सेयर बजारमा उछाल आएको छ । गतसाता १४२ अंकले घटेको नेप्से आज एकैदिन तेहेरो अंकले कमब्याक गरेको हो ।सत्ता गठबन्ध दलहरुबीच स्थानीय तहको चुनाव आगामी जेठसम्म गर्ने सहमति भएसँगै लगानीकर्ता उत्साहित भएका हुन् । चुनाव हुँदा ठूलो धनराशी परिचालन हुने र अर्थतन्त्र चलायमान हुँदा सेयर बजारमा पनि सकारात्मक असर पर्ने लगानीकर्ताको बुझाइ छ ।
सूचकसँगै आज कारोबार रकममा पनि बढोत्तरी आएको छ । आज सवा ६ अर्ब बढीको सेयर किनबेच भएको छ ।आइतबार नेप्से १०५.५५ अंकले बढेर २८८५.५३ विन्दुमा पुगेको छ । आज २३१ कम्पनीको ६ अर्ब ३२ करोड ४२ लाख ७४ हजार ३९ रुपैयाँ बराबरको १ करोड २१ लाख ५५ हजार ४३२ कित्ता सेयर किनबेच भएको छ ।
आज कारोबारमा आएका १३ वटै समूहको परिसूचकमा हरियाली छाएको छ । विकास बैंक समूह् सबैभन्दा धेरै ६.५६ प्रतिशतले बढेको छ । त्यस्तै, फाइनान्स र लगानी समूह पनि ६ प्रतिशतभन्दा धेरैले बढेको छ । आज कारोबार भएका २३१ कम्पनीमध्ये २११ कम्पनीको सेयर मूल्य बढेको छ भने १२ कम्पनीको घटेको छ । ९ कम्पनीको मूल्य स्थिर रहेको छ ।
आज अपी पावरको सर्वाधिक कारोबार भएको छ । यसको २६ करोड बढीको सेयर किनबेच भएको छ । त्यस्तै, नेपाल टेलिकम साढे २३ करोड र एचआइडस्सीएलको ११ करोड बढीको कारोबार हुँदै शीर्ष तीन कम्पनीमा रहे ।
तेहेरो अंकले बढेको बजारमा आज ५ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । वीन नेपाल लघुवित्त, निफ्रा, लिबर्टी इनर्जी र शिवश्री हाइड्रोपावरको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ । त्यस्तै, बुद्धभूमि नेपालका सेयरधनीले पनि परिब १० प्रतिशत कमाएका छन् ।
त्यसैगरी, अरुण भ्याली हाइड्रोपावर ९.०२, हिमालयन ऊर्जा, प्रोग्रेसिभ फाइनान्स, हिमाल दोलखा र कर्णाली डेभलपमेन्ट बैंकको सेयर मूल्य ८ प्रतिशतभन्दा धेरैले बढेको छ । त्यस्तै, लुम्बिनी विकास बैंक, साइन रेसुंगा डेभलपमेन्ट बैंक, हिमालयन पावर, सिन्धु विकास बैंक, कामना सेवा बैंक लगायत २ दर्जन कम्पनीको सेयर मूल्य ७ प्रतिशतले बढेको छ । मञ्जुश्री फाइनान्सका डिबेञ्चरधनीले सबैभन्दा धेरै ३.२३ प्रतिशत गुमाएका छन् ।