कोरोना हुनु अघि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेललाई भेटगरी प्रारम्भिक बालविकास सहजकर्ता (इसीडी शिक्षक) हरूले आफूहरूका माग पुरा नभएर आन्दोलन गर्ने बताएका थिए । केहि दिन अघि इसीडी शिक्षकले कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा हुँदै पूर्व गृह मन्त्री बामदेव गौतमको समेत ध्यानाकर्षण गराएका छन्।
तलब, दरबन्दी, उमेर हदबन्दी र शैक्षिक योग्यतालगायत इसीडी शिक्षकहरूका माग हुन् । नेपाल बालविकास शिक्षक, केन्द्रीय समिति अध्यक्ष कृष्ण कुमारी थापा मगरले आफूहरूका माग पुरा नभएर आन्दोलनमा उत्रनुको विकल्प नहरेको बताइन् । दबाब स्वरुप इसीडी शिक्षक नेताहरुको घरदैलोमा पुगेपछि शिक्षामन्त्री देबेन्द्र पौडेललाई बल्ल तातो लागेको छ।
शिक्षामन्त्री पौडेल (२८ पुस) मा परेको जन्म दिनको अवसरमा शुभकामना व्यक्त गर्दै इसीडी शिक्षकहरूले माग पुरा हुनेमा विश्वास व्यक्त गरेका छन् । इसीडी शिक्षक टीका गिरी सामाजिक सञ्जालमा लेख्छिन्, ‘हामी बाल शिक्षकको आस्था र विश्वासको धरोहर दीर्घायुको शुभकामना ।’
आफ्नो जन्मदिनको दिन इसीडी शिक्षकको प्रेसर खेपेका मन्त्री पौडेलले अर्थमन्त्री जनार्दन शर्मालाई टेलिफोन गरेर स्थानीय तहले केन्द्र सरकार बाट पाउने अनुदान कटौती गरेर केन्द्रबाटै सोझै इसीडी शिक्षकको खातामा तलब जम्मा गर्न सकिने बिषयमा कुरा गरेको बुझिएको छ। त्यसका लागि अर्थमन्त्रालयले मात्र चाहेर हुँदैन। कानून मन्त्रालयको रायका साथै संघिय मामिला मन्त्रालयको समेत राय चाहिने बुझिए पछि मन्त्री पौडेलले ती सबै सरोकारवाला मन्त्रालय संग समन्वय थालेको उच्च सरकारी अधिकारीले बताएका छन्।