काठमाडौंको फोहोर व्यवस्थापन जटिल बन्दै गएको छ । कहिले वर्खाले बाटो बिग्रिँदा त कहिले स्थानीय, फोहोर व्यवस्थापन गर्दै आएका कर्मचारीले आन्दोलन गर्दा हप्तौसम्म सडकमै फोहोर थुप्रिने गरेको छ । हाल काठमाडौं उपत्यकाको फोहोर नुवाकोटको सिसडोल ल्याण्डफिल साइटमा व्यवस्थापन गरिँदै आएको छ ।
उक्त ल्याण्डफिल साइट पनि भरिएपछि त्यसको विकल्पमा बन्चरेडाँडामा ल्याण्डफिल साइट निर्माण भइरहेको छ । उक्त ल्याण्डफिल साइटको पहिलो फेजको काम सकिएर फोहोर व्यवस्थापन गर्न सक्ने भइसकेको छ । तर, सहरी विकास मन्त्रालय र काठमाडौं महानगरबीच समन्वय नहुँदा उक्त ल्याण्डफिल साइटमा फोहोर व्यवस्थापन हुन सकेको छैन ।
मन्त्रालयले पटकपटक महानगरलाई उक्त ल्याण्डफिल साइट हस्तान्तरण गर्न प्रयास गरे पनि महानगरले भने पूर्ण निर्माण नभई नबुझ्ने बताउँदै आएको छ । हाल बनिसकेको पहिलो खण्डमा फोहोर व्यवस्थापन गर्न सकिने भए पनि राजनीतिक प्रतिशोधका कारण ल्ण्याण्डफिल साइट हस्तान्तरण हुन नसकेको हो । महानगरका मेयर विद्यासुन्दर शाक्या नेकपा एमालेका र मन्त्री रामकुमारी झाँक्री नेकपा एकीकृत समाजवादी पार्टीकी हुन् ।
महानगर नेतृत्व र मन्त्रालय नेतृत्व फरक फरक पार्टीका भएकाले राजनीतिक प्रतिशोधका कारण महानगरले स्वामित्व ग्रहण गर्न आनाकानी गरेको मन्त्रालयका कर्मचारीहरु बताउँछन् । झाँक्री माधव नेपालको खास र शाक्य केपी ओलीको खास मान्छे भएकाले पनि ओली र माधवको छायाँका कारण तनाब बढेको मन्त्रालयका एक अधिकारीले बताए।
सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले बन्चरेडाँडा ल्याण्डफिल्ड साइट निर्माण सम्पन्न भएको बताएकी छन् । उनले ल्याण्डफिल्ड साइट अन्तर्गत पहिलो चरणको पूर्वाधारमा काठमाडौं महानगपालिकाको मात्र फोहोर फाल्न मिल्ने भएकाले उपत्यका भित्रका सबै फोहोर बन्चरेडाँडामा विशर्जन गर्न मिल्ने गरी काम अघि बढाइएको बताइन् ।
उनका अनुसार बन्चरेडाँडाको पहिलो चरणको पहिलो सेट पूरा भएको हो । उनले हाल महानगरपालिकाको फोहर मात्र विसर्जन गर्न मिल्ने भएकाले उपत्यका भित्रका २९३ नगरपालिकाहरुको फोहोर व्यवस्थापन गर्न मिल्ने गरी पूर्वाधार निर्माणको छलफल अघि बढाइएको बताइन ।
‘फोहोर खसाल्न मिल्ने भएको छ, सहरी विकास मन्त्रालयले १८ नगरपालिकालाई मात्र लक्षित गरी हैन उपत्यका भित्रका २९३ वटा नगरपालिकाको फोहोर फाल्न मिल्ने गरी टेक्नोलोजी विकासका लागि फोहोर मैला प्रयोग केन्द्र भनेर त्यसको अनुसन्धानका लागि हामीले सबै प्रकृया अघि बढाएका छौँ,’ मन्त्री झाँक्रीले भनिन् ।
बन्चरेडाँडा हस्तान्तरणलाई लिएर सहरी विकास मन्त्रालय र काठमाडौं महानगरबीच समन्वयन हुन सकेको छैन । सहरी विकास मन्त्रालयकी मन्त्री राम कुमारी झाँक्रीले काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दरलाई बारम्बार बन्चरेडाँडा हस्तान्तरण गर्न खोज्दा पनि उनी आउन नमानेको स्रोतले बताउँछ ।
भवन निर्माण विभागका महानिर्देशक पदमकुमार मैनालीले बन्चरेडाँडा ल्याण्डफिल्ड साइटको पहिलो चरण निर्माण पूरा भइसकेको बताउँछन् । उनले काठमाडौं महानगरपालिका अन्तर्गतका १८ नगरपालिकाको फोहोर विसर्जन हुन सक्नेगरी ल्याण्डफिल साइट निर्माण भइसकेको र आजै हस्तान्तरण गर्न सकिने बताए । ‘बन्चरेडाँडा ल्याण्डफिल्डको पहिलो सेटको निर्माण पूरा भइसकेको छ । महानगरपालिकाले चाहे भने भोलिबाटै फोहोर फाल्न मिल्ने गरी हस्तान्तरण गर्न सक्छौं,’ मैनालीले भने ।
यता महानगरले भने ल्याण्डफिल साइट पूर्ण रुपमा निर्माण सम्पन्न नभई नबुझ्ने बताएको छ । काठमाडौं महानगरपालिकाका सूचना अधिकारी वसन्त आचार्यले भने हालसम्म महानगरपालिकालाई हस्तान्तरणको काम नभएको बताए । उनले बन्चरेडाँडा ल्याण्डफिल्ड साइट निर्माण पूरा नभएकाले हालसम्म हस्तान्तरणको काम नभएको बताए । ‘महानगरलाई बन्चरेडाँडाको ल्याण्डफिल्ड साइट हस्तान्तरण भएको छैन, पूरा नभएको काम कसरी हस्तान्तरण हुन्छ, वातावरण शाखालाई मात्र बोलाएर दिएको भए थाहा भएन्,’ आचार्यले भने ।
निर्माण सम्पन्न नभई महानगरले स्वामित्व नलिने बताए पनि मन्त्री झाँक्री र महानगरपालिकाका मेयर बीच समन्वयन हुन नसक्दा हस्तान्तरणको काम औपचारीक रुपमा हुन नसकेको महानगरकै कर्मचारी बताउँछन् । ‘मन्त्री झाँक्रीले धेरै पटक मेयरलाई बोलाउनुभएको हो, राजनीतिक कारणले मेयर आफै भेट्न नमान्नु भएको भनेर मन्त्री ज्यूले आफै भन्नु भएको हो, बन्चरेडाँडाको सेट १ सकेर फोहोर फाल्न मिल्न तपाईंहरु आफ्नो व्यवस्थापन अनुसार संचालन गर्नु भनेर मौखिक कुराकानी चाहिँ भइसक्यो,’ महानगरका एक कर्मचारीले भने ।
उनका अनुसार राजनीतिक समन्वयन नहुँदा नेकपा एकीकृत समाजवादी पार्टीबाट सहरी विकास मन्त्रालयमा नियुक्त भएकी मन्त्री झाँक्री र एमाले पार्टीका विद्यासुन्दर साक्य बीच समन्वयन हुन नसकेको हो । विगतमा बारम्बार फोहोर मैला व्यवस्थापनका लागि बन्चरेडाँडा निर्माण सम्पन्न गर्ने मिति तोकिए पनि हालसम्म पूर्ण रुपमा पूरा भने हुन सकेको छैन । २०७६ पुष महिनाभित्र ल्याण्डफिल्ड साइट निर्माण पूरा गर्ने लक्ष्य राखिए पनि हालसम्म निर्माणले सोचे जस्तो गति लिन सकेको छैन ।
कोरोना भाइरसका कारण निर्माण कम्पनीको आलटालका कारण गति लिन नसकेको यो बन्चरे निर्माणले अब २९३ नगरपालिकाको फोहार व्यवस्थापनका लागि टेक्नोलोजी निर्माणको बाहाना पाएको छ ।तत्कालीन शहरी विकास मन्त्रालयका पूर्वमन्त्री कृष्णगोपाल श्रेष्ठले स्थलगत अवलोकनका क्रममा २०७७ मङ्सिर १५ गतेदेखि फोहर व्यवस्थापन गर्न मिल्ने गरी काम गर्न निर्माण कम्पनीलाई निर्देशन दिए ।
निर्माण भइरहेको बन्चरेडाँडा ल्याण्डफिल साइट नुवाकोट र धादिङको सिमानामा पर्दछ । काठमाडौँ महानगरपलिकाले केन्द्र सरकारले नै निर्माण गर्नुपर्छ भन्ने माग गरेपछि मन्त्रिपरिषद् बैठकले दीर्घकालीन फोहर व्यवस्थापनस्थल निर्माणको काम शहरी विकास मन्त्रालयलाई दिने निर्णयअनुरुप मन्त्रालयले उक्त जिम्मेवारी पाएको हो । करिब १५ मिटर अग्लो बाँध र अन्य पूर्वाधारसहितको फोहर विसर्जनस्थल निर्माण हुनेछ । बन्चरेडाँडामा स्यानिटरी ल्याण्डफिल साइट निर्माण गर्न २०७६ वैशाख २२ गते १ वर्षभित्र काम सम्पन्न गर्ने गरी लुम्बिनी कोशी एण्ड न्यौपाने जेभी (उपक्रम) सँग ठेक्का सम्झौता गरिएको थियो ।
३४ करोड ६८ लाख ७४ हजार ८९५ रुपैयाँ लगानीमा विसर्जन स्थल निर्माण गर्ने सम्झौता सहित सुरु भएको बन्चरेडाँडा निर्माणमा हालसम्म ४० करोड रुपैयाँ हाराहारी खर्च भइसकेको छ । निर्णयानुसार बाँध निर्माणको काम शहरी विकास मन्त्रालयले गर्ने र विसर्जनस्थलसम्म जाने बाटो निर्माणको काम सडक विभागलाई दिइएको छ । निर्माणाधीन अवस्थामा रहेको बन्चरेडाँडा ४० वर्षसम्मको फोहोर व्यवस्थापनको समाधान भएको सहरी विकास मन्त्रालयको निष्कर्ष छ । त्यस क्षेत्रमा दुईवटा फोहोर फाल्ने पोखरी (सेल वान र टु) तयार भइसकेका छन् । एउटा पोखरीमा कम्तीमा पनि २० वर्षसम्म फोहोर फाल्न मिल्नेछ ।
१४ वर्षदेखि नुवाकोटको सिस्डोलमा उपत्यकाकाको १८ स्थानीय तहको फोहर विसर्जन गरिँदै आएको छ । उपत्यकाबाट दैनिक करिब १ हजार मेट्रिक टन फोहर निस्कन्छ । सबैभन्दा बढी फोहोर काठमाडौं महानगरपालिकाबाट निस्कने गरेको छ । काठमाडौँ उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहरमध्ये करिब ७५ प्रतिशत सिस्डोलमा व्यवस्थापन गरिँदै आएको छ । हरेक दिन उपत्यकाबाट निजी र कामपाको गरी २०० गाडी फोहर लगिने गरिएको छ । वर्षेनी उपत्यकामा वर्खाका समयमा सिस्डोलमा फोहोर फाल्न नमिल्ने भएर सडकमा थुप्रिने गरेका छन् ।