यी हुन् २० हजार भन्दा कम जनसंख्या हुने १४ नगरपालिका

  • प्रकाशित मिति : २०७८ माघ १२, बुधबार
  • chhanbin.com

२०७८ को जनगणना अनुसार २० हजार भन्दा कम जनसंख्या हुने नगरपालिकाको संख्या १४ रहेको छ। १ लाख भन्दा बढी जनसंख्या हुने नगरपालिकाको संख्या ३९ वटा रहेको छ।

नेपालको सबैभन्दा बढी जनसंख्या काठमाडौँ र कम मनाङमा रहेको छ। बुधबार केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको प्रारम्भिक नतिजा अनुसार ७७ जिल्लामध्ये काठमाडौँको जनसंख्या २० लाख १७ हजार ५ सय ३२ जना र सबैभन्दा कम जनसंख्या मनाङको ५ हजार ६ सय ४५ जना रहेक छन्।

यस्तै दोस्रो स्थानमा मोरङ, तेस्रोमा रूपन्देही, चौथोमा झापा र पाँचौँमा सुनसरीमा सर्वाधिक जनसंख्या छन्। यस्तै मनाङ पछि कम जनसंख्या भएको जिल्लामा मुस्ताङ, डोल्पा, रसुवा र हुम्ला क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौँ स्थानमा छन्।

जिल्ला अनुसार हेर्दा सबैभन्दा बढी लैंगिक अनुपात मनाङ जिल्लाको १३० र सबैभन्दा कम लैंगिक अनुपात प्यूठान जिल्लाको ८२ रहेको विभागले जनाएको छ। राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार नगरपालिकाहरूमध्ये सबैभन्दा धेरै जनसंख्या भएका ५ नगरपालिकाहरुमा क्रमशः काठमाडौँ, पोखरा, भरतपुर, ललितपुर र वीरगञ्ज महानगरपालिका हुन् भने सबैभन्दा कम जनसंख्या भएका ५ नगरपालिकाहरु क्रमशः ठूलीभेरी नगरपालिका, त्रिपुरासुन्दरी नगरपालिका, मादी नगरपालिका, लालिगुराँस नगरपालिका र जिरी नगरपालिका पर्दछन् ।

सबैभन्दा धेरै जनसंख्या भएको काठमाडौँ महानगरपालिकामा ८,६५,९०६ र सबैभन्दा कम जनसंख्या भएको ठूलीभेरी नगरपालिकामा १०,१८७ जनसंख्या रहेको छ।

गाउँपालिकातर्फ सबैभन्दा धेरै जनसंख्या बैजनाथ गाउँपालिकामा ७०,३१५ जना र सबैभन्दा कम जनसंख्या भएको नार्पाभूमि गाउँपालिकामा ४४२ जना रहेका छन् । १० हजार भन्दा कम जनसंख्या हुने गाउँपालिकाको संख्या ४६ रहेको छ भने ५० हजार भन्दा बढी जनसंख्या हुने गाउँपालिकाको संख्या १५ वटा छ।