आयोगले देउवा सरकारलाई च्याप्दै निकाल्यो यस्तो विज्ञप्ति, चुनावको मिति तोक्न दियो दबाब

  • प्रकाशित मिति : २०७८ माघ ११, मंगलवार
  • chhanbin.com

निर्वाचन आयोगले स्थानीय तह चुनावको मिति यथाशीघ्र तोक्न सरकारलाई आग्रह गरेको छ । आयोगका प्रवक्ता सहसचिव शालिग्राम शर्मा पौडेलले प्रेस विज्ञप्ति जारी गर्दै यथाशीघ्र चुनावको मिति तोक्न आग्रह गरेको जनाएका छन् ।

‘वर्तमान संवैधानिक एवं कानूनी व्यवस्थाको आधारमा स्थानीय तहको निर्वाचनको मिति तोक्ने काम जति विलम्ब हुँदै जान्छ, त्यति नै निर्वाचन व्यवस्थापनको कार्य व्यावहारिक एवं प्राविधिक कारणले जटिल बन्दै जान्छ भन्ने तथ्यलाई दृष्टिगत गरी स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ४ को उपदफा (१) बमोजिम आयोगको परामर्शमा आगामी स्थानीय तहको निर्वाचनको मिति यथाशीघ्र तोक्न नेपाल सरकारसमक्ष निर्वाचन आयोग आग्रह गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ ।

२०७९ वैशाख मसान्तभित्रै स्थानीय तहको निर्वाचन सम्पन्न गर्न तयारी अवस्थामा रहेको आयोगले जनाएको छ । स्थानीय तहका सबै निर्वाचित पदाधिकारीको कार्यकाल आगामी २०७९ जेठ ५ गते समाप्त हुने आयोगले जनाएको छ ।

विज्ञप्तिमा उल्लेख छ, ‘स्थानीय तहको निर्वाचन २०७४ वैशाख ३१ गते पहिलो चरण, असार १४ गते दोस्रो चरण र असोज २ गते तेस्रो चरणमा सम्पन्न भएकोेमा पहिलो चरण २०७४ वैशाख ३१ गतेलाई आधार मानी स्थानीय तह निर्वाचन ऐन २०७३ को व्यवस्था बमोजिम स्थानीय तहका सबै निर्वाचित पदाधिकारीहरूको कार्यकाल आगामी २०७९ जेठ ५ मा समाप्त हुने भएकाले स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ४ को व्यवस्था बमोजिम स्थानीय तहको कार्यकाल समाप्त हुनुअगावै स्थानीय तहको निर्वाचन गर्न आयोगका पदाधिकारीहरूद्वारा सम्माननीय प्रधानमन्त्री श्री शेरबहादुर देउवाज्यूलाई पहिलो पटक मिति २०७८ कात्तिक ८ गते भेटी स्थानीय तहको आगामी निर्वाचनका सम्वन्धमा भएका संवैधानिक तथा कानूनी ब्यवस्था बारेमा जानकारी गराइएको र दोस्रोपटक मिति २०७८ पुस ९ गते भेटी स्थानीय तहका निर्वाचित पदाधिकारीहरूको पदावधि सम्बन्धी व्यवस्थाको बारेमा जानकारी गराई मिति २०७९ वैशाख १४ गते बुधवारका दिन एकै चरणमा स्थानीय तहको निर्वाचन गर्ने गरी मिति तोक्न प्रस्ताव गरिएको र यदि कुनै कारणबाट एकै चरणमा निर्वाचन गर्न सम्भव नभएमा पहिलो चरण मिति २०७९ वैशाख १४ गते बुधवार र दोस्रो चरण २०७९ वैशाख २२ गते बिहीवार गर्ने गरी २ चरणमा निर्वाचन गर्न उपयुक्त हुने भनी प्रस्ताव गरिएको व्यहोरा विदितै छ ।’

स्थानीय तहको निर्वाचन व्यवस्थापनका लागि कानूनतः आयोगलाई सामान्यतया १२० दिन निर्वाचन अवधि आवश्यक पर्ने भएकाले स्थानीय तहको निर्वाचनलाई लक्षित गरी मतदाता नामावली संकलन, मतदानस्थलको पुनरावलोकन र निर्धारण तथा निर्वाचन सम्पन्न गर्न आवश्यक अन्य पूर्व तयारीका कार्यहरू निरन्तर गरिरहेको हुँदा आयोगले प्रस्ताव गरे अनुसार निर्वाचनको मिति तोकिएमा २०७९ वैशाख मसान्तभित्रै स्थानीय तहको निर्वाचन सम्पन्न गर्न आयोग तयारी अवस्थामा रहेको विज्ञप्तिमा उल्लेख छ ।