केन्द्रीय तथ्यांक विभागले हालै सार्वजनिक गरेको २०७८ सालको प्रारम्भिक जनगणना विवरणअनुसार ताप्लेजुङको जनसंख्या १ लाख २० हजार ३ सय ५९ रहेको छ । जुन चार दशकअघिकै जति हो । २०३८ को जनगणनामा यहाँको जनसंख्या अहिलेभन्दा ४ सय २१ ले बढी थियो । त्यसो त ४० वर्षयता जिल्लाको जनसंख्यामा खासै थपघट भने भएको छैन ।
२०४८ मा घटेर १ लाख २० हजार ५३ भएको जिल्लाको जनसंख्या ०५८ मा केही बढेर १ लाख ३४ हजार ६ सय ९८ पुगेको थियो । ०६८ मा फेरि घटेर १ लाख २७ हजार ४ सय ६१ भएकोमा यस वर्ष ७ हजारले अझै घटेको छ । यहाँ महिलाको तुलनामा पुरुषको संख्या बढी रहेको छ । ६० हजार ५ सय २४ पुरुष रहेकामा महिलाको संख्या भने ५९ हजार ८ सय ३५ रहेको प्रारम्भिक तथ्यांकले देखाएको छ ।
२०६८ मा भने महिलाको संख्या ६६ हजार ९ सय ९ र पुरुषको ६० हजार ५ सय ५२ थियो । २०३८ मा ३.५५ प्रतिशत जनसंख्या वृद्धिदर रहेकोमा पछिल्लो दशक भने ०६८ कै समान ०.५५ प्रतिशतमा स्थितर देखिएको छ । जनसंख्या घटे पनि परिवार संख्या भने अहिलेसम्मकै बढी देखिएको छ । हाल यहाँ २८ हजार ५ सय ३० परिवार संख्या रहेको देखिएको छ । जुन पछिल्लो १० वर्षको भन्दा २ हजार २१ ले बढी हो । पछिल्ला दशकमा संयुक्त परिवारको बसोबास देखिएको जनगणना कार्यालयका प्रमुख मानबहादुर थापा बताउँछन् ।
नौवटा स्थानीय तह रहेको जिल्लामा सबैभन्दा बढी फुङलिङ नगरपालिकामा २८ हजार ७ सय ८६ जनसंख्या रहेको छ । ०६८ मा २६ हजार ४ सय ६ रहेको थियो । गाउँबाट सहर पस्ने क्रम बढेकाले जनसंख्या पनि बढेको नगरपालिका प्रमुख छत्रपति प्याकुरेल बताउँछन् । गाउँपालिकामा सबैभन्दा बढी सिरिजंगा र सबैभन्दा कम मिक्वाखोला गाउँपालिकामा छ । सिरिजंगामा १४ हजार १ सय ८६ रहेको छ । ०६८ मा १५ हजार ८ सय ६ रहेको थियो । कम जनसंख्या रहेको मिक्वाखोलामा ७ हजार ९ सय ९१ भएको छ जुन ०६८ को भन्दा १ हजार १ सय ६९ ले कम हो ।
जिल्लाका हरेक गाउँपालिकामा जनसंख्या घटेको छ । आठराई त्रिवेणीमा १२ हजार २ सय ८८, मेरिङदेनमा १२ हजार ४० र फक्ताङलुङमा ११ हजार ९ सय २५ रहेको छ । पाथीभरा याङवरकमा ११ हजार ७ सय ९७, सिदिङवामा १० हजार ९ सय ८१ र मैवाखोलामा १० हजार ३ सय ६५ छ । डोल्पा र हुम्लापछिको तेस्रो ठूलो जिल्ला भौगोलिक रूपले ठूलो भए पनि जनसंख्याको हिसाबले कमजोर बन्दै गएको पाथीभरा क्याम्पसका प्रमुख मोहन राई बताउँछन् ।
स्वास्थ्य र शिक्षाका लागि तराई बसाइँ सर्ने क्रम बढेकाले जनसंख्या यो अवस्थामा झरेको उनको बुझाइ छ । श्रीमान् विदेश जाने र छोराछोरीको शिक्षाका लागि श्रीमतीलाई तराईमा राख्ने र क्रमशः घरघडेरी उतै जोड्ने क्रम बढेको राईको विश्लेषण छ ।