कांग्रेसका यी ८ भातृ संस्थाको म्याद सकियो, कहिले हुन्छ महाधिवेशन ?

  • प्रकाशित मिति : २०७८ माघ १६, आईतवार
  • chhanbin.com

नेपाली कांग्रेसले तीन पटक म्याद थप गर्दा पनि ८ वटा भातृ संस्थाले महाधिवेशन गर्न सकेनन्। गत साउन ३१ मा केन्द्रीय समितिले छ महिनाका लागि ८ भातृ संस्थाको म्याद थपेको थियो।

नेविसंघ, नेपाल तरूण दल, नेपाल किसान संघ, नेपाल आदिवासी-जनजाति संघ, नेपाल प्रजातान्त्रिक सेनानी संघ, राष्ट्रिय लोकतान्त्रिक अपांग संघ, नेपाल ठाकुर समाज र नेपाल तामाङ संघको म्याद सकिएका छन्। यी भातृ संस्थाको वर्षौंदेखि महाधिवेशन भएका छैनन्।

भातृ संस्थामध्ये नेविसंघ सभापति राजिव ढुंगाना, तरूण दल अध्यक्ष जितजंग बस्नेत, मुश्लिम संघ अध्यक्ष अब्दुल सतारलगायत भातृ संस्थाका प्रमुखहरू कांग्रेस केन्द्रीय सदस्य निर्वाचित भइसकेका छन्।

कांग्रेस विधानअनुसार पार्टी केन्द्रीय सदस्य भएपछि भातृ संस्थामा रहेको जिम्मेवारी स्वत: खारेज हुनेछ। तर नेविसंघ, तरूण दललगायत भातृ संस्थाका प्रमुखहरू केन्द्रीय सदस्य बने पनि भातृ संस्थाकै पदमा बसिरहेका छन्। भातृ संस्थाका महाधिवेशन सुनिश्चित गर्न माग भइरहे पनि पार्टी केन्द्रीय कार्यसमितिमा भने यसबारे छलफल भएको छैन।

मंसिरमा १४ औं महाधिवेशन गरेपछि कांग्रेसले अहिलेसम्म गरी तीन पटक केन्द्रीय समिति बैठक राखेको छ। कांग्रेसले ३७ सदस्यीय कार्यसम्पादन बनाउनेबाहेक पार्टीका अन्य सन्दर्भमा खासै निर्णय गरेको छैन।

महाधिवेशनपछि छ महिनाभित्र बनाउनुपर्ने विभागहरू गठनको सुरसार छैन। नेविसंघको महाधिवेशन सुनिश्चित गर्न विद्यार्थी नेताहरूले माग गरिरहेका छन् तैपनि नेतृत्वले यसबारे ध्यान दिन सकेका छैनन्।

‘नेविसंघको वैधानिक निकाससहित विधिवत महाधिवेशनको सुनिश्चितता हुनुपर्दछ,’ नेविसंघ नेता भुवन भट्टले भने, ‘विधानले स्वत: पदच्युत गरिसकेका सभापतिहरू अझ भातृ संस्थाको नेतृत्वमा बसिरहेका छन्।’

नेविसंघ १०१ सदस्यी तदर्थ समिति बनाउने भने पनि जम्मा १० जना मात्रै छन्। साथै तरूण दल पनि चार जनामा सीमित थियो। तरूण दलमा अध्यक्ष जितजंग बस्नेत र महामन्त्री भूपेन्द्रजंग शाहीले एकअर्कालाई कारबाही गरेका थिए। उनीहरू दुबै पार्टीको राजनीतिमा क्रियाशील भइसकेका छन्।

‘आजदेखि नेविसंघको म्याद पनि सकिएको छ। ०७६ माघ १६ मा महाधिवेशन गराउन तदर्थ समिति बनेको थियो। त्यसयता तीन पटक म्याद थप गरे पनि नेविसंघ महाधिवेशन हुन सकेन,’ भट्टले भने। भातृ संस्था नेपाल दलित संघ, मुश्लिम संघ, महिला संघलगायतका प्रमुख पनि केन्द्रीय सदस्य भइसकेका छन्। दलित संघका अध्यक्ष मीन विश्वकर्मा, महिला संघ अध्यक्ष उमा रेग्मी पनि केन्द्रीय सदस्य भइसकेका छन्।

कांग्रेसका अधिकांश भातृ संस्थाका प्रमुख पार्टी केन्द्रीय सदस्य भए पनि महाधिवेशन गरेर नयाँ नेतृत्व ल्याइएको छैन। कांग्रेस विधानको दफा ४२ १ (ङ) मा भ्रातृ संस्थाका पदाधिकारी एवं सदस्य पार्टीको कुनै पनि तहको कार्यसमितिमा निर्वाचित वा मनोनीत भए भ्रातृसंघको पद स्वतः रिक्त हुने व्यवस्था छ।

लामो समयदेखि महाधिवेशन गर्न नसकेको भन्दै नेपाल आदिवासी-जनजाति संघका सभापति इन्द्रबहादुर गुरूङले सभापति शेरबहादुर देउवालाई राजीनामा नै बुझाइसकेका छन्। अरू भातृ संस्थालाई महाधिवेशनमा प्रतिनिधि दिइएको तर आदिवासी-जनजाति महासंघलाई भने विभेद गरिएको उनको आरोप छ।

उनले गत माघ ११ मा सभापति देउवालाई राजीनामा दिएका थिए। ‘गुटउपगुटमा ध्यान दिनेलगायत कारणले म संघको सभापति र पार्टीको क्रियाशील सदस्यताबाट पनि राजीनामा दिन्छु,’ सभापति देउवालाई बुझाएको राजीनामा पत्रमा उनले उल्लेख गरेका छन्। कांग्रेसले भने भातृ संस्थाका महाधिवेशन गर्नेबारे छलफल भइरहेको बताएको छ। मुख्यसचिव कृष्णप्रसाद पौडेलले म्याद सकिएका भातृ संस्थाको महाधिवेशन गर्नेबारे पार्टीमा छलफल भइरहेको बताए।

‘भातृ संस्थाका महाधिवेशन हुन्छन्। यसबारे पार्टीमा छलफल भइरहेको छ, उचित समयमा निर्णय हुन्छ,’ मुख्यसचिव पौडेलले भने। म्याद सकिएको एक भातृ संस्थाका प्रमुखले भने यही समितिले महाधिवेशन गरेर नेतृत्व हस्तान्तरण गर्ने तयारी छ।

‘केन्द्रीय सदस्य भएपछि हामीले सभापतिलाई भातृ संस्थाको जिम्मेवारीबाट अलग हुन्छौं भनेका हौं तर उहाँले तीन महिनाजति पर्खनुस्, महाधिवेशन गरेर छोड्नुपर्छ भन्नु भएको छ,’ उनले भने।