छुट अस्थायी करार शिक्षकलाई शिक्षा मन्त्रालयले किन गर्यो सौतेनी ब्यबहार, अदालतले देला न्याय ?

  • प्रकाशित मिति : २०७८ माघ २१, शुक्रबार
  • chhanbin.com

छुट अस्थायी करार शिक्षक संघर्ष समितिले शिक्षक सेवा आयोगको आन्तरिक प्रतिस्पर्धामा आफूहरुलाई सहभागी गराउन माग गर्दै शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेललाई ज्ञापनपत्र बुझायो। समितिकी अध्यक्ष अनिता थापालगायतको टोलीले मन्त्री पौडेललाई भेटेर आफूहरुले पटकपटक स्थायी प्रक्रियामा लान आग्रह गरे पनि सरकारले नसुनेको भन्दै आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्न ध्यानाकर्षण गराए पनि मन्त्रालयले वास्तै गरेन।

त्यसपछि छुट अस्थायी करार शिक्षकले सर्वोच्चमा मुद्दा दायर गरे। यो सबै हुँदा सम्म पनि शिक्षा मन्त्रालयले छुट अस्थायी करार शिक्षकलाई सौतेनी ब्यबहार गरेको गरेकै छ। न्यायालयले न्याय गर्नेमा छुट अस्थायी करार शिक्षक आशावादी छन्।

२०७२ असोज २ गतेसम्म नियुक्त भएका शिक्षक स्थायीको प्रक्रियामा लगेको भए पनि त्यसपछि नियुक्त भएका अस्थायी शिक्षकलाई राज्यले बेवास्ता गरेको आरोप समितिको छ। नयाँ खुला विज्ञापनसँगै उनीहरु बेरोजगार हुनुपर्ने अवस्था आएकाले यसतर्फ सरकारको ध्यान पु¥याउन शिक्षक महासंघसहितको पहलकदमीमा उनीहरुले मन्त्रालयको ध्यानाकर्षण गराएका हुन्। तै पनि मन्त्रालय भने पन्छिएर बसेको छ।

समितिले २०७२ असोजपछि अस्थायी नियुक्त शिक्षकलाई संघीय शिक्षा ऐनमा एकपटकका लागि उमेरको हदबन्दी नलाग्ने गरी आन्तरिक परीक्षाको व्यवस्था गर्न माग गरेको छ। देशभरका छुट अस्थायी करार शिक्षकले विगतदेखि स्थायीको प्रक्रियामा लान माग गर्दै आन्दोलन गर्दै आएका छन्। आन्दोलनकै अर्को मोर्चाका रूपमा न्यायका लागि अदालत पुगेका छुट अस्थायी करार शिक्षकले न्याय पाउने एक जना पूर्व शिक्षा सचिवले छानबिनलाई बताए।