नेपाली सेनाका जर्नेलले ब्यारेकको क्वार्टर दुरूपयोग गरेर राखे ‘प्रेमिका’, के हुन्छ कारवाही ?

  • प्रकाशित मिति : २०७८ माघ ४, मंगलवार
  • chhanbin.com

पहुँचवालाले राज्यको सम्पत्ति कुन हदसम्म दोहन गर्छन् भन्ने अनेकौं उदाहरण छन् । संग्रहालय बनाइएको नारायणहिटी राजदरबार परिसरमा कौडीको भाउमा भाडा लिएर रेष्टुराँ चलाउन दिइएको घटना पछिल्लो उदाहरण हो ।

यहीबेला नेपाली सेनाका एक जर्नेलले शक्तिको आडमा साधनस्रोत दुरूपयोग गरिएको विसंगत घटना बाहिरिएको छ । राज्यको सार्वभौमिकता रक्षाको जिम्मेवारी पाएको नेपाली सेनाका जर्नेलले ब्यारेकको क्वार्टर दुरूपयोग गरेर ‘प्रेमिका’ राखेको घटना बाहिरिएको हो ।

सरुवा भएर अन्यत्र गइसकेका नेपाली सेनाका प्राविधिक सहायक रथी हेगेन्द्रलाल महर्जनले स्वयम्भूस्थित नेपाली सेनाको बारुदखानाको क्वार्टर नियन्त्रणमा लिएर एक महिलालाई राखेका हुन् । महर्जन हाल सैनिक सामग्री उत्पादन गर्ने बहुउद्देश्यीय उद्योगमा छन् ।

बारुदखानामा कार्यरत छँदा सेनाले जर्नेल महर्जनलाई त्यहिँको एक भवन क्वार्टरका रूपमा प्रयोग गर्न दिएको थियो । जसको दुई तल्लामा आधा दर्जन कोठा छन् । उपलब्ध क्वार्टर सैनिक अधिकारीले आफू र आफ्नो परिवारका लागि प्रयोग गर्नुपर्नेमा उनले त्यसको एउटा कोठामा एक महिला सैनिक जवानलाई लगेर राखे ।

महर्जन त्यहाँ कार्यरत छँदै एक तह बढुवा भएर अन्यत्र सरुवा भए । सेनामा एक स्थानबाट अर्को स्थानमा सरुवा भएर जानुपूर्व नै कागजात, क्वार्टरलगायत बुझबुझारथ गर्नुपर्ने प्रावधान छ । सैनिक ऐन, २०६३ मा सरकारी, सार्वजनिक वा सेनाको सम्पत्ति सदुपयोग गर्नुपर्ने नभए सम्पत्तिसम्बन्धी कसुर लाग्ने किटानसाथ उल्लेख छ ।

सैनिक ऐन, २०६३ को ४९ (क) मा लेखिएको छ– सरकारी वा सार्वजनिक सम्पत्ति, नेपाली सेनाको मेस, ब्याण्ड वा कुनै सैनिकको वा यस ऐनको क्षेत्राधिकारभित्र पर्ने कुनै व्यक्तिको सम्पत्ति बदनियत राखी निजी काममा उपयोग गरेमा वा हिनामिना गरेमा वा चोरी गरेमा वा बदनियतपूर्वक विश्वासघात गरी कब्जा लिएमा सम्पत्ति सम्बन्धी कसुरमा कारबाही हुनेछ ।’

डेरा खोज्न वा सरुवा भएको स्थानमा ‘सेटलमेन्ट’ हुन समय लाग्ने भएकाले क्वार्टरको हकमा एक/दुई महिना आपसी सहमतिमा सर्ने समय दिने गरिएको छ । तर, प्राविधिक सहायक रथी महर्जनले त्यहाँबाट सरुवा भएको महिनौंसम्म क्वार्टर नियन्त्रणमा लिएर त्यहाँ महिलालाई राखेको स्रोतले बतायो । सैनिक स्रोतले ती महिला सैनिक जवान महर्जनको प्रेमिका भएको दाबी गरेको छ ।

महर्जन सेनाका प्राविधिक जर्नेल हुन् । मन्त्रिपरिषद्को यही पुस १ गतेको बैठकले उनको पदावधि थप गर्ने निर्णय गरेको थियो । उनको श्रीमती, एक छोरा र छोरी छन् । ‘पदोन्नतिलगत्तै महर्जन जर्साबको यहाँबाट सरुवा भए पनि उहाँले त्यहाँ कार्यरत रहँदा प्रयोग गरेको क्वार्टर नियन्त्रणमा लिएर अहिलेसम्म प्रेमिकालाई राख्नु भएको छ,’ बारुदखानामा कार्यरत एक प्राविधिक अधिकृतले भने ।

नेपाली सेनामा अधिकृत तहकालाई विशेष सुविधासहितको बसोबासको प्रबन्ध गरिने भए पनि तल्लो दर्जाका कर्मचारी आधारभूत सेवा/सुविधा नभएको टहरामा बस्न बाध्य छन् । स्वयम्भू बारुदखानामै पनि तल्ला दर्जाका कर्मचारी बस्ने स्थान गएगुज्रेको छ । सैनिक नियमविपरीत महर्जनले भने ‘इ’बाट नाम सुरु हुने महिला जवानलाई अढाइ वर्षदेखि उक्त क्वार्टरको कोठा दिएर राखेका हुन् ।

स्रोतका अनुसार, प्राविधिक सहायक रथी महर्जन सातामा एक/दुई पटक क्वार्टरमा आउँछन् । केही घण्टा बिताउँछन् र फर्किन्छन् । ‘महिलामात्र बस्ने क्वार्टरमा उहाँ सातामा एक/दुई पटक आउने र एकाध घण्टा बिताएर जाने गर्नुभएको छ,’ सैनिक स्रोतले भन्यो, ‘यो सैनिक अनुशासनविपरीत हो ।’

सैनिक स्रोतका अनुसार, बारुदखानाले जर्नेलको आचरणविपरीत गतिविधिबारे ‘एक्सन’ लिनुपर्नेमा उल्टै ती महिलालाई जर्नेलसरह खानपान र बन्दोबस्तीलगायत सेवा दिने गरेको छ । ‘हामीभन्दा तल्लो दर्जाकी जवानलाई सुविधा सम्पन्न क्वार्टरसहित ग्यास, रासनपानीलगायत सुविधा उपलब्ध गराइएको छ,’ त्यहाँ कार्यरत एक अधिकृतले गुनासो गरे ।

प्राविधिक महासेनानी उमेश्वर यादव अहिले बारुदखानाको नेतृत्वमा छन् । उनी त्यहाँभित्रको अर्को भवनलाई क्वार्टर बनाएर बसेका छन् । आफू नेतृत्वको अड्डामा लामो समयदेखि सैनिक अनुशासन विपरीतका गतिविधि भए पनि उनी मौन छन् । एक सैनिक अधिकारीका अनुसार, जर्नेलका प्रेमिकाबारे गुनासो र रिपोर्ट नगर्न बारुदखानामा कार्यरत सैनिकलाई मौखिक सर्कुलर नै जारी गरिएको छ । हेगेन्द्रको बदमासीबारे समाचार सार्वजनिक भएपछि रातारात गाडी पठाएर सामान सारिएको श्रोतले बताएको छ।