सरकारले १५ माघसम्म विद्यालय, विश्वविद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक कार्यक्रम १५ माघसम्म बन्द गरेको छ। यो अवधिमा पठनपाठनका कार्यक्रम भर्चुअल माध्यमबाट गर्न सरकारले निर्देशन दिएको छ। माघ १५ बाट फेरी माघ मसान्त सम्म स्कूल बन्द गर्ने म्याद थपिने निश्चित भएको उच्च सरकारी श्रोतको भनाई छ।
यससँगै पूर्व निर्धारित परीक्षा भने नरोकिने भएका छन्। स्वास्थ्य मापदण्ड पालना गरेर परीक्षा सञ्चालन गर्न सकिने सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।
त्यस्तै, धार्मिक क्रियाकलापमा पनि सरकारले कडाइ गरेको छ। माघ मसान्तसम्म मठ, मन्दिर, गुम्बा, चर्च लगायतका धार्मिक संस्थामा नित्य पूजा, ध्यान बाहेकका क्रियाकलापमा रोक लगाएको छ। नित्य पूजाआजा गर्दा पनि स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गरेको छ। सपिङ मल, डिपार्टमेन्ट स्टोर, पसलमा पनि २५ जनाभन्दा बढी एकैसाथ उपस्थित भएर किनमेल गर्न रोक लगाएको छ। सरसामान किनमेल गर्दा पनि स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गरेको छ।