शिक्षकमा आवेदन दिएकाले परीक्षा केन्द्र परिवर्तन गर्न पाउने/नपाउने बारे प्रवक्ताले यसो भने

  • प्रकाशित मिति : २०७८ माघ १४, शुक्रबार
  • chhanbin.com

शिक्षक सेवा आयोगले प्राथमिक, निम्नमाध्यममिक र माध्यमिक तहमा साढे १७ हजार शिक्षक स्थायी पदपूर्तिका लागि आवेदन माग गरेको छ । माध्यमिक र निम्नमाध्यमिक तहको आवेदन दिने म्याद गुज्रिसकेको छ भने प्राथमिक तहको म्याद हिजो सकिएको छ ।

शिक्षक सेवा आयोगका अनुसार, विभिन्न तहको शिक्षक बन्न आकांक्षा देखाएर साढे दुई लाख बढीले आवेदन दिइसकेका छन् । शिक्षकमा आवेदन दिएकामध्ये कतिपयले परीक्षा केन्द्र परिवर्तनबारे चासो राखेका छन् । के आवेदन बुझाइसकेका आवेदकले परीक्षा केन्द्र परिवर्तन गर्न मिल्छ ?

शिक्षक सेवा आयोगका सूचना अधिकारी उप–सचिव सुदर्शन मरहठ्ठा एक पटक परीक्षा केन्द्र निर्धारण गरिसकेकाले पुनः बदल्न नमिल्ने बताउँछन् । ‘आवेदन बुझाइसकेकाले जुन परीक्षा केन्द्र छनौट गरेका छन्, त्यही गएर परीक्षा दिनुपर्छ । अहिले प्रतिकूल भयो भनेर परिवर्तन गर्न मिल्दैन,’ उनले भने ।