कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आफू मुख्यमन्त्री नियुक्त भएको तीन महिनापछि सरकारलाई पूर्णता दिएका छन्। सत्ता साझेदार तीन दलका शीर्ष नेतृत्वको राय र सहमति लिएर मुख्यमन्त्री शाहीले आइतबार कर्णाली सरकारलाई पूर्णता दिएका हुन्। शीर्ष नेतृत्वले कर्णालीमा मन्त्रालय र मन्त्रीको टुंगो नलगाउँदा सरकार गठनमा ढिलाई भइरहेको थियो। कात्तिक १६ गते मुख्यमन्त्री नियुक्त भएका शाहीले मंसिर १ गते एकीकृत समाजवादीका चन्द्रबहादुर शाहीलाई भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री तथा मंसिर १४ गते माओवादी केन्द्रका विन्दमान विष्टलाई आर्थिक मामिला तथा योजना मन्त्री नियुक्त गरेका थिए।
प्रदेशमा मन्त्रालय भागबण्डा मिल्न नसकेपछि मंसिर १४ गते तीन पार्टीका शीर्ष नेतृत्वलाई टुङ्याउने जिम्मेवारी दिइएको थियो। केन्द्रमा नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भएको सहमति अनुसार सात मन्त्रालय मध्ये माओवादी केन्द्रले तीन तथा कांग्रेस र एकीकृत समाजवादीले दुई–दुई वटा मन्त्रालय लिने सहमति भएको थियो।
केन्द्रको सहमतिमा एकीकृत समाजवादीले असन्तुष्टी जनाउँदा मन्त्रीमण्डल गठन ढिलो भइरहेको थियो। अन्ततः एकीकृत समाजवादी कर्णाली प्रदेश कमिटीले पनि केन्द्रमा शीर्ष नेतृत्वबीच भएको सहमति मान्न तयार भएपछि आइतबार मुख्यमन्त्री शाहीले मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन्।
शीर्ष नेतृत्वबीच मन्त्रालय भागबण्डाको टुंगो लागेसँगै माओवादी केन्द्रले एक गैरसांसदसहित दुई जनालाई सरकारमा पठाएको छ। एक साताअघि माओवादीको कर्णाली प्रदेश संसदीय दलले हुम्लाबाट गैरसांसद छिरिङ डम्डोल लामा (कार्चेन) लाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र जाजरकोटका गणेशप्रसाद सिंहलाई जलस्रोत तथा उर्जा विकास मन्त्रालयमा सिफारिस गरेको थियो। यस्तै सरकारको नेतृत्व गरिरहेको कांग्रेसले सामाजिक विकास मन्त्रालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालय पाएको छ। कांग्रेसले सामाजिकमा सुर्खेतका यज्ञबहादुर बुढाक्षेत्री र आन्तरिकमा दैलेखका हिमबहादुर शाहीलाई मन्त्री बनाएको छ।
एकीकृत समाजवादीबाट जुम्लाका पदमबहादुर रोकाय भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री नियुक्त भएका छन्। यसअघि समाजवादीबाट मुगुका चन्द्रबहादुर शाही भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री नियुक्त भइरहेका थिए। सरकारले सिफारिस गरेका पाँच जना मन्त्रीले आइतबार बेलुका प्रदेश प्रमुख तिलक परियारले पद तथा गोपनियताको सपथ खुवाएका छन्।