हाइड्रोपावरमा बैंकले खन्याए पैसा, सवा २ खर्ब मध्ये कुन बैंकको कति लगानी ?

  • प्रकाशित मिति : २०७८ माघ ४, मंगलवार
  • chhanbin.com

पछिल्लो सयमा जलविद्युत्मा लगानीकर्ताको उच्च आकर्षण देखिएको छ । सरकारका साथै निजी क्षेत्रका व्यवसायीहरुले पनि धमाधम हाइड्रोपावरमा लगानी गरिरहेका छन् । एकपटक लगानी गरिसकेपछि निरन्तर आम्दानी हुने, उत्पादित बिजुली खेर गए पनि सम्झौता अनुसार पैसा आउने, नेपालमा खपत नभए विदेशसम्म निर्यात गर्न नसक्ने लगायत कारणले हाइड्रोपावरमा लगानीकर्ताको आकर्षण बढेको हो । साथै, सरकारले जलविद्युत्मा लगानी गर्नेलाई विभिन्न सहुलियत तथा छुट दिएकाले पनि लगानीकर्ता आकर्षित भएका हुन् ।

हाल निजी लगानीका १२० बढी हाइड्रोपावर निर्माणधीन अवस्थामा रहेका छन् भने सरकारी लगानीका आधा दर्जन आयोजना निर्माण भइरहेका छन् । नेपाल प्राधिकरणका अनुसार हाल निर्माणधीन आयोजना सम्पन्न भएमा सन् २०२४ सम्ममा थप ३ हजार मेगावाट विद्युत् उत्पादन हुनेछ । हाइड्रोपावरमा निजी क्षेत्रका व्यवसायीसँगै बैंक तथा वित्तीय संस्थाहरुको लगानी पनि ह्वात्तै बढेको छ । पछिल्लो ३ वर्षको अवधिमा मात्रै हाइड्रोपावरमा बैंक तथा वित्तीय संस्थाहरुले ऋण लगानी झन्डै दोब्बरले वढेको छ ।

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थाहरुले आर्थिक वर्ष २०७६/७७ सम्म हाइड्रोपावरमा १ खर्ब २६ अर्ब ऋण लगानी गरेकोमा चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म झन्डै दोब्बरले बढेर २ खर्ब २० अर्ब रुपैयाँ पुगेको छ । सो अवधिमा बैंकहरुको हाइड्रोपावरमा ऋण लगानी ७५ प्रतिशले बढेको हो । हाइड्रोपावरमा बैंकहरुको ऋण लगानी वर्षेनी बढ्दो क्रममा रहेको छ । पछिल्लो साढे २ वर्षको अवधिमा बैंकहरुले हाइड्रोपावरमा थप ९४ अर्ब ऋण लगानी गरेका हुन् ।

बैंकहरुले आर्थिक वर्ष २०७७/७८ सम्म हाइड्रोपावरमा १ खर्ब ६१ अर्ब ऋण लगानी गरेका थिए भने पछिल्लो १ वर्षमा मात्रै थप ५९ अर्ब ऋण लगानी विस्तार गरेका हुन् ।

कुन बैंकको कति लगानी ?

जलविद्युतमा सबैभन्दा धेरै ऋण लगानी ग्लोबल आइएमई बैंकले गरेको छ । यस बैंकले चालु आवको कात्तिकसम्म कुल १८ अर्ब ९२ करोड रुपैयाँ ऋण लगानी गरेको हो । राष्ट्र बैंकको तथ्यांक अनुसार दोस्रोमा इन्भेष्टमेन्ट बैंकले १४ अर्ब ७३ करोड रुपैयाँ जलविद्युतमा ऋण लगानी गरेको छ । सबैभन्दा कम एनआइसी एसियाले २ अर्ब ५३ करोड, हिमालयन बैंकले ३ अर्ब १ करोड र सिभिल बैंकको ३ अर्ब ५ करोड रुपैयाँ ऋण लगानी गरेको राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरी,एनएमबी बैंक १२ अर्ब ९ करोड, राष्ट्रिय वाणिज्य बैंक र सानीमा बैंकले ११/११ अर्ब नबिल बैंक र प्राइम कमर्सियल बैंकले १०/१० अर्ब रुपैयाँ ऋण लगानी गरेका छन् । त्यस्तै, नेपाल बैंक ९ अर्ब ५० करोड, सनराइज ९ अर्ब ३८ करोड, सिद्धार्थ, ८ अर्ब ६५ करोड, सिटिजन्स ७ अर्ब ९६ करोड र लक्ष्मी बैंकले ७ अर्ब ४९ करोड रुपैयाँ ऋण लगानी गरेका छन् ।

त्यसैगरी, कुमारी बैंकको ७ अर्ब ४३ करोड, एभरेष्ट,माछापुच्छ्रे् र एनसीसी बैंकहरुको ६ अर्ब बढी ऋण लगानी रहेको छ । त्यस्तै,सेन्चुरी कमर्सियल बैंक, नेपाल एसबीआई,मेगा र नेपाल बंगलादेश बैंकको ५ अर्ब रुपैयाँ बढी लगानी रहेको छ भने बैंक अफ काठमाण्डू, कृषि विकास बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकले ४/४ अर्ब रुपैयाँ ऋण लगानी गरेका छन् ।