कोरोना महामारीका कारण शैक्षिक संस्था बन्द हुन थालेको अवस्थामा शिक्षक सेवा आयोगले खुलाएको शिक्षकको विज्ञापनअनुसार परीक्षा हुन्छ कि हुँदैन भन्ने अन्योल देखिएको छ । तर, महामारीले परीक्षाको आन्तरिक तयारीको काममा बाधा नपुगेको आयोगले जनाएको छ ।
आयोगले खुलाएको विज्ञापनअनुसार आगामी चैतमा परीक्षा गर्ने मिति तोकिएको छ । सोहीअनुसार आयोगले आन्तरिक कामलाई तीव्रता दिइरहेको बताउँछन् सूचना अधिकारी सुदर्शन मरहट्ठा । ‘आवेदकहरूले अनलाइन दरखास्त दिइरहेका छन् । हाम्रो आन्तरिक काम भइरहेको छ,’ मरहट्ठाले भने, ‘अब चैतमा हुने परीक्षाको हकमा भने अहिले नै बोल्न सकिने स्थिति छैन । परिस्थिति हेरेर त्यसबेलै निर्णय हुन्छ । सामान्य अवस्था भइरहे परीक्षा गराउन हामी तयार नै छौँ ।’ प्राबि तहको बिज्ञापनमा दोब्बर दस्तुर दिएर माघ २० गते सम्म आवेदन दिन सकिने म्याद छ।
आवेदन दिएकामध्ये १ लाख ४ हजार ६ सय ५१ जनाले पैसा बुझाएर प्रमाणपत्र लिइसकेको मरहट्ठाले बताए । ‘परीक्षार्थीको आवेदन परिसकेपछि प्रश्नपत्र कसले छाप्ने के गर्ने भन्ने कुराहरू निर्णय हुन्छ । त्यो हाम्रो आन्तरिक काम भएकाले लकडाउनले खासै असर गर्दैन,’ उनले भने । प्रश्न पत्र निर्माणको काममा आयोग लागिसकेको छ।
यही १५ चैतमा मावि तहको परीक्षा हुँदैछ । त्यस्तै आयोगले चैत १७ गते निमावि र १९ गते प्रावि तहको परीक्षा लिँदैछ । मरहट्ठाका अनुसार आयोगले प्रदेशगत रूपमा विज्ञापन खुलाएको छ । ‘प्रदेशअनुसार विभिन्न ठाउँमा परीक्षा केन्द्र तोकेका छौँ । सोहीअनुरुप परीक्षा हुन्छ,’ उनले भने ।
प्रदेश नं. १ को मोरङ, प्रदेश २ का लागि धनुषा, बागमती प्रदेशका लागि हेटौँडा, गण्डकी प्रदेशका लागि कास्की, लुम्बिनी प्रदेशका लागि दाङ, कर्णाली प्रदेशका लागि सुर्खेत र सुदूरपश्चिम प्रदेशका लागि कैलालीमा परीक्षा केन्द्र तोकिएको छ । प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बनेको प्रदेशस्तरीय परीक्षा सञ्चालन समन्वय समितिले परीक्षा सञ्चालन गर्नेछ ।