शिक्षक सेवा आयोगले शिक्षा तथा मानव स्रोत विकास केन्द्रसँग रिक्त रहेका शिक्षक पदको संख्या थप गर्न माग गरेसँगै केन्द्रले आयोगलाई निमावि र प्रावि तहमा संख्या थप गरेर विवरण पठाएको छ।
आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठाले विज्ञापन गर्दा नै विज्ञापन भएको मितिले २१ दिनभित्र संख्या थप गर्न सकिने उल्लेख गरिएकाले माविको यसअघि भएको विज्ञापनमा पनि केही संख्या थप हुन सक्ने बताए। उनले भने, ‘हामीले केन्द्रसँग चैत मसान्तसम्म रिक्त हुने शिक्षकको संख्या माग गरेका छौं। केन्द्रले यसअघि पठाएको विवरणमा केही संख्या थप गरेको छ। अझै केही संख्या थप हुन सक्छ। त्यसका लागि केन्द्रले उपलव्ध गराउने तथ्यांकमा भर पर्छ।’
आयोगले निमाबि तहका १६ दरबन्दी बढाएर बिज्ञापन गरेको छ। त्यस्तै माबि र प्राबि तहमा पनि बिज्ञापन संसोधन गर्ने तयारी हुँदैछ।
शिक्षक सेवा आयोग नियमावलीको ११ औं संशोधन मन्त्रिपरिषद्बाट पास भएकोले आन्तरिक बढुवा एवम् अध्ययन अनुमति पत्र (लाइसेन्स)को विज्ञापन गर्ने प्रक्रिया थाल्न समेत आयोगलाई मन्त्री पौडेलले निर्देशन दिएका छन्। नियमावली संशोधन भइसकेकाले अब ३ हजार ३ सय ९८ शिक्षकको आन्तरिक बढुवा पनि हुने भएको छ।