सेयर बजारमा डरलाग्दो पहिरो जाँदा सोत्तर भएका यी हुन् दर्जनौ कम्पनी

  • प्रकाशित मिति : २०७८ माघ १०, सोमबार
  • chhanbin.com

सेयर बजारमा भीषण पहिरो गएको छ । आइतबार १० अंकले घटेको नेप्सेमा आज एकैदिन १०० अंकले घटेको हो । आज सूचकमा भारी गिरावट आए पनि कारोबार रकममा भने बढोत्तरी आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम झन्डै २ अर्बले बढेर पौने ९ अर्ब पुगेको छ ।

सोमबार नेप्से ९९.८६ अंकले घटेर २८२०.६६ विन्दुमा आइपुगेको छ । आज २२८ कम्पनीको ८ अर्ब ८८ करोड ८५ लाख १३ हजार १७८ रुपैयाँ बराबरको १ करोड ७० लाख ६३ हजार ८३३ कित्ता सेयर किनबेच भएको छ । आज कारोबारमा आएका १३ वटै समूहको परिसूचक राताम्मे भएको छ । विकास बैंक सबैभ्न्दा धेरै ४.५० प्रतिशतले घटेको छ । त्यस्तै, फाइनान्स र हाइड्रोपावर समूह पनि ४ प्रतिशतभन्दा धेरैले घटेको छ ।

आज कारोबार भएका २२८ कम्पनीमध्ये जम्मा ८ कम्पनीको सेयर मूल्य बढेको छ भने २१७ कम्पनीको घटेको छ । ३ कम्पनीको मूल्य स्थिर रहेको छ । आज अपी पावरको सर्वाधिक कारोबार भएको छ । यसको ३८ करोड बढीको सेयर किनबेच भएको छ । त्यस्तै, एनआइसी एशिया ३६ करोड र अरुण भ्याली ३० करोड बढीको कारोबार भई धेरै कारोबार हुने शीर्ष तीन कम्पनीमा रहे ।

तेहेरो अंकले घटेको बजारमा आज २ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । वीन नेपाल लघुवित्त र बुद्धभूमि नेपालको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ । घट्दो बजारमा आज कर्णली डेभलपमेन्ट बैंकका सेयरधनीले सबैभन्दा धेरै ७.८२ प्रतिशत गुमाएका छन् । त्यस्तै, माउन्टेन हाइड्रो, आशा लघुवित्त र ओरेन्टल होटलको सेयर मूल्य ७ प्रतिशतले घटेको छ ।

त्यसैगरी, सामलिङ पावर, सिनर्जी पावर, गणपति लघुवित्त, रिलायन्स फाइनान्स, सिंगटी हाइड्रो,ग्रीन लाइफ हाइड्रोपावर र राधी जलविद्युत्को सेयर मूल्य ६ प्रतिशतभन्दा धेरैले घटेको छ । त्यस्तै, नेपाल हाइड्रो, वरुण हाइड्रोपावर, युनाइटेड मोदी, ङादी पावर लगायत २ दर्जन कम्पनीको मूल्य ५ प्रतिशतले घटेको छ ।