आज कता-कता पर्छ पानी ?

  • प्रकाशित मिति : २०७८ माघ २२, शनिबार
  • chhanbin.com

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज पनि देशका अधिकांश स्थानमा बदली रही वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

अहिले प्रदेश १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशमा सामान्य देखि पूर्ण बदली भई केही स्थानहरूमा हल्का वर्षा भइरहेको छ।काठमाडौँ उपत्यकामा बिहानैदेखि बदली रहनुका साथै कतिपय स्थानमा हल्का वर्षा समेत भइरहेको छ। अपरान्हपछि उपत्यकाको मौसममा सामान्य सुधार आउने जनाइएको छ।

महाशाखाको मौसम बुलेटिन अनुसार आज देशका प्रदेश १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य प्रदेशमा आंशिक बदली रहनेछ।

प्रदेश १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा अन्य प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। देशका पूर्वी तथा मध्य भूभागका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना छ।

रातिको समयमा पनि प्रदेश १, मधेस प्रदेश र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली रही देशका अन्य प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ। तराईका भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै रहेको छ। भोलि आइतबारदेखि मौसममा क्रमिक रुपमा सुधार आउने महाशाखाले जनाएको छ। आइतबार देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।