शिक्षकलाई पाठ्यक्रममा मात्र नबाँधी यसरी पढाउन प्रोत्साहित गर्नुपर्छ

  • प्रकाशित मिति : २०७८ माघ ८, शनिबार
  • chhanbin.com

शिक्षकलाई पाठ्यक्रममा मात्र नबाँधी उसका दखल र रुचिका विषय समेत समेटेर पढाउन प्रोत्साहित गर्नुपर्छ। प्रायः स्कूलमा शिक्षकको क्षमताको मापक भनेकै विद्यार्थीको उत्तीर्ण दरलाई बनाइने गरेको छ। जुन विषयमा धेरै विद्यार्थी अनुत्तीर्ण हुन्छन्, त्यसका शिक्षकको कामै नभएको भन्दै मनोबल गिराइन्छ। यसले गर्दा शिक्षक आत्मविश्वास गुमाई मानसिक तनावमा पर्छन्।

हरेक शिक्षकमा भिन्नाभिन्नै ज्ञान र खूबी हुन्छ। त्यस्तो प्रतिभा शैक्षिक विषयले नभई जीवनका भोगाइ र अनुभवले पनि दिएका हुन्छन्। कुनै वेला विद्यार्थी नै रहेका उनीहरू विभिन्न अतिरिक्त क्रियाकलापमा संलग्न भएका हुन्छन्।

मानौं, गणित विषय पढाउने शिक्षकको रुचि घुमफिरमा हुन सक्छ। उसले विभिन्न ठाउँ अवलोकन गरेर नयाँ कुरा जानेको हुन्छ। तर, पेशागत दृष्टिले उसबाट केवल एउटै कुराको अपेक्षा गरिन्छ- कक्षाकोठामा जाने र सम्बद्ध विषय पढाउने।

विद्यार्थीलाई उसले आफ्ना भ्रमण अनुभव सुनाउन थाले पढाउन अल्छी गरेको ठानिन्छ। तर, उसले कक्षामा यदाकदा विषयान्तर भएर अतिरिक्त कुरा सुनाउँदा गणित विषयमा चासो नभएका विद्यार्थीलाई त्यसप्रति चासो बढाउन सहायक हुन सक्छ। पाठलाई घुमफिरसँग जोडेर बुझाए घुमफिरमै रुचि रहेको विद्यार्थीले त्यसलाई टपक्कै टिप्न सक्छ।

विज्ञान पढाउने शिक्षकलाई सङ्गीत मन पर्न सक्छ। उसमा गीत लेख्ने, गाउने, बाजा बजाउने कला हुन सक्छ। त्यो कला कक्षाकोठामा प्रस्तुत गर्न पाए शिक्षक त खुशी हुन्छन् नै, विद्यार्थीले पनि रमाइलो महसूस गर्नेछन्। गीतका माध्यमले पाठ बुझाउनु अझ प्रभावकारी हुन सक्छ।

म अङ्ग्रेजी विषय पढाउँछु, तर मलाई लेख्न-पढ्न, अन्तर्वार्ता लिन र भिडिओ बनाउन मन पर्छ। एकोहोरो पढाउन मात्रै परेको र आफ्नो रुचिका कुरा गर्न नपाएको भए म निराश हुने थिएँ। हो, शैक्षिक विषय त राम्ररी पढाउनै पर्छ, तर त्यसो भन्दैमा शिक्षकलाई उसको प्रतिभा प्रस्तुत गर्न नदिइए ऊ निसासिसिन्छ। ऊ खुशी हुन सकेन भने विद्यार्थीमाझ पनि राम्ररी प्रस्तुत हुन सक्दैन। एउटा कक्षाकोठा रमाइलो हुनु, विद्यार्थी खुशी हुनुसँग शिक्षकको मनोभावले पनि सम्बन्ध राखिरहेको हुन्छ।

सामाजिक विषय पढाउने शिक्षकलाई चेस खेल्न मन पर्न सक्छ। उसले चेस खेलकै माध्यमबाट विद्यार्थीलाई सामाजिक विषय बुझाउन सक्छ भने त्यसबाट किन वञ्चित गर्ने?

कतिपय शिक्षकलाई फेशन डिजाइन मन पर्छ। कोही पाककला, कोही नृत्य, कोही पौडी, कोही तेक्वान्दो त कोही राजनीतिक विषयमा निपुण हुन्छन्। उनीहरूलाई सम्बद्ध शैक्षिक विषयमा आफूमा रहेको अतिरिक्त प्रतिभा मिसाएर पढाउन प्रोत्साहित गर्नुपर्छ। यसले विद्यार्थीलाई व्यावहारिक ज्ञान पनि दिन्छ।

म विद्यार्थी छँदा शिक्षकले राजनीतिका कुरा पनि जोडेर पढाइदिएको भए आज राजनीतिलाई हेर्ने र बुझ्ने मेरो दृष्टिकोण फराकिलो हुन्थ्यो कि! देश चलाउन नीति-नियम र कानून आवश्यक हुन्छ। त्यस्तो नीति-नियम बनाउने भनेकै राजनीतिकर्मीले हो। यस्तो उपयोगी कुरा स्कूले जीवनमै जान्नु कसरी गलत हुन्छ?

कुनै विद्यार्थी सन्तोष साह जस्तो विश्वविख्यात ‘सेफ’ बन्न चाहन्छ भने उसलाई त्यसतर्फ प्रोत्साहित किन नगर्ने? यसरी शिक्षकका अतिरिक्त प्रतिभालाई कक्षाकोठामा लैजान सकिए विद्यार्थीले पनि अतिरिक्त ज्ञान पाउँछन्। यसले उनीहरूलाई भविष्यको बाटो पहिल्याउन समेत सजिलो भइदिन्छ।

(टिच फर नेपालका अल्मुनाई उद्दीन उपल्लो डोल्पाको धो तरापस्थित क्रिस्टल माउन्टेन स्कूलमा पढाउँछन्।)