एमसीसी बारे सुझाव दिन माओवादीले कर्मकाण्डी पाराको कार्यदल बनायो, प्रचण्डले बोके तालाचाबी

  • प्रकाशित मिति : २०७८ माघ ८, शनिबार
  • chhanbin.com

नेकपा (माओवादी ) केन्द्रले मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे सुझाव दिन कार्यदल गठन गरेको छ । माओवादीको स्थायी समिति बैठकमा एमसीसी संसदबाट पारित नगर्न नेताहरुको चर्को दबाव छ ।

नेताहरुले त्यसमा प्रश्न उठाएपछि माओवादीले सुझावका लागी कार्यदल गठन गरेको हो । कार्यदलको सुझावका आधारमा माओवादीले एमसीसीबारे निर्णय गर्नेछ । माओवादी केन्द्र प्रवक्ता कृष्णबहादुर महराले पार्टीमा एमसीसीबारे चर्को प्रश्न उठेपछि कार्यदल गठन भएको बताए । उनले कार्यदलको सुझावपछि मात्र त्यसबारेमा निर्णय हुने जानकारी दिए ।

सत्ता साझेदार दल माओवादी केन्द्र एमसीसी अहिलेकै अवस्था पािरत गर्न नहुने पक्षमा छ । तर, प्रधानमन्त्री शेरबहादुर देउवा भने जतिसक्दो चांडो एमसीसी परित गर्ने पक्षमा छन् । त्यस्तै बैठकले स्थानीय तह, प्रदेश र संघीय निर्वाचन एकैपटक गर्नका लागि आवश्यक परामर्श गरेर वातावरण बनाउने निर्णय गरेको छ ।

आर्थिक मितव्ययीताका लागि तीनै तहको निर्वाचन एकैपटक गर्नुपर्नेमा आफ्नो पार्टीको धारणा रहेको र यसमा आवश्यक परामर्श गरिने प्रवक्ता महराले बताए ।

‘तीनवटै तहको चुनाव सकेसम्म कम खर्चमा एकैपटक कसरी गर्न सकिन्छ भनेर छलफल गर्ने भन्ने भएको छ । निर्वाचन आयोग, पत्रकार, बुद्धिजीवीहरूको रायअनुसार कानुनविद्सँग छलफल गरेर निष्कर्षमा पुगिने छ,’ उनले भने ।

यसअघि माओवादी अध्यक्ष प्रचण्डले सत्ता गठबन्धनको बैठकमा वैशाखमा संसदीय चुनाव गरेर संविधानको धारा २२५ अनुसार स्थानीय तहको चुनाव ६ महिनापछि अर्थात मंसिरमा गर्नुपर्ने प्रस्ताव राखेका थिए । तर शुक्रबारको गठबन्धनको बैठकमा भने उनको प्रस्तावमा छलफल भएन । स्थानीय तह निर्वाचन कहिले गर्ने तय गर्न कानुन विद्सँग परामर्श लिने निर्णय भएको थियो ।

यस्तै माओवादी बैठकले कोरोनाको ओमिक्रोन भेरियन्ट नियन्त्रणमा नआएसम्म तत्कालन जनपरिचालनको जिम्मेवारी पार्टी अध्यक्षलाई नै दिएको छ । साथै बाँकी रहेका संगठनात्मक कामहरू टुंग्याउने जिम्मा पनि पार्टी अध्यक्ष प्रचण्डलाई नै दिने निर्णय भएको प्रवक्ता महराले जानकारी दिए ।