मौसम परिवर्तनको समय सुरु भएसँगै धेरै मानिसमा मौसमी रुघाखोकीको समस्या देखिन थालेको छ। यससँगै कोरोनाको पछिल्लो भेरियन्ट ओमिक्रोनको संक्रमण पनि द्रुत गतिमा बढिरहेको छ। आममानिसले आफूलाई भएको संक्रमण मौसमी रुघाखोकी हो कि कोभिड संक्रमण छुट्ट्याउन सकिरहेका छैनन्। यसले अस्पतालमा दैनिक रुपमा रुघाखोकीका बिरामीको चाप बढिरहेको छ। कोरोना संक्रमण भएको त्रासका कारण सामान्य रुघा लाग्दा पनि अस्पताल जानेको संख्या बढेको छ।
अल्का अस्पताका चिकित्सक डा रक्षा गौतमले मौसम परिवर्तनले हुने रुघाखोकी र कोभिड संक्रमणमा ज्वरो आए नआएको हेर्नुपर्ने बताइन् ज्वरो आएको छ भने सतर्क भएर बस्ने र तुरुन्त चिकित्सकको सम्पर्कमा जाने, थप लक्षण देखिन थालेमा पीसीआर गराउनुपर्ने उनको सल्लाह छ। डा गौतमले अहिले ओमिक्रोनको संक्रमणलाई लिएर आममानिसमा लापरबाही बढेको बताइन्। ओमिक्रोनको संक्रमण ४/५ दिन रहन्छ भनेर लापरबाही गर्न नहुने उनको भनाइ छ। अमिक्रोनसँगको सानो लापरबाहीले ज्यान नै जान सक्ने उनी बताउँछिन्। प्रस्तुत छ अल्का अस्पतालका चिकित्सक डा. रक्षा गौतमसँग न्युज एजेन्सी नेपालले गरेको कुराकानीको सम्पादित अंश :
अहिले अस्पतालहरूमा मौसमी रुघाखोकीको बिमारीको चाप कस्तो छ ?
मौसमी परिवर्तनले हुने रुघाखोकीका लक्षण भएका बिरामीको चाप धेरै बढेको छ। गत दुई हप्तादेखि हाम्रो ओपीडीमा बिरामीको चाप तीन, चार गुणाले बढेको छ। एकजना फिजिसियनलाई नै धौ धौ हुनेगरी बिरामी आइरहेका छन्। मौसमी परिवर्तनले हुने रुघाखोकी मात्रै नभएर अहिलेको यो कोभिड १९ को बिरामीहरुको चाप पनि त्यसमै मिसाएर हामीले हेरिरहेका छौं।
अहिले मनिसहरु एकदमै अल्मल्लिएको जस्तो देखिन्छ, एउटा मौसमी फ्लु भयो। अर्को कोभिड १९ डेल्टा भेरियन्ट, अनि ओमिक्रोम भाइरस संक्रमण कसरी छुट्याउने, कसरी उपचार गर्ने ? सबैका उस्तैउस्तै खालका लक्षण देखिन्छन्। लक्षणका आधारमा आम सर्वसाधारणले कसरी छुट्याउने र कस्तो अवस्था भयो भने पीसीआरका लागि जाने ?
मौसमी परिवर्तनले हुने संक्रमण कमन कोल्ड (चिसोले हुने रुघाखोकी) हो, कमन कोल्डको बेसिक लक्षण छुट्याउने एकदम सजिलो तरिका भनेको ज्वरो हो। यो धेरै हुँदैन मौसमी परिवर्तनले हुने लक्षणहरुमा ज्वरो आउँदैन बिरामीलाई। सामान्य जिउ दुख्ने, रुघाखोकी, रुघामर्की एकदुई दिनमा आफंै ठिक भएर जाने, घरको एउटा सदस्यलाई भएको हुन्छ। प्रायः सबै सदस्यहरुलाई त्यस्तै लक्षण ट्रान्सफर भइराखेको हुन्छ। फ्लु भनेको चाहिँ जुन ओमिक्रोन, डेल्टा, कोभिड अथवा इन्फ्लुएन्जा हो। सबै फ्लुको फेमिलीमा पर्दछन्। हामीले इन्फ्लुयन्जा सुनिरहेको फ्लु हो।
सिजनल फ्लु हरेक वर्ष हुन्थ्यो। सय वर्षअघिदेखिको फ्लु हो यो। इन्फ्लुयन्जा र कोभिड फ्लुमा चाहिँ हामीले प्रायः ज्वरो पनि देख्छौँ। ज्वरो आयो भने पक्कै पनि मलाई फ्लु भयो भनेर बुझ्नुपर्यो। फ्लुमा पनि इन्फ्लुयन्जा हो कि, कोभिड १९ हो कि, कोभिड १९ को डेल्टा हो कि, ओमिक्रोन हो कि त्यो छुट्याउन लक्षणकै आधारमा चाहिँ अलिकति गाह्रो छ।
तर हामीले बिरामीको प्याटर्न हेर्दाखेरी चाहिँ फ्लु भएकाहरुलाई, इन्फ्लुयन्जा भएकाहरुलाई ज्वरो, रुघाखोकी, टाउको दुख्ने, आँखाको पछाडिको भाग दुख्ने, जिउ दुख्ने, झाडापखला लाग्ने, प्रायः बास्ना र स्वाद जाने लक्षण कोभिडमा मात्रै देखिरहेका छौं। बास्ना र स्वाद पनि गएको हामीले यसपालि पाएका छौँ। र अहिले ओमिक्रोनको कुरा गर्दा त्यही लक्षणमा प्लस, माइनस, तथा घाटी दुख्ने लक्षणहरु अलि बढी हामीले ओपीडीमा पाइरहेका छौँ। घाँटी एकदमै दुख्यो भनेर आउनुहुन्छ। टन्सिल नै भयो भनेर आउनुहुन्छ। हामीले हेर्दा यो पिक सिजन भइराखेको छ कोभिडको। इन्फ्युयन्जा हो भनेर हामीले क्लिनिकली छुट्याउन सकिदैनँ। पीसीआर गर्नैपर्छ।
मौसमी फ्लुलाई कसरी उपचार, हेरचाह, कस्तो खालको व्यवस्थापन गर्ने? कस्तो अवस्थामा अस्पताल जाने? घरमै बसेर उपचार गर्न सकिन्छ कि ?
मौसमी परिवर्तनले हुने कमन कोल्ड हुन्छ। यसमा ज्वरो हुँदैन। पारासिटामोल जस्ता औषधि प्रयोग गर्ने, मन तातो पानी खाने, पानीको मात्रा शरीरमा बढाउने, आराम गर्ने, धपेडी नगर्ने, चिसोमा नहिँड्ने। खासै डाक्टरकोमा गइहाल्नु पर्दैन। जब ज्वरो आउन थाल्छ नि ज्वरो आएपछि यो फ्लुमा जान्छ। फ्लु भनेको भाइरसले गर्दा हुने हो। फ्लुमा चाहिँ ज्वरो पनि आउँछ। दुईतीन दिन ज्वरो आउँछ। अहिले जनचेतना धेरै जाग्या छ।
कतिपयलाई तीन दिनभन्दा बढी ज्वरो आइराछ। ज्वरो १०२, १०३ भन्दा घटेको छैन। सिटामोलको प्रयोग गर्दाखेरी पनि ज्वरो घटेको छैन। जिउ दुखिराखेको छ। छाती भारी भइराखेको छ। खोकी बढिराखेको छ। पल्स अक्सिमिटरमा अक्सिजन चेक गर्नुहुन्छ, अक्सिजनको मात्रा ९४ भन्दा झर्न थालेको छ। बिरामीले खाना पटक्कै खानुभएको छैन। एकदमै विक हुनु भएको छ भने उहाँलाई तुरुन्तै ओपीडी ल्याएर डाक्टरसँग परामर्श लिन म आग्रह गर्छु।
यस प्रकारको संक्रमणमा सामान्यतया सर्वसाधारणबाट हुने लापरबाही कस्तो हो? त्यसलाई कसरी व्यवस्थापन गर्ने ?
दुईथरी पेसेन्टहरु (बिरामी) हुनुहुन्छ। एकथरी रुघा लाग्नेबित्तिकै आउनुहुन्छ जँचाउन। त्यसमा हामीले खासै गर्नुपर्ने केही हुँदैन। काउन्सिलिङ गर्दिन्छौं। रेस्ट गर्नु भन्छौं। रेस्टले नै निको हुन्छ आधाभन्दा बढी यो। फ्लु होस् अथवा मौसम परिवर्तनले हुने कमन कोल्ड होस्, इन्फ्लुएन्जा होस्, कोभिड होस्। रेस्ट मात्रै गरे पनि निको भइराखेको छ कत्तिलाई। कति चाहिँ कस्तो हुन्छ भने धेरै गाह्रो भइसक्दा पनि आउनुभएको छैन अस्पताल।
श्वासप्रश्वासमा समस्या भयो, बिरामीले खाना पटक्कै खानुभएको छैन। दीर्घ रोग लागेका बिरामीहरु हुनुहुन्छ। अक्सिजनको मात्रा तलमाथि भएको छ भने अक्सिजनको सिलिन्डर छ घरमा भनेर नबस्नुस्। एकचोटि आउनुस्। डाक्टरले हेर्नुहुन्छ, छातीको एक्सरे गर्नुहुन्छ। निमोनिया भइसक्या छ कि छैन हामीले छुट्याउनुपर्ने हुन्छ। निमोनिया भएको बिरामीलाई अस्पतालमै भर्ना गरेर उपचार गर्न म आग्रह गर्छु।
संक्रमणमा हाम्रा अस्पतालमा कस्तो किसिमको स्वास्थ्य उपचारको व्यवस्था छ ?
कोभिड आएदेखि हामीले पोजेटिभ बिरामीलाई राख्ने एउटा अलग व्यवस्था गरेका छौँ। नेगेटिभ बिरामीलाई राख्ने अलग व्यवस्था छ। लक्षणहरु सबै मिल्छ कोभिडसँग तर आरटी पीसीआर गर्दा नेगेटिभ आयो भने उहाँहरुलाई अलग राख्ने व्यवस्था छ। हामीले सबै पोजेटिभ बिरामीलाई भर्ना गर्ने गरेका छैनौँ। माइल्ड छ सामान्य लक्षण छ भने काउन्सिलिङ गरेर, घरमा नै उपचार गरेर, डाक्टरले औषधिहरु दिएर घर पठाइराखेका छौँ।
अक्सिजन पर्याप्त मात्रामा शरीरमा पुगेको छैन भन्ने जस्तो हामीलाई डाउट (शंका) लाग्ने बित्तिकै हामीले बिरामीलाई भर्ना गरेर दुईचार दिन उहाँहरुलाई क्रिटिकल केयर तथा छाती विशेषज्ञ र फिजिसियन हामी तीनजनाको टिम मिलेर क्लोज अब्जरभेसनमा राखेर उपचार गरिराखेका छौँ। निको भएर गइराख्नुभएको छ। पहिलापहिलाको जस्तो महामारी जुन थियो त्यस्तो अवस्था आएको छैन। त्यही भएर कन्ट्रोल नै गर्न नसकिने, इमरजेन्सीमा बेड नै नभएको। अक्सिजन नै नपुगेको यसपालि हामीले आजको दिनसम्म भेटेनौँ। त्यतिबेलाको भन्दा अहिलेको व्यवस्थापन त्यतिबेलाको जस्तो बेग आउँछ भनेर हामीले जुन तयारी गर्यौँ मानसिक रुपमा, अस्पतालको व्यवस्थापनमा जुन हिसाबले तयारी भएर बस्यौ त्यो कारणले गर्दा यसपालि व्यवस्थापनमा त्यत्ति असहजता छैन।
विशेषज्ञका रुपमा सर्वसाधारणलाई स्वास्थ्यको सुरक्षाका लागि के–कस्तो सुझाव दिनुहुन्छ ?
सुझाव म के दिन चाहान्छु भने पहिले सुरुमा डेल्टा होस् या ओमिक्रोन होस् या कुनैपनि भेरियन्ट होस् हामीले पिसिआर गरेर छुट्याउन सक्दैनौँ। यो जनमानसमा गलत धारणा कि डाक्टरकहाँ गएपछि उहाँले ओमिक्रोन हो कि होइन छुट्याइदिन सक्नुहुन्छ भन्ने छ। हामीले पेसेन्टको लक्षण हेरेर तपार्इंहरुलाई भन्न सक्दैनौँ। अर्को एउटा के धारणा गलत छ भने त्यो सिटी भ्यालु देखाउन आउनुहुन्छ।
पीसीआर रिपोर्टमा जुन सिटी भ्यालु लेखेको हुन्छ, मेरो त मेरो कम छ उहाँको बढी छ मलाइ अलि गाह्रो हुने हो कि, हामीलाई त्यसको आधारमा बिरामीलाई गाह्रो हुन्छ, बिरामीलाई आइसियूमा भर्ना गरिन्छ कि बिरामीलाई माइल्ड हुन्छ भनेर छुट्याउन सक्ने त्यो क्यापेबिलिटी छैन। त्यसमा कन्फ्युजनमा नपर्नुस्। पीसीआर गरेर ओमिक्रोन हो कि होइन भनेर थाहा पाउन सकिदैन। ओमिक्रोनका लागि छुट्टै जिन सिक्वेन्सिङ भनेर हाम्रो प्रयोगशालाबाट बाहिर पठाउनुपर्ने हुन्छ त्यो सबै स्याम्पललाई हामी गर्दैनौँ। अनि थाहा भएर पनि कोभिडको उपचारमा केही परिवर्तन आएको छैन नि त। त्यो ओमिक्रोन होस् या डेल्टा होस् उपचार त्यही हो। रोगीहरुको प्याटर्न त्यही हो। कतिबेला निको हुन्छ, कतिबेला देखि सर्दैन भनेर हामी काउन्सिलिङ गर्दिन्छौँ आउनुहोला ओपिडिमा।
अनि अर्को कुरा, हात धुने, स्यानिटाइजरहरु लगाउने, सामाजिक दुरी कायम गर्ने, मास्क लगाउने, अनावश्यक कामका लागि बाहिर नहिँड्ने। ९० प्रतिशत बिरामीहरुको अहिले माइल्ड छ। पहिला पहिलाको वेभजस्तो आईसीयू, बेडको अभाव, अक्सिजन अभाव छैन। त्यसो भन्दैमा बेपर्वाह हुनु भएन। ओमिक्रोन हो केही हुँदैन भन्ने धारणा पनि छ। तर ओमिक्रोनका कारण जटिल रुपमा निमोनिया भएर बिरामी नराम्रो अवस्थामा गएको पनि हामीले देखेका छौं।