एनएमबी बैंकले खुद नाफा कति बढायो ? यस्तो छ बैंकले आज सार्वजनिक गरेको तथ्यांक

  • प्रकाशित मिति : २०७८ माघ १०, सोमबार
  • chhanbin.com

एनएमबी बैंकको खुद नाफामा सामान्य सुधार आएको छ । बैंकले सोमबार सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार गत वर्षको सोही अवधिको तुलनामा खुद नाफा ६.०४ प्रतिशतले बढेको छ ।

बैंकले चालु आवको पुस मसान्तसम्ममा १ अर्ब ७१ करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा १० करोड रुपैयाँ बढी हो । गत वर्ष दोस्रो त्रैमाससम्म बैंकले १ अर्ब ६१ करोड ३९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । संचालन मुनाफा बढे पनि खुद ब्याज आम्दानी घट्दा बैंकको नाफामा दबाब पुगेको हो।समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ५.३७ प्रतिशतले घटेर २ अर्ब ७१ करोडमा सीमित भएको छ । बैंकको सञ्चालन मुनाफा भने ५.३८ प्रतिशतले बढेको छ ।

१८ अर्ब ३६ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको समीक्षा अवधिसम्म वितरणयोग्य मुनाफा ८७ करोड ४१ लाख रुपैयाँ रहेको छ। समीक्षा अवधिसम्म बैंकको जगेडा कोषमा ६ अर्ब ७५ करोड रुपैयाँ सञ्चित छ। पुस मसान्तसम्म बैंकले १ खर्ब ८१ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ७२ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ ।

खुद नाफा बढे पनि बैंकको प्रतिसेयर आम्दानी १.१३ रुपैयाँ घटेको छ । गत वर्ष १९.७७ रुपैयाँ रहेको बैंकको प्रतिसेयर आम्दानी घटेर १८.६४ रुपैयाँमा झरेको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १३६.८० रुपैयाँ, मूल्य आम्दानी अनुपात १८.९४ गुणा, खराब कर्जा १.४९ प्रतिशत, आधारदर ८.५८ प्रतिशत र स्प्रेडदर २.६४ प्रतिशत छ ।