दश हजार लिएर धमाधम ‘कोरोना नेगेटिभ’को रिपोर्ट बेच्ने गिरोहलाई प्रहरीले पार्यो यसरी कर्याप्पै

  • प्रकाशित मिति : २०७८ माघ १९, बुधबार
  • chhanbin.com

नक्कली आरटी पीसीआर रिपोर्ट बनाउने अस्पतालका कर्मचारी तथा बिचौलियालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौं उपत्यकाभित्रका विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरुमा धनुषा बिदेह नगरपालिकाका २५ वर्षीय रोशनकुमार छिट्टान, छिरेश्वर नगरपालिकाका २५ वर्षीय नागेन्द्र यादव, काभ्रेपलान्चोक तेमाल गाउँपालिकाका २५ वर्षीय माधव मैनाली र सर्लाहीका २४ वर्षीय प्रशन्नकुमार झा रहेका छन्। झा नागरिक अस्पतालका ल्याब प्रबन्धक हुन्। त्यस्तै, अन्य दुई जना फरार रहेकाले प्रहरीले खोजी गरिरहेको छ।

भक्तपुरको मध्यपुर थिमिमा रहेको नागरिक कम्युनिटी टिचिङ्ग हस्पिटल लिमिटेड र काठमाडौंको तीनकुनेमा रहेको कान्तिपुर अस्पतालले वैदेशिक रोजगारमा जाने ब्यक्तिका लागि सरकारले तोकेभन्दा बढी रकम लिएर नक्कली पीसीआर रिपोर्ट बनाउने गरेको उजुरी परेपछि प्रहरीले अनुसन्धान गरेको थियो।

मंगलवार बिहान नागरिक कम्युनिटी टिचिङ्ग हस्पिटलको परिचयपत्र भएका रोशन कुमार छिट्टानलाई अस्पतालबाट जारी भएका ८ थान नक्कली रिपोर्टसहित त्रिभुवन विमानस्थल अगाडिबाट प्रहरीले समातेको हो।

त्यसपछि, प्रहरी मध्यपुर थिमि नगरपालिका वडा नम्बर ३ कौशलटारस्थित नागरिक कम्युनिटी टिचिङ्ग हस्पिटल पुगेको थियो। हस्पिटलका ल्याब म्यानेजर प्रशन्नकुमार झालाई प्रहरीले नियन्त्रणमा लिएको हो।

काठमाडौंको तीनकुनेमा रहेको कान्तिपुर अस्पतालको कर्मचारी परिचय पत्र भएका नागेन्द्र कुमार यादवलाई १७ थान नक्कली आरटी पीसीआर रिपोर्ट सहित अस्पताल अगाडिबाट नै प्रहरीले पक्राउ गरेको हो। अस्पतालको ल्याबमा पुगेको प्रहरीले कर्मचारी माधव मैनालीलाई पनि पक्राउ गर्‍यो। स्वाब संकलन तथा परीक्षण नै नगरी कान्तिपुर अस्पतालबाट पीसीआर नेगेटिभ भनेर उल्लेख गरिएको ४ थान नक्कली रिपोर्ट फेला पारेको प्रहरीले जानकारी दिएको छ।

प्रहरीले दुवै अस्पतालको ल्याब रिपोर्ट बनाउन प्रयोग हुने कम्प्यूटर लगायतका उपकरण र अन्य कागजात समेत नियन्त्रणमा लिएको महाशाखाका एसपी कृष्ण कोइरालाले जानकारी दिए।

प्रारम्भीक अनुसन्धानमा अस्पतालका ल्याबहरुले कतिपय व्यक्तिको स्वाब र परीक्षणविना नै नेगेटिभ रिपोर्ट दिने गरेको खुलेको छ। ल्याबमा कार्यरत विशेषज्ञ चिकित्सकले रिपोर्ट नै नहेरी हस्ताक्षर गर्ने गरेको पनि अनुसन्धानमा देखिएको छ। कतिपय पीसीआर पोजेटिभ देखिएका स्याम्पलहरुको सीटी भ्यालु तलमाथि गरी नेगेटिभ रिपोर्ट दिने गरेको तथा पीसीआर रिपोर्टको मिति समेत तलमाथि गरी रिपोर्ट दिने गरेको खुल्न आएको छ ।

उल्लेखित अस्पतालले केही बिचौलियालाई अस्पतालका कर्मचारी परिचयपत्र समेत दिएको खुलेको छ। उनीहरुलाई सामुहिक स्वाब संकलन गर्नप्रयोग गरेको प्रहरीको दाबी छ। रिपोर्ट नेगेटिभ बनाउन १० हजार रुपैयाँसम्म लिने गरेको प्रहरीको अनुसन्धानमा देखिएको छ।