माघ २० गतेको क्याबिनेटले जेठ ४ मै स्थानीय तहको चुनाव घोषणा गर्ने यसरी लाग्यो टुंगो

  • प्रकाशित मिति : २०७८ माघ १८, मंगलवार
  • chhanbin.com

सरकारले आगामी २०७९ जेठ ४ गते एकै चरणमा स्थानीय तह निर्वाचन गर्ने भएको छ। निर्वाचन आयोगका पदाधिकारीसँग मंगलबार बालुवाटारमा भएको छलफलमा आगामी जेठ ४ गते स्थानीय तह निर्वाचन गर्ने टुंगो भएको हो।

प्रधानमन्त्रीसँगको छलफलका क्रममा जेठ ५ गतेको डेडलाइन क्रस नहुने गरी प्रमुख आयुक्त दिनेश थपलियाले जेठ ४ गते एकै चरणमा स्थानीय तहको निर्वाचन गर्न प्रस्ताव गरेका थिए।

आयोगको उक्त प्रस्ताव अनुसार प्रधानमन्त्री देउवा निर्वाचन गराउन तयार भएका छन्। उनले जेठ ४ गतेको निर्वाचन मितिलाई मन्त्रिपरिषद्‍बाट निर्णय गराउने बताउँदै आयोगलाई आवश्यक तयारी थाल्न पनि निर्देशन दिएका छन्।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आयोगको प्रस्ताव अनुसार नै प्रधानमन्त्री जेठ ४ गते स्थानीय निर्वाचन गराउन तयार भएको बताए।

‘जेठ ४ गते बुधबार एकै चरणमा स्थानीय तह निर्वाचन गर्ने आयोगले राखेको प्रस्ताव प्रधानमन्त्रीबाट सदर भएको छ’, थपलियाले भने, ‘यसबारेमा उहाँले मन्त्रिपरिषद्‍बाट निर्णय लिने बताउनु भएको छ।’