपर ४.१७, एचआइडीसीएल, युनाइटेड इदीमार्दी, ज्योति लाइफ, नेपाल टेलिकम, लाइफइन्स्योरेन्स नेपाल, सानिमा जनरल र रिलायन्स लाइफको सेयर मूल्य ३ प्रतिशतभन्दा धेरैले बढेको छ ।