इसीडी शिक्षकलाई ४५ दिन भित्र तलब नदिने स्थानीय तहलाई के गर्दैछन् शिक्षामन्त्री ?

  • प्रकाशित मिति : २०७८ माघ १६, आईतवार
  • chhanbin.com

प्रारम्भिक बालविकास सहजकर्ता (इसीडी शिक्षक) र विद्यालय कर्मचारीलाई सरकारले तोकेको न्युनतम तलबलगायत सेवासुविधा दिन स्थानीय तहलाई निर्देशन दिएको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेललेजानकारी गराएका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग पनि छलफल गरेर निर्देशन गर्ने ठाउँमा निर्देशन गरिसकेको मन्त्री पौडेलले बताए। कतिपय कुराहरू संघीय मामिला मन्त्रालयबाट निर्देशन जानुपर्ने भएको हुँदा मन्त्रालयसँग समन्वय गरेर त्यो रकम जसरी पनि उहाँहरूले प्राप्त गर्नुपर्छ भन्ने पक्षमा शिक्षा मन्त्रालय क्रियाशील रहेको पौडेलको भनाई छ। निर्देशन दिएको मितिले ४५ दिन सम्म पनि तलब नदिने स्थानीय तहलाई के गर्ने भन्ने टुंगो लगाउने मन्त्री पौडेलले बताए।

इसीडी शिक्षक र विद्यालय कर्मचारीहरूलाई पारिश्रमिक दिन स्रोत छ वा छैन भन्ने कुरा तीनै तहका सरकारको जिम्मेवारीभित्र रहेको र यसका लागि तीनै तहका सरकारले जिम्मा लिनुपर्ने मन्त्री पौडेलको भनाइ छ ।

उनले भने,‘पालिकासँग स्रोत छ वा छैन भन्ने कुरा सरकारको हो । तीनै तहका सरकारले जिम्मा लिनुपर्छ । तर, श्रममा लगाइसकेपछि सरकारले तोकेअनुसार रकम पाउनुपर्छ ।’ त्यसरी श्रम शोषण गर्नेलाई के गर्ने भन्ने विकल्पमा समेत शिक्षा मन्त्रालयले सोचीसकेको मन्त्री पौडेलले बताए।