शिक्षक सेवा आयोगले लामो समय पछि गत महिना बिज्ञापन गर्यो। आयोगले १७ हजारभन्दा बढी शिक्षकको विज्ञापन गरे पनि देशभर आवश्यक शिक्षकको संख्या भने बिज्ञापन गरे भन्दा तीन गुणा बढी छ। देशभर ५३ हजार १५८ शिक्षकको दरबन्दी अभाव छ। शिक्षा तथा मानवस्रोत विकास केन्द्रको तथ्यांकअनुसार मध्यमिक तहमा २४ हजार ८३५, निम्न माध्यमिक तहमा २४ हजार ४०१ र प्राथमिक तहमा ३,९२२ पदमा शिक्षक दरबन्दी अभाव छ।
केन्द्रले यसअघि शिक्षक सेवा आयोगलाई पठाएको विवरणअनुसार चैतसम्म हुने रिक्त शिक्षक दरबन्दीमा प्राथमिक, निम्नमाध्यमिक र माध्यमिक तहमा गरी १७ हजारभन्दा बढी शिक्षका लागि दरर्खास्त आह्वान गरिसकेको छ। आयोगले प्राथमिक तहका लागि १३ हजार ९३, निम्नमाध्यमिक तहका लागि २५ सय ९७ र माध्यमिक तहका लागि १५ सय ४७ शिक्षकको विज्ञापन आह्वान गरेको हो। माध्यमिक तहमा थप १६ दरबन्दीमा बिज्ञापन भएको छ।
आयोगले रिक्त दरबन्दीमा विज्ञापन गरे पनि देशभर ५० हजारभन्दा बढी दरबन्दी आवश्यक रहेको तथ्याङ्क केन्द्रले सार्वजनिक गरेको हो। यसअघि आयोगले २०७५ असारमा खुलातर्फको विज्ञापन गरेपछि विज्ञापन नहुँदा रिक्त पदमा यति ठूलो संख्यामा विज्ञापन भएको देखिए पनि शिक्षकको अभाव पूर्ति गर्न भने ५० हजारभन्दा बढी शिक्षक आवश्यक पर्ने केन्द्रका निर्देशक वसन्तप्रसाद कोइरालाले जानकारी दिए। उनले भने, ‘शिक्षकको विज्ञापन खुले पनि स्थानीय तहलाई शिक्षक व्यवस्थापन गर्न अझै सहज हुने अवस्था छैन। थपिनुपर्ने दरबन्दी थप नहुँदा काटिने दरबन्दीको मात्र व्यवस्थापन गर्न असहज भएको स्थानीय तहले गुनासो गरेका छन्।’
सरकरले यसअघि पूर्वसचिव एवम् राष्ट्रिय परीक्षा बोर्डका उपाध्यक्ष महाश्रम शर्माको संयोजकत्वमा गठन गरेको शिक्षक दरबन्दी पुनर्वितरण सुझाव कार्यदलले सामुदायिक विद्यालयमा कुल ५७ हजार ५६ शिक्षक दरबन्दी कम भएको प्रतिवेदन बुझाएको थियो। यसमा केही दरबन्दी मिलान भएर अहिले पनि ५० हजारभन्दा बढी शिक्षक अभाव भएकाले यसलाई व्यवस्थापन गर्न चुनौतीपूर्ण हुने केन्द्रले जनाएको छ।
केन्द्रको तथ्यांकअनुसार अहिले देशभर सामुदायिक र संस्थागत गरी कुल ३५ हजार ५ सय २० विद्यालय छन्। सामुदायिक विद्यालयको संख्या २८ हजार ८ सय ३३ छ। यी सामुदायिक विद्यालयमा ५७ लाख १३ हजार ७ सय ९० जना विद्यार्थी अध्ययनरत छन्। यी विद्यार्थीलाई अध्यापन गराउने स्थायी र राहत शिक्षकको संख्या १ लाख ५३ हजार ५ सय ३८ छ। यो संख्या पर्याप्त नभएको कार्यदलका संयोजक शर्माको भनाइ छ।
आयोगले आगामी चैत्र मसान्त भित्र थप शिक्षकको बिज्ञापन गर्ने गरि तारतम्य मिलाउदैछ। अहिलेको बिज्ञापनलाई संसोधन गरेर कम्तीमा चालिस हजार शिक्षकको बिज्ञापन हुन सक्ने श्रोतको भनाई छ।