प्रचण्डको रहर माथि देउवाले खन्याए तातोपानी, तगारो हालेर रामचन्द्रनै किन राखे छानी-छानी ?

  • प्रकाशित मिति : २०७८ माघ १२, बुधबार
  • chhanbin.com

सरकार सञ्चालनमा सहयोगीको रुपमा गठन गरेको सत्तागठबन्धनको समन्वय समितिको संयोजक बन्न प्रचण्डले रहर गरेपछि उनको रहरलाई प्रधानमन्त्री शेर बहादुर देउवाले रोकिदिएका छन्। गठन भएको बेलामा नै कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई यसको संयोजकको रुपमा जिम्मेवारी दिईएको थियो । तर पछिला दिनमा माधव नेपाललाई मनाएर प्रचण्ड संयोजक बन्न लागिपरेका थिए।

त्यतिवेला समन्वय समितिको संयोजक प्रत्येक दुई/दुई महिनामा फेरिने सहमति भएको थियो । समन्वय समिति गत कार्तिक २२ गते गठन भएको थियो । सत्तागठबन्धनको बैठक बसेर त्यतिवेला पौडेलको नेतृत्वमा ११ सदस्यीय समन्वय समिति बनाईएको थियो । समन्वय समितिमा पाँच दलका २/२ जना प्रतिनिधि रहेको र सरकारको तर्फबाट प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्की छन् ।

समन्वय समितिको संयोजकको रुपमा रामचन्द्रले काम गरेको दुई महिनाभन्दा बढि भैसकेको छ। तर, अहिलेसम्म समितिको नेतृत्व फेरिएको छैन् । यसमा प्रधानमन्त्री शेरबहादुर देउवाको मुख्य हात रहेको बुझिएको छ ।

आफ्नो पार्टीभित्रको आन्तरिक सन्तुलन मिलाउनको लागि पनि उनले पौडेललाई नै उक्त जिम्मेवारीमा राखेका छन् । सहमतिअनुसार अब समितिको संयोजक नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड हुनुपर्ने थियो । तर, अहिलेसम्म प्रचण्डलाई संयोजक बनाउने सवालमा प्रधानमन्त्री देउवा सकारात्मक देखिएका छैनन् । प्रचण्ड र माधव नेपाल संगको सहकार्यका बिषयमा देउवालाई पार्टी भित्रै चेपुवामा पार्ने भएपछि उनले प्रचण्ड संगको सहकार्य चांडै तोड्ने देउवा निकट एक नेताले बताए। मुस्किलले फागुन सम्म गठबन्धन चल्ने र त्यसपछि लथालिंग हुने ती नेताको भनाई छ।