कर्णाली प्रदेश सरकारमा मन्त्री बन्नेको लाग्यो टुंगो, भोलि क-कसले खाने भए सपथ ?

  • प्रकाशित मिति : २०७८ माघ २२, शनिबार
  • chhanbin.com

कर्णाली प्रदेश सरकारले आइतबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेको छ । जीवनबहादुर शाहीले मुख्यमन्त्रीमा सपथ ग्रहण गरेको तीन महिनापछि मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् । शाहीले गत १६ कातिकमा मुख्यमन्त्रीको सपथग्रहण गरेका थिए ।

आइतबार नेकपा माओवादी केन्द्रबाट कार्चेन लामा, जाजरकोटका सांसद गणेशप्रसाद सिंह, एकीकृत समाजवादी जुम्लाका पदम रोकाया, नेपाली कांग्रेसबाट यसअघि सामाजिक विकास मन्त्री भइसकेका यज्ञबहादुर बुढा क्षेत्री र हाल दलका सचेतक रहेका हिमबहादुर शाही मन्त्री बन्ने भएका छन् ।

यसैबीच गैरसांसद लामालाई मन्त्री बनाउने भएपछि माओवादीभित्रै विरोध हुन थालेको छ । माओवादी कर्णालीका संसदीय दलका सचेतक तथा सांसद ठम्बरबहादुर बिष्टले गैरसांसदलाई मन्त्री बनाउन लागेपछि सामाजिक सञ्जालमा फेसबुकमा स्टाटस लेखेर विरोध गरेका छन् । तर, लामाले आफूलाई अध्यक्ष प्रचण्डकै सिफारिसमा मन्त्री हुन लागेको भन्दै विरोध जनाउनुको कुनै औचित्य नरहेको बताउँदै आएका छन् ।