शिक्षक सेवा आयोगको तयारीमा हुनुहुन्छ, यस्ता फर्मुला अपनाउनुस् अवश्य सफल भइन्छ

  • प्रकाशित मिति : २०७८ माघ २२, शनिबार
  • chhanbin.com

शिक्षक सेवा आयोगको तयारी गरिराखेका तथा आगामी दिनमा आयोगको तयारी गर्ने सोच बनाएका सम्पूर्णमा लाभ मिलोस भन्ने उद्देश्यले यहा केहि टिप्सहरु प्रस्तुत गरिएको छ । शिक्षक सेवा आयोगको ०६९/७० सालको विज्ञापनमा खुल्लातर्फको लिखित परीक्षामा मावि, निमावि तथा प्रावि ३ वटै तहमा लगातार नाम निकाली हाल यस श्री सरस्वती उमावि,सूर्यथुम, अर्घाखाँचीमा मावि स्थायी शिक्षकको रुपमा कार्यरत नयन सिंह ठकुरी आयोग तयारीको अनुभव यहाँ प्रस्तुत गरेका छौं ।

समय अनुसार विद्यालय तहको पाठ्यक्रममा समेत परिमार्जन गरेर पाठ्क्रमलाई समय सापेक्ष एवम् तुलनात्मक रुपमा केही वृहत बनाएको छ । शिक्षक सेवा आयोगको तयारी गरिराख्नु भएका सम्पूर्ण उम्मेदवारहरुलाई यहाँ प्रस्तुत गरिएका परिक्षाको तयारीका शुत्रले केहि हदसम्म परिक्षामा सफल हुन सहयोग गर्ने अपेक्षा गरेका छौं ।

१. सर्वप्रथम परिमार्जित पाठ्यक्रमको परीक्षा योजना (प्रश्न ढाँचा) सम्बन्धमा स्पष्ट हुनुहोस्
– परिमार्जित पाठ्यक्रमअनुसार परीक्षाजम्मा १०० पूर्णाङ्कको हुनेछ जसमा ३ खण्डबाट प्रश्न सोधिनेछ । पहिलो खण्ड शिक्षा सम्बन्धी आधारभूत ज्ञान अन्तरगत प्रति प्रश्न १ अङ्कका दरले २० प्रश्नको अङ्कभार २० रहेको छ भने उक्त प्रश्नका लागि २० मिनेटकै समय छुट्याइएको छ । यो खण्ड सबै विषयका शिक्षक पदका लागि एउटै हुनेछ । त्यस्तै खण्ड ख सम्बन्धित विषयको
माध्यमिक तहको पाठ्यक्रम, शिक्षण विधिएवम् प्रविधिसँग सम्बन्धित रहेको छ भने खण्ड ग सम्बन्धित विषयको विषयवस्तु सम्बन्धी ज्ञान रहेको छ । यीदुवै खण्डबाट प्रतिप्रश्न ५ अङ्कका दरले ६/६ वटा छोटा र प्रतिप्रश्न १० अङ्कका दरले १/१ वटा लामो उत्तर आउने प्रश्नहरु सोधिनेछन् । दुवै खण्डको अङ्कभार ४०/४० रहेको छ भने समयावधि २ घण्टा ४० मिनेटको रहेको छ ।
– माथि उल्लेखित प्रश्नयोजना अनुसार शिक्षक सेवा आयोगले सार्वजनिक गरेको पाठ्यक्रमलाई शूक्ष्म रुपमा गहिरिएर अध्ययन गर्नहोस् । पाठ्यक्रम आयोगको वेभसाइट www. tsc.gov.np बाट डाउनलोड गर्न सक्नुहुनेछ ।
२. पहिलो खण्ड शिक्षा सम्बन्धी आधारभूत ज्ञानको तयारीकालागिः–
– यस खण्डबाट वस्तुगत प्रश्नमात्र सोधिने भएकाले पाठ्यक्रमले निर्देश गरेका टपिकका बारेमा विभिन्न सामाग्रीहरु जुटाई मुख्यमुख्य कुरालाई टिपोट गरेर अध्ययन गर्नुहोस् ।
– कतिपय प्रश्नको उत्तर पुस्तकअनुसार फरक फरक पाइने हुनाले आधिकारिक सामग्रीको अध्ययनगर्नुहोस् ।
– वस्तुगत प्रश्नको तयारी गर्दा मूख्य शब्द वा बुँदालाई छोटकरीमा शुत्रबनाएर अध्ययनगर्दा सम्झन सजिलो हुन्छ ।
३. सम्बन्धित विषयको माध्यमिक तहको पाठ्यक्रम, शिक्षणविधि एवम् प्रविधि अन्र्तगतको ४० अङ्कभारको तयारीकालागिः–
– तपाईंले छनोट गर्नुभएको विषयको माध्यमिक तहको पाठ्यक्रम र पाठ्यपुस्तकको गहन विश्लेषणात्मक अध्ययन गर्नुहोस् ।
– सम्बन्धिततह र विषयको शिक्षक निर्देशिकाको अनिवार्य रुपमा अध्ययन गर्नुहोस् ।
– ९ र १० कक्षाका शिक्षक निर्देशिका वजारमा उपलब्ध नभएकाले www.nepaknol.net/cdc/libray बाट डाउनलोड गरी हेर्न सक्नुहुनेछ ।
– शिक्षाशास्त्र संकायका प्लस टु, स्नातकवा स्नातकोत्तर तहका सम्बन्धित विषयका मेथडसँग सम्बन्धित पुस्तकहरु जस्तैः नेपालीभाषा शिक्षण, गणित शिक्षण आदिको अध्ययन गर्नुहोस् ।
– हालकक्षा ९ का अनिवार्य विषयहरु परिमार्जन भएकाले सम्बन्धित पुस्तकको पनि अध्ययन गर्नुहोस् ।

४. सम्वन्धितविषयको विषयवस्तुसम्बन्धी ज्ञानअन्र्तगतको ४० अङ्कभारको तयारीकालागिः–
– पाठ्यक्रममा उल्लेख भए अनुसारका विषयवस्तु्सँग सम्बन्धित प्लस टु वा प्रमाणपत्र, स्नातकतथा स्नातकोत्तर तहका (विशेषगरी स्नातकतह) पाठ्यपुस्तकको अध्ययन गर्नुहोस् ।
– यी विषयवस्तुको अध्ययनगर्दा क्याम्पसमा जस्तो वृहत अध्ययन नगरी मूख्यमूख्य कुराको मात्र अध्ययन गर्नुहोस् किनकी पढ्नुपर्ने टपिकहरु धेरै छन् तर अङ्कभार थोरै छुट्याइएको छ ।

५. बजारमा निस्केका सहयोगी पुस्तक, गाइड, गेसपेपरभन्दा आधिकारिक सामाग्रीहरुको अध्ययनगर्नुहोस् । केही आधिकारिक सामाग्रीहरु 
– कानुनी किताव विकास समितिद्धारा प्रकाशित संविधान तथा शिक्षासँग सम्वन्धित विभिन्न ऐननियम तथा नियमावलीहरु
– शिक्षामन्त्रालय, शिक्षाविभाग जस्ता निकायद्धारा प्रकाशित विभिन्न पुस्तक, बुलेटिन, पत्रपत्रिका, लेख आदि,
– प्लस टु वा प्रमाणपत्र तह, स्नातक तथा स्नातकोत्तर तहका विभिन्न पुस्तकहरु, आदि ।
– बजारमा थुप्रै किसिमका सहयोगी पुस्तकहरु पाइने भएकाले लेखक, प्रकाशक, पुस्तकभित्र प्रस्तुत गरिएका विषयवस्तु र त्यसको प्रस्तति शैली, लेखन शैलीआदि हेरेर मात्र छनौट गर्नुहोस् ।

६. पाठ्यक्रमले तोकेको विषयका महत्वपूर्ण कुराहरुलाई बुँदामा टिपोट गरी नोट बनाएर पढ्नुहोस् ।
७. मन मिल्ने साथीहरुवीच छलफल तथा अन्र्तक्रिया गरी अध्ययन गर्नुहोस् ।

८. परीक्षामा सोध्न सक्ने सम्भावित प्रश्नहरु तयार पार्ने र त्यसको उत्तर लेख्ने वानी वसाल्नुहोस् ।
९. सके सम्म शूत्रवनाएर पढ्ने (छोटकरीमा वा सङ्केतमा) र बुँदागत वा चित्रात्मक रुपमाउत्तर लख्ने गर्नुहोस् ।
१०. भनिन्छ, सफल हुनेहरु फरक काम गर्दैनन् सोही कामलाई फरक तरिकाले गर्छन । त्यसकारण तपाईले पनिप्रश्नको उत्तर कसरी हुन्छ,अरुले भन्दा फरक तथा आकर्षक बनाउने प्रयास गर्नुहोस् ।
उत्तरलाई फरक तथाआकर्षक बनाउने केही तरीकाहरुः
– प्रश्नको सुरुवातमै प्रश्नले मागेको उत्तरको मेन थीमवा साराशंलाई कोटेशनको रुपमा प्रस्तुतगर्ने, जस्तैः कार्यमूलक अनुसन्धानसँग सम्बन्धित प्रश्नमा “No Teacher Without CAR (Classroom Action Research)”, शिक्षकनिर्देशिकाः“शिक्षक निर्देशिका शिक्षकको एक असल साथी । गराउँछ पाठ्यक्रमको उद्देश्यपूर्ति र सिकाइमा प्रभावकारी ।”
– प्रश्नअनुसार थोरै पृष्ठभूमी लेखी बुँदागत रुपमाउत्तर प्रस्तुतगर्ने र अन्त्यमा सुझाबात्मक एवम् सकारात्मक निष्कर्षबाट उत्तर समापन गर्ने,
– सकेसम्म उत्तरलाई चित्र, तालिका, रेखाचित्र, वृक्षचित्र, डायग्रामआदिमार्फत प्रस्तुतगर्ने,
– आफुले जानेको होइनकि प्रश्नले मागेको उत्तर दिने,
– उत्तर लेख्ने शैलीमा विविधता ल्याउने,
– प्रश्नको अङ्कभारअनुसार समय व्यवस्थापन गरी उत्तर लेख्ने, आदि ।

कसरी पढाईमा रुचि जगाउने ?

१. केन्द्रित हुने : हामी जुन विषय पढिरहेका हुन्छौं, त्यसमै केन्द्रित हुनुपर्छ । गणितका समस्या समाधान गरिरहेका बेला मनमा अंग्रेजीको कुरा खेलाउनुहुन्न । नेपालीको समयमा गणित या विज्ञानको चिन्ता लिनुभएन । एक पटक या एकै समयमा धेरै विषयलाई मनमा स्थान दिनुहुन्न । जे पढिरहेको हो त्यसैमा मात्र केन्द्रित हुनु पर्छ ।

२. पकड राख्ने : कुनै विषयमा पकड कमजोर छ भने त्यो विषयमा अझ धेरै ध्यान दिनुपर्छ । हामी त्यो विषय पढ्न बढी रुचाउँछौँ जुन राम्ररी आउँछ । पकड भएको विषय राम्ररी बुझ्न सक्छौँ । त्यसमा अंक पनि राम्रै आएको हुन्छ । आफूले रुचाएको विषय पढ्दा समय बितेको पत्तै हुन्न । त्यसैले कमजोर विषयमा आफ्नो पकड बढाउने प्रयास गर्नुपर्छ ।

३. रुचि बढाउने : कुनै विषयमा रुचि छैन भने त्यसमा रुचि जगाउनुपर्छ । रुचि नभएको विषयमा रुचि बढाउन ४–५ दिन नियमपूर्वक लगातार अभ्यास गर्नुपर्छ । सुरु–सुरुमा यसो गर्दा दिक्क लाग्न सक्छ । तर त्यो अवधिभरिमा थोरै मात्र रुचि बढ्यो भने त्यो पहिले नरुचाएको विषय पनि रुचिकर लाग्न सक्छ ।

४. सीमित किताब : पढ्ने टेबल, खाट या भुइँमा सबै विषयको पुस्तक छरपष्ट राख्नु हुँदैन । जुन विषय पढ्ने हो त्यो मात्रै राख्नुपर्छ । बाँकी र्‍याक या झोलामै रहन दिनुपर्छ । सबै विषयका धेरै किताब छेउमै छ भने यो पढौं कि त्यो भन्ने लाग्न सक्छ । गृहकार्य गर्दा पनि सम्बन्धित विषयलाई मात्रै आफ्नो टेबलमा राख्नुपर्छ । एउटा सकिनेबित्तिकै अर्को निकाल्नुपर्छ । पढ्ने कोठा अस्तव्यस्त बनाउनुहुन्न ।

५. निश्चित समय : पढ्ने निश्चित समय हुनुपर्छ । जुनसुकै किताब जुनसुकै झोला या र्‍याकबाट निकालेर पढ्ने बानी खासै प्रभावकारी होइन । यसले एकाग्र हुन सकिन्न । पढाइको एउटा निश्चित क्रम हुनुपर्छ । बरु यसका लागि एउटा टाइम– टेबल बनाउन सकिन्छ । त्यसैका आधारमा पढे पढाइ नियमित हुन सक्छ ।

६. लक्ष्य निर्धारण : निश्चित लक्ष्यबिनाको पढाइ पनि बोझिलो हुन सक्छ । लक्ष्य नै निर्धारित छैन भने गन्तव्यमा कसरी पुग्न सकिन्छ ? कुन विषय पढ्ने अनि त्यो पढेर के बन्ने भन्ने निर्धारण गर्न नसक्नाले पनि पढाइमा रुचि नलागेको हुन सक्छ । त्यसैले पढ्नुअघि लक्ष्य विचार गर्नु महत्त्वपूर्ण छ।