काठमाडौं उपत्यका भित्र रोक्का भएका जग्गा फुकुवा हुने भएको छ । काठमाडौं उपत्यका विकास प्राधिकरणले उपत्यकामा चार वटा नयाँ सहर (स्मार्टसिटी) निर्माण गर्न रोक्का गरेको जग्गा फुकुवा गर्ने तयारी गरेको हो ।
प्राधिकरणले जग्गा फुकुवा गर्न काठमाडौं उपत्यका भौतिक विकास समितिमा पेश गरेको जनाइएको छ । सहरी विकास मन्त्री रामकुमारी झाँक्री अध्यक्ष रहेको उक्त समितिमा बसेको बैठकमा नयाँ सहरभित्र पर्ने जग्गाहरूको रोक्का हटाउन प्रस्ताव पेश गरिएको हो ।
उपत्यका विकास प्राधिकरणका सूचना अधिकारी सौरभ ढकालले घना बस्तीले भरिएका जमिनहरूमा रोक्का राख्दा समस्या भएको भन्दै फुकुवा गर्न प्रस्ताव गरिएको बताए । उनले समितिमा स्मार्ट सिटीका विभिन्न जमिनहरूको सूची बनाइ बनाइ फुकुवा गर्न पेश गरिसकेको बताए ।
‘अहिलेसम्म एउटा मात्र बैठक भएको छ । पुसमा बैठक सकिएपछि कुनै छलफल भएको छैन, मन्त्रीज्यू र मन्त्रीपरिषद्बाट जे निर्णय हुन्छ त्यही हुनेछ,’ ढकालले भने, ‘घना बस्ती भएका स्थानहरूमा मात्र फुकुवा गर्ने प्रस्ताव गरेका हौँ ।’ जग्गा फुकुवा गर्न गत पुसमै प्रस्ताव पेश गरिएको थियो । माघ ७ गते अर्को बैठक बस्ने तयारी भएपनि कोरोनाका कारण हुन सकेको थिएन । आगामी बैठकमा फुकुवा बारे निर्णय हुने प्राधिकरणले जनाएको छ ।
उपत्यकाका यी ठाउँको जग्गा हुनेछ फुकुवा
प्राधिकरणले काठमाडौं उपत्यकाका तीनै जिल्ला भित्र बन्ने भनिएको स्मार्ट सिटी क्षेत्र भित्रको जग्गा फुकुवा गर्न लागेको हो । जसमा काठमाडौंको उत्तरपूर्वी क्षेत्र (इशान सहर)को १ लाख रोपनी क्षेत्रभित्रको जग्गा फुकुवा गर्न लागेको हो ।
प्राधिकरणले कागेश्वरी मनोहरा नगरपालिका (वडा नं. ४ देखि ९) शंखरापुर नगरपालिका (वडा नं. २, ६ र १०) मध्यपुर थिमी नगरपालिका (वडा नं. २, ६, ७, ८ र ९), भक्तपुरको नगरकोट जाने सडक, कलमसी, भत्केको पाटी, चरेली, नगरकोट जंगल हुँदै तेलकोट भन्ज्याङसम्मको जग्गा फुकुवा गर्न प्रस्ताव गरिएको छ ।
त्यस्तै, पश्चिममा जोरपाटी क्रिकेट स्टेडियम, मूलपानी, गोठाटार हुँदै मनोहरा पुल भक्तपुर जाने पुरानो बाटो, उत्तर सिमाना क्रिकेट मैदानदेखि साँखु जाने मूल सडक, साँखु बजार, चिहानेपाटी, तालुवारी, घट्टेखोला हुँदै तेलकोटसम्म फुकुवा गर्ने तयारी रहेको छ।
काठमाडौं उत्तरतर्फ पर्ने हरित सहरको सपनतीर्थ दोभान, भूतखेल चोक, पश्चिममा भेडीगोठ चोक (तारकेश्वर), काभ्रेस्थली बाईपास, उत्तरमा चिम्बर पोखरी, बिहानी चोक, महादेव मन्दिर, क्रियापुत्री भवन र दक्षिणमा सूर्य दर्शन (टोखा) शेर्पा पेट्रोल पम्प, भत्केको पुल, नागपोखरी, तल्लो भेडीगोठ चोक र काभ्रेस्थलटी स्कुलचोकमा पर्ने जग्गा फुकुवा गर्ने तयारी प्राधिकरणले गरेको छ ।
१० हजार रोपनीमा फैलिएको आग्नेय सहर (पूर्व–दक्षिण) मा पूर्वतर्फ भक्तपुरको सूर्यविनायक चोकदेखि सूर्यविनायक मन्दिर अगाडिको वनक्षेत्रलाई समेट्नेछ। पश्चिममा खहरे खोला, बालकोट–बिरुवा सडक, पानी ट्यांकी बालकोट, अमरनगर, ठिमी हुँदै उत्तरको सीमा अरनिको राजमार्गसम्म फैलिनेछ । दक्षिणतर्फ सिलामखाल, रानीकोट जंगलछेउ, अनन्तलिंगेश्वर फेदी, तर्खगाल, पात्लेटार–बिरुवा हुँदै खहरेसम्मको जग्गा फुकुवा गर्न प्रस्ताव गरिएको छ ।
त्यसैगरी, १० रोपनीमा फैलिएको ललितपुरको नैऋत्य सहर भित्र पूर्वतर्फ खोकना १ देखि ८ वडा हुँदै बुङमति १ भएर छम्पी जाने बाटो तथा वडा नम्बर २ देखि ६ सम्म फैलिनेछ । पश्चिम र दक्षिणतर्फ वागमती नदीको सीमा तोकिएको छ । उत्तरमा साबिकको सैँबु गाविसको सीमासम्म सहर फैलने छ । उक्त स्थानको सबै जमिन फुकुवा गर्न प्रस्ताव गरिएको छ ।
रोक्का अवधि सकिएको ८ महिनामा पनि फुकुवा भएन
स्मार्ट सिटीमा पर्ने जग्गा काठमाडौं उपत्यका विकास प्राधिकरण ऐन, २०४५ को दफा ७ बमोजिम ३ वर्षका लागि रोक्का गरिएको थियो । सो अनुसार नयाँ सहर क्षेत्र भित्र पर्ने उक्त जग्गा प्राधिकरणको पूर्व स्वीकृति विना कुनै प्रकारले भौतिक परिवर्तन गर्न वा टुक्राउन नपाउने निर्णय गरिएको थियो । २०७४ असार ५ गते राजपत्रमा प्रकाशित गरी जग्गा रोक्का गर्ने निर्णय गरिएको थियो । रोक्का अवधि २०७७ असार ४ गते नै सकिसकेको हो ।
प्रतिबन्ध लगाइएको जग्गाको फुकुवा हुने मिति कटेको ८ महिना बितिसक्न लाग्दा समेत अझै जग्गा धनीहरूले आफ्नो जमिन प्रयोग गर्न पाएका छैनन् । रोक्का गरिएको जमिन फुकुवा गराउन काठमाडौं उपत्यका भौतिक विकास समितिले मन्त्रिपरिषद्मा एजेण्डा पेश गरी निर्णय हुनुपर्ने भएकाले फुकुवामा ढिलाई भइरहेको प्राधिकरणले जनाएको छ ।
काठमाडौं उपत्यका भित्रका चार स्थानहरूमा नयाँ सहर विकास गर्न जग्गा रोक्का गरिएको थियो । १ लाख रोपनीको एउटा र ३ वटा १० हजार रोपनीको नयाँ सहरमा जग्गा रोक्का राखिएको हो । सूर्यविनायकको १० हजार रोपनी, ललितपुरको १० हजार रोपनी, टोखाको १० हजार रोपनी र काठमाडौंको १ लाख रोपनी जमिनमा रहेका घना वस्तीहरूमा फुकुवा गराउन प्रस्ताव गरिएको हो ।
ढकालले ललितपुर महानगरपालिकाले सबै जग्गा फुकुवा गराउन माग गरिरहेकाले सो स्थानमा भने सबै जमिन फुकुवा हुने अनुमान गरिएको बताए । ललितपुरमा पर्ने १० हजार रोपनीको नयाँ सहरको डीपीआर समेत हालसम्म स्वीकृत हुन सकेको छैन ।