अर्थमन्त्रीले प्रधानमन्त्री संग गरेको बार्गेनिङ्गले काम गरेपछि धानुकको तालुमै फल्ने भयो आलु

  • प्रकाशित मिति : २०७८ माघ ५, बुधबार
  • chhanbin.com

नेपाल प्रहरीमा तीन जना अतिरिक्त महानिरीक्षक (एआईजी) दरबन्दी थप हुने भएको छ। थपिएको दरबन्दी सीआईबी र प्रदेश समन्वय विभाग तथा मानव श्रोत एवम् प्रशासन विभाग फुटाएर राख्ने प्रस्ताव गृह मन्त्रालयको छ। अहिले निर्वाचन आचारसंहिताका कारण रोकिएको दरबन्दी थपको निर्णय माघ १२ गते राष्ट्रियसभाको निर्वाचन सकिएपछि हुने बताइएको छ।

शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेलगत्तै सुरु भएको दरबन्दी थपको प्रयास अर्थमन्त्री जनार्दन शर्माका कारण रोकिँदै आएको थियो। दरबन्दी थपका लागि अर्थ मन्त्रालयबाट स्वीकृति लिनुपर्ने हुन्छ। अर्थमन्त्री शर्माले सुरुमा बजेटको समस्या हुने बताउँदै स्वीकृति दिन नसकिने अडान लिएका थिए। पछि आफ्नो तर्फबाट एक जनालाई एआईजीमा बढुवा गर्नुपर्ने शर्त राखेर स्वीकृति दिन लागेको बताइएको छ। प्रधानमन्त्री देउवा र गृहमन्त्री बालकृष्ण खाण शर्माले भनेका डीआईजीलाई एआईजीमा बढुवा गर्न तयार नहुँदा दरबन्दी थपको प्रक्रिया रोकिएको थियो।

अहिले निर्वाचन आचारसंहिताका कारण रोकिएको दरबन्दी थपको निर्णय माघ १२ गते राष्ट्रियसभाको निर्वाचन सकिएपछि हुने बताइएको छ।
प्रधानमन्त्री र गृहमन्त्री अर्थमन्त्रीलाई भाग दिन सहमत भएपछि दरबन्दी थप्ने सहमति भएको हो। यसअघि केपी ओली नेतृत्वको सरकारले आफूनिकट दुई डीआईजीलाई एआईजीमा बढुवा गरेको थियो। सुरुमा तत्कालीन उपप्रधानमन्त्री ईश्वर पोखरेलको जोडबलमा विश्वराज पोखरेल बढुवा भएका थिए। सरकार परिवर्तन हुने बेलामा सहकुल थापालाई पनि दरबन्दी थप गरेरै एकल एआईजीमा बढुवा गरिएको थियो।

एमाले नेतृत्वको सरकारले पार्टीनिकटलाई एआईजी बनाएपछि बाँकी रहेका डीआईजीले शेरबहादुर देउवा प्रधानमन्त्री बनेलगत्तै एआईजीको दरबन्दी थप गर्न लबिङ सुरु गरेका थिए। तर, आर्थिक व्यवस्थापनमा समस्या हुने भन्दै अर्थमन्त्रीले स्वीकृति दिएका थिएनन्।

अर्थमन्त्री शर्माले डीआईजी रवीन्द्र धानुकलाई एआईजीमा बढुवा गर्न चाहेको बताइन्छ। धानुकभन्दा अगाडि रहेका धिरजप्रताप सिंह र वसन्तकुमार लामा पनि एआईजीको दौडमा छन्। आफूभन्दा अघिल्लो वरीयतामा रहेका डीआईजीहरु एआईजीका दौडधुपमा भए पनि अर्थमन्त्री शर्मासँगको निकटताका कारण धानुक एआईजी बन्ने पक्कापक्की रहेको स्रोत बताउँछ।

दरबन्दी थप भएपछि भावी आईजीपीको खेल पनि सुरु हुनेछ। हालका आईजीपी शैलेश थापा क्षेत्रीले आगामी वैशाख १८ गते अवकाश पाउँदैछन्। उनीसँगै एआईजीहरु हरि पाल, निरज शाही र प्रद्युम्नकुमार कार्कीले पनि अनिवार्य अवकाश पाउन लागेका छन्। त्यसकारण आईजीपीमा विश्वराज पोखरेलको सम्भावना बढी छ। एमाले नेतृत्वको सरकारले एकल एआईजी बनाएका पोखरेललको सम्बन्ध प्रधानमन्त्री देउवासँग पनि राम्रो रहेको बताइन्छ।