प्रधानमन्त्री कार्यालयमा पियन भन्दा सचिव धेरै

  • प्रकाशित मिति : २०७८ पुष २९, बिहीबार
  • chhanbin.com

मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयमा अहिले नौ छन्। सरकारले प्रधानमन्त्री कार्यालयमा दुई सचिवको दरबन्दी थप गरेको छ भने अरू दुई सचिवलाई अन्य कार्यालयबाट तानेको छ।

कुनै सचिवलाई थन्क्याउनुपरे सरकारले प्रधानमन्त्री कार्यालयको अतिक्ति समूह (जगेडा) मा राख्ने परम्पराजस्तै बनेको छ। अहिले प्रधानमन्त्री कार्यालयमा शिशिर ढुंगाना, लक्ष्मण अर्याल, रामप्रसाद थपलिया, सूर्य गौतम, धनराज ज्ञवाली (कानुन समूहतर्फ), खगेन्द्र प्रसाद नेपाल र रमेशकुमार सिंह कार्यरत छन्। यीमध्ये सिंहलाई अतिरिक्त समूहमा राखिएको छ। प्राविधिक समूहको दरबन्दी सिर्जना भएपछि अब उनी दरबन्दीमै बस्ने भएका छन्।

मन्त्रिपरिषद्ले महिला मन्त्रालयकी सचिव यामकुमारी खतिवडाले प्रधानमन्त्री कार्यालयमा सरुवा गरेको छ। खतिवडाले आइतबारदेखि प्रम कार्यालयमा हाजिरी गर्न सुरु गरेको प्रधानमन्त्री कार्यालय स्रोतले बतायो। खतिवडालाई अतिरिक्त समूहमा राखिएको छ।

पुनर्निर्माण प्राधिकरण खारेज भएपछि प्राधिकरणमा कार्यरत सचिव सुशीलचन्द्र तिवारीले पनि प्रधानमन्त्री कार्यालयमा हाजिरी गर्दै आएका छन्। यद्यपि, सरकारले उनलाई सतर्कता केन्द्रमा सरुवा गरेको छ। तिवारीले सोमबारसम्म प्रधानमन्त्री कार्यालयमै हाजिरी गरेका छन्।

यसैगरी सुदूरपश्चिम प्रदेशका प्रमुख सचिव मधुसूदन बुर्लाकोटीलाई मन्त्रिपरिषद्ले प्रधानमन्त्री कार्यालयमा तानेको छ। प्रधानमन्त्री कार्यालयका उच्च कर्मचारीहरूले भने यसबारे आफू जानकार नभएको बताए। बुर्लाकोटीले सोमबारसम्म सुदूरपश्चिम प्रदेशमै हाजिरी गरेका छन्।

हाल प्रधानमन्त्री कार्यालयमा एक कानुन सचिवसहित पाँच सचिवको दरबन्दी छ। तर, विशेष परिस्थिति भन्दै ५ बाट ७ पुर्‍याइएको छ। प्रधानमन्त्री कार्यालयमा थप दुईवटा सचिवको दरबन्दी सिर्जना गरिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव सुरेश अधिकारीले बताए। उनका अनुसार थप गरिएका दुईवटा दरबन्दीमा एउटा दरबन्दी प्रशासन समूहका र अर्को एउटा प्राविधिक समूहका हुन्