‘बुस्टर डोज’ लगाउनु अघि ध्यान दिनुपर्ने कुरा के-के हुन् ?

  • प्रकाशित मिति : २०७८ माघ ६, बिहीबार
  • chhanbin.com

नेपालमा ‌ओमोक्रन भेरियन्ट फैलिएसँगै कोरोना भाइरसको संक्रमणदर दिनहुँ बढ्दो छ। त्यसैले पनि सरकारले संक्रमणको जोखिमलाई कम गर्न खोप अभियानलाई तीव्रता दिएको छ। साथै, माघ ७ गतेदेखि सरकारले सार्वजनिक निकाय र सार्वजनिक स्थलमा प्रवेश गर्न खोप कार्ड अनिवार्य गरिसकेको छ। जसकारण अस्पताल र खोप केन्द्रमा खोप लगाउन पुग्नेहरुको भिड छ।

यस्तै, सरकारले संक्रमणको जोखिम कम गर्न भन्दै ‘बुस्टर डोज’ पनि दिन सुरु गरिसकेको छ। सरकारले खोप कार्ड अनिवार्य गरेपछि र बुस्टर डोज दिइरहँदा सर्वसाधारणहरु खोप लगाउन तम्सिएका छन्। खोप अभियान संचालन भइरहँदा मौसमी परिवर्तनका कारण रुघाखोकी, घाँटी दुख्ने, ज्वरोका बिरामी पनि बढिरहेका छन्। र, यस्तो लक्षण देखिएकाहरुले परीक्षण पनि कम संख्यामा मात्रै गरिरहेका छन्। धेरैले अवस्थामा पनि खोप र बुस्टर डोजसमेत लगाइरहेका छन्।

कोरोना महामारीको दोस्रो लहरमा डेल्टा भेरियन्टको असर तीव्र हुँदा बैशाख २८ गते ९ हजार ४८३ संक्रमित थपिएका थिए। जुन महामारी फैलिएपछि कै सबैभन्दा धेरै थियो। हाल डेल्टाभन्दा पनि निकै संक्रामक मानिएको ओमोक्रन भेरियन्ट फैलिएपछि भने दैनिक संक्रमितको संख्याले रेकर्ड पार गरेको छ। बुधवार दोस्रो लहरको संक्रमण दरलाई उछिन्दै एकैदिन १० हजार २ सय ५८ जनामा संक्रमण पुष्टि भएको थियो। बुधवार भने ११ हजार ३५२ जनामा संक्रमण देखियो। संक्रमण दर ह्वात्तै वृद्धि भएपनि गम्भीर बिरामीको संख्या दोस्रो लहरमा भन्दा कम छ। जसकारण कारणले पनि सरकारले कोरोना भाइरसको ओमोक्रन भेरियन्ट फैलिनबाट रोक्न बुस्टर डोज लगाउन सबैलाई आग्रह गरिरहेको छ। तर, रुघा खोकी र ज्वरो आउनेहरुले नै खोप र बुस्टर डोज लगाउन सुरु गरेपछि भने स्वास्थ्य मन्त्रालयले सर्वसाधरणलाई सतर्कता अपनाउन आग्रह गरेको छ।

ओमोक्रन भेरियन्ट र रुखाघोकीका लक्षण मिल्दाजुल्दा हुने भएकाले निको भएपछि मात्रै खोप लगाउनु पर्ने स्वास्थ्य मन्त्रालयकी प्रवक्ता संगिता कौशल मिश्र बताउँछिन्। उनले लक्षण देखिएका बिरामीमा कोरोना संक्रमणसमेत हुन सक्ने भन्दै त्यस्तो अवस्थामा पहिला परीक्षण गर्न सुझावसमेत दिइन्।

‘बिरामी भएको अवस्थामा हामीले कुनै पनि भ्यासिन नलगाउन भनेर नै सल्लाह दिन्छौँ। अझ रुघाखोकी र कोरोनाको लक्षणहरु मिल्दो जुल्दो हुन्छन्। जसले गर्दा रूघाखोकी लागेको बेला खोप लगाउनु हुँदैन’ उनले भनिन्।

खोप केन्द्रमा भिड हुने भएकाले माथि उल्लेखित लक्षणहरु देखिएका व्यक्तिहरुमा छिट्टै भाइरस सर्ने वा अरुमा सार्न सक्ने सम्भावना हुने समेत उनले बताइन्। मन्त्रालयले लक्षण देखिएका व्यक्तिलाई पहिला परीक्षण गराउन आग्रहसमेत गरेका छ।

शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिट संयोजक डा. शेरबहादुर पुन पनि अस्वस्थ भएको अवस्थामा खोप लगाउन नहुने बताउँछन्।

दुबैका लक्षण मिल्दा जुल्दा हुने र परीक्षण बिना बिरामी पहिचान गर्ने नसकिने भएकाले रुघाखोकी पुर्णतया निको नभएसम्म खोप नलगाउन उनी सुझाउँछन्। साथै यस्ता व्यक्तिहरुले खोप केन्द्र जाँदा भिडभाडमा अरुमा संक्रमण सार्ने सम्भावना पनि बढी हुने डा. पुनको तर्क छ।

‘उच्च ज्वरो र रुघाखोकी आएको अवस्थामा खोप नलगाउँदा नै राम्रो हो। सामान्य व्यक्तिलाई पनि खोप लगाउँदा ज्वरो आउने र जिउँ दुख्ने समस्याहरु देखिएका छन्। अर्को स्वयम संक्रमित रहेछ भने पनि अरुलाई सार्ने सम्भावना बढी हुन्छ। सकेसम्म राम्रो नहुन्जेल नजानु नै राम्रो हो। बिरामी हुँदा कमजोर हुने भएकाले रुघाखोकी लागेको अवस्थामा खोप लगाउनु स्वास्थ्य सुरक्षाका हिसावले पनि राम्रो होइन्,’ उनले भने।