संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले पशुपतिनाथ क्षेत्र परिसरमा बनाइएको धर्मशाला देखेर आफू ‘सक्ड’ भएको बताएका छन् । छानबिन समितिका सदस्य, पशुपति क्षेत्र विकास कोषका पदाधिकारीसहित पशुपति क्षेत्रमा आइतबार बतास अर्गनाइजेशनले व्यवस्थापनको जिम्मेवारी लिएको धर्मशालाको निरीक्षणपछि मन्त्री आलेले धर्मशाला त सेभेन स्टार होटेलजस्तो देखेर आफू सक भएको बताएका हुन् ।
छानबिन समितिले सोमबार प्रतिवेदन बुझाएपछि सबै सत्यतथ्य बाहिर ल्याउन बताएका मन्त्री आलेले धर्मशालामा सस्तो र सर्वसुलभ हुनुपर्नेमा एउटा कोठामा एक जना बस्दा पाँच हजार ५०० र दुई जना बस्दा ११ हजार रुपैयाँ लिने गरिएको देखिएको बताए । आफूले राजनीतिक प्रतिशोध कसैमा नसाँधेको बताएका उनले जोसुकैले गलत गरेको भए पनि कारबाही गरेरै छाड्ने प्रतिबद्धता जनाए । त्यो धर्मशाला बतास समुहलाई दिन स्वर्गीय रबिन्द्र अधिकारी मन्त्री हुँदा थालेको पहल योगेश भट्टराई मन्त्री भएपछी उनैले सो समुहलाई सुम्पिएका थिए।