लोकतन्त्र प्राप्तिका लागि ठूलो त्याग, तपस्या र योगदान गरेका नेपाली कांग्रेसका दिवङ्गत नेताका पुत्रहरूलाई महाधिवेशन प्रतिनिधिले भने अस्वीकार गरेको देखियो। देशकै पुरानो राजनीतिक दल कांग्रेसको चौधौं महाधिवेशनले केही स्पष्ट सन्देश प्रवाह गरेको छ। विगतको भन्दा पृथक् रहेको यस महाधिवेशन धेरै कोणले विशेष छ।
कांग्रेसले स्थापनाकालदेखि नै सभापतिलाई विशेष अधिकार दिंदै आएको थियो। पदाधिकारी र केन्द्रीय सदस्य मनोनयनदेखि जिम्मेवारी बाँडफाँडको सबै अधिकार सभापतिमा निहित थियो। दलभित्र पकड कायम गरी सरकारको नेतृत्वमा पुग्ने पुल बनाउन सभापति प्रणालीको विकास भएको थियो। तर, यस पटकको महाधिवेशनले सभापतिको नियन्त्रणमुखी संरचनामा सङ्कुचन गरेको छ। महाधिवेशनबाट कोषाध्यक्ष बाहेकका सम्पूर्ण पदाधिकारी निर्वाचित भएर आएका छन्।
प्रतिनिधि निर्वाचित गर्ने एकल अधिकार महाधिवेशन प्रतिनिधिलाई प्रदान गरेको कांग्रेसले लोकतान्त्रिक चरित्र आत्मसात् गरेको छ। सर्वसम्मतिका नाममा दलका प्रमुखले एकलौटी मनोनयन गर्ने, तथाकथित निर्वाचन गर्ने दलहरूका लागि कांग्रेसको यो कार्य सराहनीय छ। कांग्रेसको यस महाधिवेशनबाट अन्य दलले पनि धेरै पाठ सिक्न सक्नेछन्।
यस पटकको महाधिवेशनले कांग्रेसमा युवाहरूको नेतृत्वको विकास मात्र होइन, नेतृत्व तहमा उनीहरू स्थापित हुँदै गएको पुष्टि गरेको छ। महाधिवेशन प्रतिनिधिदेखि केन्द्रीय पदाधिकारी तथा सदस्यहरूको निर्वाचनमा सहभागी युवाहरूको उल्लेख्य सङ्ख्याले यसलाई पुष्टि गरेको छ।
मतदानको सङ्ख्या र अनुपातमा पनि पुराना र स्थापित भनिएका नेताहरू युवा नेताको छायामा परे। यसले दलको परम्परागत शैलीप्रति युवा मतदाताहरू असन्तुष्ट रहेको सङ्केत देखिन्छ।
निर्वाचित सभापतिसँग विचारका आधारमा पृथक् देखिएका तथा प्रत्याशी नेताको समेत केन्द्रीय समितिमा उत्साहजनक उपस्थिति छ। वैचारिक र प्रतिपक्षी प्रतिद्वन्द्वितालाई स्थापित हुने अवसर मतदाताले दिए। साथै, पुस्तान्तरण तथा रूपान्तरणको अजेन्डाले पनि स्थान पाएको देखिएको छ।
निर्वाचनको नतीजाले नेताहरूद्वारा अघि बढाइएको गुटगत राजनीतिलाई मतदाताले अस्वीकार गरेको प्रष्ट भएको छ। मतदाताहरूले गुट-उपगुट भन्दा पनि बौद्धिक क्षमता, सैद्धान्तिक निष्ठा, सामाजिक ख्याति र व्यक्तिगत क्षमताका आधारमा मतदान गरे। मत परिणामले निर्वाचित सभापतिलाई निर्बाध रूपमा दल परिचालन गर्न र सुधारका अजेन्डामा बहस गराउने सशक्त स्थिति बनाइदिएको छ।
मत परिणाम पनि अत्यन्तै सन्तुलित छ। सबै पक्षको प्रतिनिधित्व केन्द्रीय समितिमा देख्न सकिन्छ। जहाँ सभापति शेरबहादुर देउवा, सभापतिको प्रत्याशीसम्म बन्ने अवसर नपाई कुण्ठित भएका वरिष्ठ नेता रामचन्द्र पौडेल, वरिष्ठ नेताले कनिष्ठ भन्दै समर्थनमा खुल्न नसके पनि कार्यकर्ताका बीचमा लोकप्रिय शेखर कोइराला, शक्ति सन्तुलनको राजनीतिमा सधैं मध्यमार्गी भूमिका निर्वाह गर्दै देउवालाई समर्थन गर्दै आएका कृष्ण सिटौलासम्मको उपस्थिति छ।
सुधारोन्मुख नीति तथा कार्यक्रम ग्रहण गर्नुपर्ने बाध्यता नेतृत्व तहमा छ। साथै, लोकतान्त्रिक समाजवाद र राष्ट्रियताका पक्षमा जुट्नुपर्ने सन्देश पनि महाधिवेशनले दिएको छ। नेपालका प्रायः सबै राजनीतिक दलका नेतृत्व तहमा रहेकाहरू दलभित्र पकड र नियन्त्रण जमाई त्यसैका आधारमा सरकारमा पुग्ने, शक्ति आर्जनका लागि सौदाबाजी गर्ने र त्यसैका आधारमा आफूप्रति समर्पित झुण्ड तयार पार्ने प्रवृत्तिमा अभ्यस्त छन्। त्यसमा कांग्रेस पनि अपवादमा पर्दैन।
नीति, सिद्धान्त र कार्यदिशालाई गौण आकलन गर्दै गुटगत राजनीतिलाई मात्र प्रश्रय दिने स्थिति दलभित्र कायम रहेको अवस्थामा यस पटक पनि गुटगत राजनीतिले निरन्तरता पाएकै हो। तर, अबका दिनमा गुटगत राजनीतिले राम्रो गर्दैन भन्ने सङ्केत पनि यस महाधिवेशनले दिएको छ।
गुटगत राजनीतिको पराकाष्ठाका रूपमा छोटो अवधिमा दलभित्र तरक्की गर्ने, पार्टीको आदर्श र सिद्धान्तप्रति खासै आकर्षण नभएकाहरूको घुसपैठबाट दलको राजनीति नै प्रदूषित बन्दै जाने अवस्था थियो। यसबाट लामो समय दलभित्र योगदान गरेका, समर्पित, निष्ठावान् र इमानदार कार्यकर्ता विचलित हुँदै गएको अवस्थामा मतदाताले आफ्नो अधिकारको सदुपयोग गर्ने क्रम देखिएको छ। यस पटक गुट-उपगुटको अस्वस्थ प्रतिस्पर्धा गर्दै अघि बढ्ने राजनीतिलाई मतदाताले मन पराएको देखिएन।
महाधिवेशनमा दलका राजनीतिक, सामाजिक र आर्थिक नीति के कस्ता हुनेछन्? पार्टीको कार्यदिशा, भावी कार्यक्रमबारे यो महत्त्वपूर्ण भेलाले निर्णय दिनुपर्नेमा यस प्रकारका प्रस्तावहरू पेश नै भएनन्। यसलाई स्पष्ट गर्न सकेको भए निर्वाचनको नतीजा पृथक् हुन सक्थ्यो।
देशमा व्याप्त भ्रष्टाचार, दण्डहीनता, कानूनी शासनमा हुँदै गरेको समझदारी, राज्यका संयन्त्रमा हुँदै गरेको अस्वस्थ राजनीतिक प्रतिस्पर्धा, गणतन्त्र, संघीयता, धर्मनिरपेक्षताबारे समग्र दलको धारणा, प्रत्याशी उम्मेदवारहरूले नेतृत्वमा पुग्दा गर्ने सुधार लगायत विषयमा स्पष्ट हुन सकेनन्।
संस्थापन पक्षमा मात्र सभापतिको उम्मेदवार धरै पहिलेदेखि निश्चित गरिएको थियो। संस्थापन इतर पक्ष मतदानको समयसम्म आइपुग्दा समेत आफ्ना तर्फबाट को उम्मेदवार हुने भन्ने निश्चित थिएन। वरिष्ठ नेता नै आफूले उम्मेदवारी दिने अवस्था नबनेपछि पूर्ण रूपमा निष्क्रिय रहे। यसबाट मतदाताले कसलाई कुन अजेन्डाका आधारमा समर्थन गर्ने हो? निर्णय लिन द्विविधामा परे।
अग्रगामी अजेन्डालाई सिद्धान्ततः अवलम्बन गर्न पुगेकालाई सम्मानजनक मत प्राप्त हुन पुगेको हो। तसर्थ, अजेन्डा, नीति, कार्यक्रमका आधारमा दलीय राजनीति गर्न मतदाताले आदेश दिएका छन्।
महाधिवेशनले देशमा लोकतन्त्र प्राप्तिका दिशामा ठूलो योगदान त्याग र तपस्या गरेका दिवङ्गत नेताहरूका खासै कार्य सम्पादन गर्न नसकेका पुत्रहरूलाई अस्वीकार गरेको देखियो। देश र सम्पूर्ण लोकतन्त्रप्रेमीहरूका आस्थाका पूँजीका रूपमा रहेका नेताहरू बीपी, गणेशमान, महेन्द्रनारायण निधिहरू संस्थाकै रूपमा पूजनीय र सम्मानित छन्। तर, पुत्रहरू आफ्नो परिवारमा सीमित रहेको देखियो। उनीहरूका कदमलाई मतदाताले स्वीकार गरेनन्।
उनीहरूले श्रद्धेय नेताहरूलाई राष्ट्रकै गौरवका रूपमा स्वीकार गरे। पिताजीको योगदानका आधारमा नेता बन्ने होइन, आफ्नो योगदान र क्षमताको प्रदर्शन गर्दै मतदाता समक्ष प्रस्तुत हुन आदेश लोकतन्त्रवादी मतदाताले दिए। विमलेन्द्र निधि र प्रकाशमान सिंहले प्राप्त गरेको मतले यही सन्देश दिएको छ। वैचारिक अडानलाई अल्प अवधिमा परिवर्तन गर्ने शैलीलाई मतदाता र आम नेपालीले मन नपराएको सङ्केत हो यो।
एक दिनको अन्तरालमा आफ्नो अडान र समर्थनमा पृथक् ढङ्गले प्रस्तुत भएका नेताहरूको कडा आलोचनामा देशका बौद्धिक जगत् र नागरिक उत्रिए। यसबाट यी नेताहरूको राजनीतिक उचाइमा सङ्कुचन आएको अवस्था छ।
यी नेताहरूलाई मतदाताले आफैंमा सुधार ल्याउन कार्यादेश सहितको अवसर दिएका हुन्। समग्र दलभित्र लामो समयदेखि सत्ता र शक्तिमा रहेका, दलभित्र आफ्नो वर्चस्व सधैं कायम राखेका, पारिवारिक पृष्ठभूमिका आधारमा अकण्टक प्रभावी देखिएकाहरूलाई निश्चित आकारमा सङ्कुचन गराइदिने कार्य मतदाताले गरेका छन्।
हिजोको अवस्थामा मानसिक दबाबमा रहेका, नेताहरूले खासै नपत्याएकाहरू आज आफ्नै नेताहरूको भन्दा उपल्लो उचाइमा स्थापित भएका छन्। यसबाट दलभित्र नयाँ रक्तसञ्चार हुने परिस्थिति सिर्जना भएको छ।
आफूलाई दलभित्र ठूला शीर्षस्थ नेताको हैसियतमा राख्न मन पराउनेहरू दलभित्र आफ्नो पकडलाई निरन्तरता दिन सक्ने सोच बनाएकाहरूलाई यस निर्वाचनको नतीजाले निराश बनाएको छ। निर्वाचनमा पराजितहरूलाई निर्वाचित निकायहरूमा मनोनयन गर्दै भूमिका प्रदान गर्ने कार्य लोकतान्त्रिक दलका लागि शोभनीय हुँदैन। यसरी भूमिकामा पुग्नेहरू कार्यकर्ताबीच स्वीकार्य समेत हुन सक्नेछैनन्। त्यसैले हिजो दल हाँक्नेहरू आज दलभित्र कुनै पनि भूमिकामा नदेखिने छन्।
वरिष्ठ नेताहरू पदीय हिसाबले कोही केन्द्रीय सदस्यमा मात्र खुम्चिई आफूभन्दा कनिष्ठलाई मतदाताले पदाधिकारी बनाइदिएकोमा मतादेशलाई सम्मान गर्नुको विकल्प उनीहरूसँग छैन। तसर्थ, दलले हालसम्म सम्पादन गरेको कार्य, निर्धारण गरेका नीति र कार्यदिशामा कार्यकर्ता पङ्क्ति सन्तुष्ट छैनन् भन्ने सन्देश प्रवाह भएको अर्थमा लिनुपर्ने हुन्छ।
नेपालको राजनीति गणितीय हिसाबले मात्र सञ्चालन गर्न खोजिएको छ। कांग्रेस पनि यसै शैलीमा अभ्यस्त छ। तर, सही नेतृत्वको विकास गर्न नीति, सिद्धान्त र विचार बोकेकाहरूलाई प्रश्रय प्रदान गर्नुपर्छ, उत्साहित गर्नुपर्छ।
विचार, सिद्धान्त र राजनीतिप्रति निष्ठा हुनेले मात्र राजनीतिक नेतृत्व दिन सक्छ। देशलाई सही दिशामा अभिमुख बनाउन सफल हुन्छ। कांग्रेसको आस्था र सिद्धान्त के थियो? कुन अवस्थामा दल गुज्रिएको छ? भावी रणनीतिहरू कस्ता हुनुपर्ने हुन्? यसको निर्धारण त्यागी समर्पित, सिद्धान्तनिष्ठ नेताले मात्र गर्न सक्छन्। नेतृत्व सबल र सक्षम नहुँदा समग्र कार्यकर्तामा नैराश्य जाग्छ। वर्तमान समयमा राज्यका सबै निकायमा चरम नैराश्य छाएको छ। यस अवस्थामा सुधार ल्याउने अहं दायित्व कांग्रेसको हो, किनभने यो दल विगतदेखि नै नेपाली राजनीतिको मियोका रूपमा स्थापित छ।
लोकतान्त्रिक शक्तिका रूपमा रहेको यस दलका नेताहरू जे जस्ता भए पनि एउटा ठूलो तप्काले कांग्रेसलाई लोकतान्त्रिक दलका आधारमा अगाध श्रद्धा र विश्वास गरेका छन्। असल नेतृत्व दिशाहीनताको एक मात्र निकास हो। सशक्त, प्रजातान्त्रिक, राजनीतिक शक्ति र त्यसका हातमा मुलुकको बागडोर र मुलुकलाई हाँक्ने बलियो सिद्धान्त भएको प्रतिबद्ध नेता मुलुकलाई चाहिएको छ। यस्तो नेतृत्वलाई पार्टी पङ्क्तिले विश्वास गर्छ, शक्ति प्रदान गर्छ, उसका आदेश, निर्देशन, नीति तथा कर्यदिशालाई स्वामित्वभाव राख्छ।
नव निर्वाचित सभापतिमा सबैलाई समेटेर लैजान सक्ने क्षमता छ। साथै, युवा र उत्साही पदाधिकारी एवं सदस्यहरूको साथ र सहयोग पनि प्राप्त भएको छ।
शेखर कोइरालाले भागबण्डाको राजनीतिमा विश्वास नगर्ने, गुट-उपगुट नबनाउने, असल कार्यका लागि सभापतिलाई साथ-सहयोग रहने तर गलत कार्यलाई प्रोत्साहन नदिने प्रतिबद्धता व्यक्त गरेकाले पनि वातावरण सहज छ। नव निर्वाचित केन्द्रीय कार्यसमिति र सभापति दुवैका लागि अवसर पनि हो। यस अवसरको सदुपयोग गर्दै लोकतन्त्रप्रेमी कार्यकर्ताको भावनालाई समेटी परिवर्तनको दिशामा समर्पित भई दललाई सञ्चालन गर्ने जिम्मेवारी सभापतिको काँधमा आएको छ। पार्टी सभापति देउवालाई यो ठूलो चुनौती र आफ्नो नाम इतिहासमा दर्ज गर्ने सुअवसर पनि हो।
लेखक श्यामप्रसाद मैनाली नेपाल सरकारका पूर्व सचिव हुन्।