राष्ट्रिय सभाको बैठक अनिश्चित समयका लागि स्थगित

  • प्रकाशित मिति : २०७८ माघ २, आईतवार
  • chhanbin.com

संघीय संसद्, राष्ट्रिय सभाको बैठक अनिश्चित समयका लागि स्थगित गरिएको छ । माघ ३ गते सोमबार आह्वान गरिएको राष्ट्रिय सभाको बैठक अर्को सूचना जारी नभएसम्मका लागि नबस्ने गरी स्थगित भएको सूचना संघीय संसद् सचिवालयले जारी गरेको छ ।

संघीय संसद्का महासचिव भरतराज गौतमले ‘विशेष कारणवश’ स्थगित गरिएको जानकारी दिएका छन् । ‘माघ ३ गते सोमबार दिनको १ बजे बस्नेगरी निर्धारण गरिएको संघीय संसद्, राष्ट्रिय सभाको बैठक विशेष कारणवश तोकिएको दिन र समयमा बस्न नसक्ने भएकोले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ६ को उपनियम ३ बमोजिम अर्को सूचना जारी नभएसम्मका लागि उक्त बैठक स्थगित भएको’ सूचना महासचिव गौतमले जारी गरेका हुन् ।

यसअघि पुस २७ गते बोलाइएको राष्ट्रिय सभा बैठक पनि ‘विशेष कारणवश’ बस्न नसक्ने सूचना जारी भएको थियो । प्रतिनिधिसभा बैठक पनि पटकपटक सूचना जारी गरेर स्थगित हुँदै आएको छ । संसद्‌मा एमालेको अवरोध र कोरोना संक्रमणको कारण देखाउँदै दुवै सदनका बैठक स्थगित हुँदै आएका छन् ।