आयोग शिक्षकको लिखित परीक्षा र अन्तर्वार्ता मात्रै लिएर प्रयोगात्मक परीक्षा किन लिदैन ?

  • प्रकाशित मिति : २०७८ माघ १०, सोमबार
  • chhanbin.com

शिक्षक सेवा आयोगले यसपटक पनि शिक्षकको लिखित परीक्षा र अन्तर्वार्ता मात्रै लिने भएको छ । आयोगको नियमावली १०औँ संशोधनमा लिखित परीक्षा र अन्तर्वार्तासँगै प्रयोगात्मक परीक्षा लिने प्रावधान छ । तर, आयोगले यसपटक पनि आयोगले प्रयोगात्मक परीक्षा नलिने भएको छ ।

शिक्षक सेवा आयोगका प्रवक्ता सुदर्शन मरहट्ठाका अनुसार, आवश्यकता नभएकै कारण आयोगले परीक्षा नलिने भएको हो । ‘अहिलेसम्म आयोगले शिक्षकको प्रयोगात्मक परीक्षा लिएको छैन । नियमावलीमा लेखिए पनि आवश्यकता नदेखिएकाले परीक्षा नलिइएको हो,’ उनले भने ।

आयोगका अध्यक्ष मधुप्रसाद रेग्मीकाअनुसार, प्रयोगात्मक परीक्षा आवश्यकता हेरेर मात्र लिने गरिएको छ । ‘प्रयोगात्मक’ विषयमा शिक्षकहरू आवश्यक परेको अवस्थामा मात्रै आयोगले प्रयोगात्मक परीक्षा लिने गरेको उनले बताए । ‘कहिलेकाहीँ सीप चाहिने, धातुको कला सिकाउने, कृषिमा काम हेर्ने जस्ता शिक्षक आवश्यक परेका बेला प्रयोगात्मक परीक्षा लिने हो,’ रेग्मीले भने, ‘नियमावलीले लिनैपर्छ भनेर भनेको छैन, चाहेको अवस्थामा लिन सकिनेछ भनेको हो । जस्तो साधारण धातुको काममा २० वटा शिक्षक चाहियो भन्यो भने हामी प्रयोगात्मक परीक्षा लिन्छौँ ।’

शिक्षाविद् विद्यानाथ कोइराला गुणस्तरीय शिक्षक निकाल्न पनि प्रयोगात्मक परीक्षा आवश्यक पर्ने बताउँछन् । निश्चित व्यक्तिको स्वार्थले आयोग चलेकाले प्रयोगात्मक परीक्षा लिन आनाकानी गरिएको उनको आरोप छ । फिल्डमा गएर आफूले गर्नुपर्ने कामको अनुभूति गराउनकै लागि प्रयोगात्मक परीक्षाको परिकल्पाना गरिएको उनी बताउँछन् ।

‘फिल्डमा गएर आफूले गर्नुपर्ने कामको अनुभूति गराउन पनि यस्तो परीक्षा लिइन्छ । तर, प्रयोगात्मकको त कुरै छोडौँ, टिचिङ प्राक्टिस समेत सम्झौतामा मिलाउन थालेका छन् । अनि कहाँबाट निस्कन्छन् गुणस्तरीय शिक्षक ?,’ कोइरालाले भने ।

शिक्षाविद् बालाचन्द्र लुइँटेल परीक्षार्थी शिक्षकले पढाएको भिडियो नै मगाएर जाँच गर्न सकिने बताउँछन् । शिक्षक छनोट गर्दा प्रयोगात्मक परीक्षा अत्यावश्यक रहेको भन्दै उनले भिडियोमार्फत शिक्षकको जाँच गर्न सकिने बताए ।

कर्मचारी बढुवाका लागि आवश्यक नभए पनि पहिलोपटकको परीक्षामा भने प्रयोगात्मक परीक्षा अनिवार्य गराउनुपर्ने लुइँटेल बताउँछन् । ‘यस्तो महत्त्वपूर्ण कुरालाई आयोगले बेवास्ता गरिरहेको छ । सायद झन्झटिलो छ भनेर पनि होला । तर, झन्झटिलो भनेर पन्छिन मिल्दैन,’ उनले भने, ‘काम गर्न गाह्रो भए पनि असम्भव चाहिँ छैन ।’

साउथ कोरिया, फिनल्याण्ड, जापान, सिंगापुरजस्ता शैक्षिक विकास राम्रो भएको देशमा प्रयोगात्मक परीक्षाको राम्रो व्यवस्था रहेको लुइँटेलले बताए । तर, नेपालमा भने शिक्षक छान्ने प्रक्रिया नै गतिलो नभएकाले शैक्षिक गुणस्तर सोचेजस्तो उकालो लाग्न नसकेको उनी बताउँछन् ।

‘हाम्रोमा कक्षाकोठामा गएर पढाउने भन्दा पनि आफूलाई लागेको कुरा सुनाएर आउने हो भन्ने बुझाइ अधिकांश शिक्षकमा छ । प्रयोगात्मक परीक्षा हुँदा पनि त्यसैगरी कर्मकाण्डी मात्र गर्लान् भन्ने चिन्ता छ,’ लुइँटेलले भने, ‘तैपनि कसैले शिक्षकको परीक्षा दिँदै छ भने उसले विद्यार्थीलाई कसरी ‘इन्गेज’ गराउँछ, शिक्षण सिकाइका लागि कत्तिको अब्बल छ जस्ता कुरा त हेरिनुपर्छ ।’