स्थानीय तहले नटेरेपछि हच्कियो केन्द्र सरकार, यसरी खुल्ने भए फागुन १ देखि सबै स्कूल

  • प्रकाशित मिति : २०७८ माघ २१, शुक्रबार
  • chhanbin.com

प्रधानमन्त्री कार्यालयमा विद्यालय सञ्चालन गर्ने र नगर्ने भन्नेबारेमा भएको छलफलले देशभर कोरोना संक्रमणको अवस्था हेरेर फागुन १ गतेदेखि विद्यालय सुरु गर्न सरकारलाई सुझाब दिएको छ । सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा शुक्रबार दिउँसो भएको छलफलले उक्त निर्णय गरेको अभिभावक संघका अध्यक्ष सुप्रभात भण्डारीले जानकारी दिए ।

बैठकमा प्याब्सनका प्रतिनिधि, शिक्षा मन्त्रालयका प्रवक्ता र सीसीएमसीका प्रतिनिधि सहभागी थिए । यसअघि प्याब्सनका प्रतिनिधिले शिक्षामन्त्री देवेन्द्र पौडेललाई भेटेर माघ २३ गतेपछि विद्यालय खोल्न पाउनुपर्ने माग राखेका थिए । सरकारले माघ २३ गतेसम्म विद्यार्थीका लागि सम्बन्धित विद्यालयमै विशेष खोप अभियान चलाएको छ । सबै बिद्यार्थीले खोप लगाएको एकिन गरेर फागुन १ देखि निर्वाध रूपमा स्कूल संचालन गर्न दिने सरकारी तयारी छ ।

‘‘आज शिक्षा मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, प्रधानमन्त्री कार्यालय, संघीय मामिला मन्त्रालय, अभिभावक संघ, सीसीएमसीसीका पदाधिकारीहरूबीच छलफल भयो । स्थानीय तहलाई नै अवस्था हेरेर विद्यालय खोल्न दिनेबारे छलफल भयो,” उनले भने । केही स्थानीय तहले विद्यालय खोल्ने निर्णय गरिसकेका छन् ।

यसअघि सीसीएमसीसीले माघ मसान्तसम्म भौतिक रूपमा शैक्षिक संस्थाहरू बन्द गर्न सरकारलाई सिफारिस गरेको थियो । त्यसैअनुसार शैक्षिक संस्थाहरू अहिले बन्द छन् । धेरै जसो बिद्यालय आईतबार देखि संचालनमा आउंदैछन्। स्थानीय तहले केन्द्र सरकारको निर्देशन नमानेपछि सरकारले क्याबिनेट बाटै निर्णय गरेर भौतिक रुपमा स्कूल संचालन गर्ने अनुमति दिने भएको हो।