निर्वाचन आयोगले मतपत्र डिजाइनका लागि दरखास्त आह्वान गर्यो, कस्ताले दिन पाउँछन् ?

  • प्रकाशित मिति : २०७८ माघ २२, शनिबार
  • chhanbin.com

आसन्न निर्वाचनलाई मध्यनजर गर्दै निर्वाचन आयोगले मतपत्र डिजाइनका लागि दरखास्त आह्वान गरेको छ। आयोगले मतपत्र, लोगो, निर्वाचन चिह्न तथा निर्वाचन शिक्षा तथा सूचना सामग्री डिजाइनका लागि दरखास्त आह्वान गरेको हो।

आयोगले शनिबार सूचना प्रकाशित गर्दै तोकेको अवधिमा काम गर्न चाहने इच्छुक व्यक्तिले सूचना प्रकाशित भएको मितिदेखि ५ दिनभित्र आवेदन दिन आग्रह गरेको छ।

आवेदन आयोगको कार्यालय वा आयोगको इमेलमा दर्ता गर्न सकिनेछ। निवेदनको ढाँचा आयोगको मतदाता नामावली तथा निर्वाचन सञ्चालन शाखा वा वेबसाइटबाट प्राप्त गर्न सकिने बताएको छ।

मान्यताप्राप्त विश्वविद्यालयबाट चित्रकला र ग्राफिक डिजाइनमा कम्तिमा स्नातक, दृष्टान्त चित्र (इलुस्ट्रेसन) र ग्राफिक डिजाइनमा कम्तिमा दुई वर्षको अनुभवी, रेखा चित्र तथा रंगिन चित्रसम्बन्धी दक्ष व्यक्तिले आवेदन दिन सक्ने आयोगले जनाएको छ।