२१ घण्टा निरन्तर पढेर शाखा अधिकृत हुने सहितका अरूले पनि यसरी सुनाए आफुले गरेको मेहनत

  • प्रकाशित मिति : २०७८ माघ २१, शुक्रबार
  • chhanbin.com

लोकसेवाको परीक्षा उत्तीर्ण भएर शाखा अधिकृतमा सिफारिश भएका ४ सय ४४ जनालाई हिजो माघ २० गते बिहीवार नियुक्ति पत्र र पदस्थापन पत्र वितरण गरिएको छ । सामान्य प्रशाशन मन्त्रालयमा आयोजित कार्यक्रममा नियुक्ति पत्र र पदस्थापन पत्र वितरण गरिएको थियो। लोकसेवाले लिएको शाखा अधिकृतको परिक्षा पास गरेका केही शाखा अधिकृतले यसरी अनुभव साटासाट गरेका छन्।

गुल्मीको रेसुंगा नगरपालिका वडा नम्बर ५ की ३१ वर्षीया सुशीला मरासिनीले दोस्रो पटकको प्रयासमा शाखा अधिकृतमा नाम निकालिन्
। मन्त्रालयमा नियुक्ति पत्र र पदस्थापनको पत्र पाएपछि उनको खुशीको कुनै सीमा नै थिएन ।

यसअघि स्वास्थ्य सेवा विभागमा स्टाफ नर्सको रूपमा कार्यरत रहेकी उनी अब प्रशासन समूहतर्फ शाखा अधिकृत बनेकी छन् । २०७३ सालमा पनि उनले शाखा अधिकृतको जाँच दिएकी थिइन्, तर पहिलो पेपरमै अनुत्तीर्ण भइन् ।

त्यसपछि उनी स्टाफ नर्समा नाम निकालेर स्वास्थ्य सेवा विभागअन्तर्गत कान्ति बाल अस्पतालमा कार्यरत थिइन् । बिहीवार सामान्य प्रशासन मन्त्रालयमा भेटिएकी उनले भनिन्, ‘पहिलो प्रयासमा फेल भएको हुनाले पनि दोस्रो पटकको जाँच दिने बेला जाँचको २ महिना अघिसम्म २४ घण्टामध्ये ३ घण्टा मात्र सुत्ने गरेको थिएँ, २१ घण्टा जति निरन्तर फोकस भएर पढेकी हुँ ।’

अस्पतालमा काम गर्दा पनि ड्युटी समय मिलाएर पढ्नुका साथै २० प्रतिशत जति कोचिङको सिकाइले काम गरेको उनले बताइन् । ८० प्रतिशत भने आफ्नै मेहनत काम आएको उनको भनाइ छ ।

पर्वतको फलेबास नगरपालिका वडा नम्बर ३ की २५ वर्षीया गृष्मा शर्माले यसअघि पनि स्थानीय तहमा अधिकृतमा नाम निकालेर जागिर गरिरहेकी थिइन् ।अहिले उनले संघमा शाखा अधिकृतमा नाम निकालेर बिहीवार नियुक्ति पत्र लिएकी छिन् ।

२०७६ सालमा नै शाखा अधिकृतमा नाम निकालेकी उनको शुरूमा चितवनको रत्ननगर नगरपालिकामा पदस्थापन भएको थियो। अन्ततः संघमै नाम निकाल्न पाएकोमा उनी निकै खुशी छिन् ।

‘पहिले पनि स्थानीय तहमा अधिकृत नै थिएँ, तर त्यहाँ स्थानीय तहमा मात्रै काम गर्नुपर्ने हुन्थ्यो, गाउँपालिकाको हाकिम पनि बन्न सकिन्नथ्यो,’ सिंहदरवारमा नियुक्ति पत्र लिएपछि उनले भनिन्, ‘अब त स्थानीय तहबाहेक अन्य जुनसुकै ठाउँमा पनि काम गर्न पाइने भयो । गाउँपालिकामा नै पोस्टिङ भयो भने त्यहाँ हाकिम समेत बन्न पाइने भयो ।’

स्नातक पास गरेदेखि नै तयारी शुरू गरेकी उनले भने ड्युटीबाहेकको समयमा १/२ घण्टा पढ्ने गरेको बताइन्। ‘जाँच आउनुअघि ४ देखि ५ महिनासम्म चाहिँ फोकस भएर १५ देखि १६ घण्टासम्म नै पढियो, परिणामस्वरूप नाम निस्कियो,’ शर्माले भनिन्।

सिन्धुलीको तीनपाटन गाउँपालिका वडा नम्बर ९ की २६ वर्षीया तारा पोखरेल पनि राजश्व समूह अन्तर्गतको शाखा अधिकृत हुन पाएकोमा असाध्यै खुशी देखिएकी थिइन् । दोस्रोपटकको प्रयासमा उनले शाखा अधिकृतको जाँच पास गरेकी हुन् ।

‘२०७४ सालमा पनि शाखा अधिकृत पदमा जाँच दिएकी थिएँ, तर नाम निस्किएन,’ उनले भनिन्, ‘तर अहिले दोस्रो प्रयासमा नाम निस्किएपछि बल्ल सपना पूरा भयो ।’ यसअघि २०७५ सालमा लोक सेवा आयोगको जाँच दिएर नायब सुब्बामा नाम निकालेपछि उनी मध्यपुर थिमी नगरपालिकाको वडा प्रशासकीय अधिकृतको रूपमा कार्यरत थिइन्।

‘अब शाखा अधिकृत भएपछि राजश्व अधिकृतको रूपमा काम गर्ने मौका पाउनु मेरो करियरका लागि पनि ठूलो कुरा हो,’ उनले भनिन्, ‘लकडाउनका बेला कार्यालयमा समेत बिदा भएका कारण त्यसको फाइदा उठाउँदै दिनरात नभनी तयारी गरियो, अन्ततः नाम निकाल्न सफल भइयो ।’

कञ्चनपुरको बेलडाँडी गाउँपालिका – २ का २७ वर्षीय राजेन्द्रबहादुर विश्वकर्मा पनि शाखा अधिकृतको नियुक्ति पत्र लिएका बेला अत्यधिक खुशी देखिएका थिए । पहिलो प्रयासमै नाम निकाल्दा उनको खुशीको सीमा नै थिएन ।

यसअघि काठमाडौंकै कीर्तिपुरस्थित सिटिजन बैंकको शाखामा महिनाको ३० हजार रुपैयाँ तलब खाइरहेका उनले जसरी पनि लोकसेवा आयोगको जाँच पास गर्नुपर्छ भनेर जागिर छाडेका थिए ।

‘म पूर्णरूपमा बेरोजगार नै त थिइनँ, तर प्राइभेट जागिर गर्नुभन्दा पनि सरकारी जागिर गर्दा करियर सुनिश्चित हुन्छ भनेर जागिर छाडेर लोकसेवाको तयारी गरेको थिएँ,’ उनले भने, ‘२ वर्षदेखि तयारी गरेको हो, कोचिङ क्लासमा सरहरूले दिनुभएको लजिकल ट्रिक र अध्ययनका कारण नाम निकाल्न सफल भएको हुँ ।’

बिहीवार सिंहदरबारस्थित संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रलायअगाडि हातहातमा नियुक्ति पत्र र पदस्थापनको पत्र लिएर फोटो खिचाउने, सेल्फी लिने, एक अर्कासँग परिचय गर्दै खुशी साटासाट गर्नेहरूको घुइँचो नै थियो । सबै जनाको अनुहारमा गजबको मुस्कान देखिएको थियो।