रामचन्द्र पौडेलले भने -गठबन्धनको औचित्यमाथि प्रश्न उठ्छ

  • प्रकाशित मिति : २०७८ माघ १५, शनिबार
  • chhanbin.com

सत्तारुढ दलहरूको उच्चस्तरीय समन्वय समितिका संयोजक एवं नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले तत्काल राजनीतिक निकास दिनुपर्ने बताएका छन्। मुलुकमा जारी राजनीतिक गतिरोधको निकास तत्काल दिन नसके सत्तारुढ गठबन्धनको औचित्यमाथि प्रश्न उठ्ने उनको चिन्ता छ।

सत्तारुढ गठबन्धन दलका शीर्ष नेताहरूको प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान बसेको बैठकमा पौडेलले भने, ‘तत्काल राजनीतिक निकास नखोजेमा गठबन्धनको औचित्यमाथि प्रश्न उठ्न सक्छ। त्यसैले बेलैमा सचेत हौं।’

संसदबाट एउटा कानुन पनि पास गराउन सक्ने अवस्थामा सरकार नरहनु चिन्ताको विषय भएको उनले बताएका छन्। ‘संसद चलेको छैन। सर्वोच्च अदालतमा गतिरोध कायमै छ। राष्ट्रिय महत्त्वका विषयमा गतिरोध छ। कानुन संशोधन गर्नसमेत सरकारले सकिरहेको छैन। यो गतिरोध धेरै दिन लम्बिनु हुँदैन,’ उनले भने ।