हिंसा भड्काउने खाले अभिव्यक्ति दिएकी भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले सोमवार आफ्नो धारणा सार्वजनिक गरेकी छन् । आफ्नो अभिव्यक्तिको चौतर्फी आलोचना भएपछि उनले सोमवार प्रेस विज्ञप्ति जारी गर्दै धारणा सार्वजनिक गरेकी हुन् । उनले आफ्नो अभिव्यक्तिलाई पूर्वाग्रही ढंगले अपव्याख्या गरेको आरोप लगाएकी छन् ।
‘मैले दिएको अभिव्यक्ति कसैप्रति लक्षित, कुनै पूर्वाग्रह वा दुरासयपूर्ण मानसिकताबाट नभई आपसी मुडभेड नगर्न वा हुन नदिन, कुनै हिंसात्मक गतिविधि हुनबाट जोगाउन र शान्तिपूर्ण विधि प्रक्रियाबाटै राजनीतिक गतिविधि गर्ने अभिव्यक्तिलाई पछिल्लो समय विभिन्न माध्यमहरूद्वारा कसै–कसैले पूर्वाग्रहपूर्ण ढंगले आ–आफ्नो तरिकाले अपव्याख्या गरेको प्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा उनले भनेकी छन् ।
साथै उनले आफूले कसैप्रति हिंसाको प्रयोग नगर्ने र कसैलाई उत्तेजित पार्न नभएको पनि दाबी गरेकी छन् । आफ्नो अभिव्यक्ति कसैप्रति लक्षित नभए पनि त्यस्तो भ्रम पर्न गएकोमा दुःख व्यक्त गर्दै उनले यसप्रति आगामी दिन सचेत रहने बताइन् । आफ्नो अभिव्यक्तिलाई सामान्यरुपमा लिन पनि अनुरोध गरेकी छन् । ‘बलिदानी दिवस’को अवसरमा रौतहटमा आयोजित सभालाई सम्बोधन गर्ने क्रममा उनले सीके राउतप्रति लक्षित गर्दै ‘गौर नरसंहार’ दोहोर्याउने अभिव्यक्ति दिएकी थिइन् ।