हल बाँधेर कांग्रेस जोगाउनतर्फ लाग्छौं भन्ने गगन र विश्वप्रकाशले कसरी जोत्दैछन् हलो ?

  • प्रकाशित मिति : २०७८ पुष २८, बुधबार
  • chhanbin.com

नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा पार्टी राजनीतिमा मात्रै होइन, राष्ट्रिय राजनीतिमै आशाका अनुहार हुन्। गत मंसिरमा सम्पन्न १४औं महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित भएका थापा र शर्माका सामु कांग्रेसलाई पुनर्जीवन दिने ठूलो चुनौती छ। दुई नेताको काँधमा बलियो र सुदृढ कांग्रेस बनाउने जिम्मेवारी कार्यकर्ताले थमाइदिएका छन्।

यसअघि प्रश्न गर्ने ठाउँमा रहेका उनीहरु अब उत्तर दिने ठाउँमा आइपुगेका छन्। त्यसकारण अबको चार वर्ष उनीहरुको अग्निपरीक्षा हुनेछ। पुस १० गते महामन्त्रीको कार्यभार सम्हालेपछि नै उनीहरुको परीक्षा सुरु भइसकेको छ। २०८२ साल मंसीर (समयमै १५औं महाधिवेशन भएको खण्डमा)सम्म महामन्त्रीका रुपमा उनीहरुले दिएको परीक्षाको नतिजा प्राप्त हुनेछ। १५औं महाधिवेशनमा सफल बनेर नेतृत्व दाबी गर्ने तहमा उनीहरु हुन्छन् वा असफल बनेर कार्यकर्तासँग माफी माग्ने अवस्था आइपर्छ? त्यो उनीहरुले गर्ने कर्ममा भर पर्नेछ। तर, यो प्रश्नको जवाफमा दुवै महामन्त्रीको एकै स्वर छ– हामीलाई असफल हुने छुट छैन।

यसअघि प्रश्न गर्ने ठाउँमा रहेका उनीहरु अब उत्तर दिने ठाउँमा आइपुगेका छन्। त्यसकारण अबको चार वर्ष उनीहरुको अग्निपरीक्षा हुनेछ।
त्यसो त कांग्रेस वृत्तमा अर्को एउटा प्रश्न पनि टड्कारो भएर आएको छ। गगन–विश्वले सहकार्य गर्लान् वा संघर्ष? चिन्ता जायज पनि छ। पार्टी राजनीतिमा उनीहरु प्रतिस्पर्धीका रुपमा हेरिन्छन्। कांग्रेस राजनीतिमा लामै समय प्रतिस्पर्धी हुने सम्भावना पनि देखिएको छ। त्यसैले उनीहरुले महामन्त्रीको जिम्मेवारी कसरी पूरा गर्लान् भनेर चासो व्यक्त हुनु स्वाभाविक नै हो।

गगन र विश्व आफूभन्दा सिनियर नेताहरुलाई पराजित गरेर महामन्त्रीमा निर्वाचित भएका हुन्। महामन्त्रीका उम्मेदवार डा. प्रकाशरण महत, डा. मीनेन्द्र रिजाल पार्टी राजनीतिमा गगन र विश्वभन्दा सिनियर नेता हुन्। कतिपय अरु सिनियर नेताहरुले पनि महामन्त्रीमा आकांक्षा राखेकै थिए। तर, उनीहरु प्रतिस्पर्धामा उत्रिएनन्। यसको अर्थ अब महामन्त्रीद्वयले युवाको प्रतिनिधित्व गर्दै सिनियर नेताको विश्वास जितेर पार्टी सञ्चालन गर्नुपर्नेछ।

कांग्रेसको विधान अनुसार महामन्त्री कार्यकारी पद हो। बैठकमा प्रस्ताव लैजानेदेखि संगठन चलाउनेसम्मको अधिकार महामन्त्रीलाई विधानले प्रत्यायोजन गरेको छ। र, सभापतिपछिको कार्यकारी पदमा थापा र शर्मा छन्। अब उनीहरु कसरी अघि बढ्छन् त?

दुवै महामन्त्री निकटहरुका अनुसार उनीहरुबीच संघर्ष र प्रतिस्पर्धा भन्दा पनि सहकार्य हुने सम्भावना धेरै देखिन्छ। महामन्त्रीमा निर्वाचित भएलगत्तै शर्माले भनेका थिए, ‘गगन र म हल बाँधेर कांग्रेस जोगाउनतर्फ लाग्छौं।’ त्यसो त महामन्त्री थापाले पनि शर्मासँग सहकार्यको जोड दिँदै आएका छन्। थापा भन्छन्, ‘मलाई विश्वप्रकाश शर्मा महामन्त्री हुँदा सहज छ। हामीले आफूलाई प्रमाणित गर्न पनि एकअर्कासँग मिल्नुपर्नेछ, परिपूरण गर्नुपर्ने छ र सकारात्मक हिसाबले तागत निर्माण गर्ने हो।’

दुवै जनाले पाटीभित्र सुधारको एजेन्डा उठाउँदै आएकाले एकै ठाउँमा उभिएर काम गर्ने थापाको भनाइ छ। ‘विधानले परिभाषित गरेर सभापतिपछि महामन्त्रीलाई अधिकार दिएको छ। यहाँनेर दुई दाजुभाइ एक ठाउँमा उभिन्छौं। पार्टीभित्रको सुधारको एजेन्डा वर्षौंदेखि उठाउँदै आएका थियौं। अब एकै ठाउँ उभिएर काम गर्नुपर्ने छ।’

दुवै महामन्त्री निकटहरुका अनुसार उनीहरुबीच संघर्ष र प्रतिस्पर्धा भन्दा पनि सहकार्य हुने सम्भावना धेरै देखिन्छ। अर्का महामन्त्री शर्मा पनि थापाले झैं मिलेर काम गर्ने दाबी गर्छन्। व्यक्ति दुई भए पनि पद एकै भएकाले मिलेरै काम गर्नुको विकल्प नरहेको शर्माको भनाइ छ। ‘हामीलाई महाधिवेशनले साझा जिम्मेवारी दिएको छ। मान्छे मात्रै दुईजना हो, पद त एकै हो नि,’ उनी भन्छन्, ‘पहिले एक जनामात्रै महामन्त्री हुने व्यवस्था थियो। तर, विस्तारै खुला समाजमा प्रतिस्पर्धा बढ्यो। ज्वलन्त समस्या बढे। त्यसलाई ध्यानमा राखेर दुई महामन्त्रीको व्यवस्था गरिएको हो। म गगनसँग मिलेर काम गर्ने पक्षमा छु र हामी त्यो गर्नेछौं।’

पुस १० गतेको पहिलो केन्द्रीय समितिे बैठकमा थापाले प्रस्ताव पेश गरेका थिए। १९ गतेको दोस्रो बैठकमा थापा उपत्यका बाहिर थिए र शर्माले प्रस्ताव लगेका थिए। यसले थापा र शर्मा सहकार्य गरेर अघि बढ्न चाहन्छन् भन्ने पुष्टि गर्छ।

बैठकमा प्रस्ताव लैजानेसँगै संगठन चलाउने, कार्यालय व्यवस्थापन, विचार निर्माण र प्रस्तुतिकरणमा तालमेल गर्दै अघि बढ्ने शर्मा बताउँछन्। ‘महामन्त्रीले कार्यसमिति बैठकमा प्रस्ताव लैजाने हो। संगठन चलाउने, कार्यलय व्यवस्थापन, विचार निर्माण र प्रस्तुतिकरणमा सहकार्य गर्छौं,’ शर्मा भन्छन्, ‘अनुभवी नेतृत्वलाई युवा स्पिरिट थप्ने र पाका सभापतिबाट परिपक्वता आर्जन गर्ने हो।’

पार्टीको कार्यकारी पदमा यसअघि थापा र शर्मा दुवै परीक्षण नभएका नेता हुन्। पहिलो पटक कार्यकारी पदमा पुगेपछि उनीहरु परीक्षणको कसीमा छन्। नेता–कार्यकर्ताले उनीहरुको परीक्षण उनीहरुको कर्मका आधारमा गर्नेछन्। त्यो परीक्षणमा खरो उत्रिन पनि उनीहरु सहकार्यको पक्षमा देखिएका छन्। उनीहरुले सहकार्य गर्दा सफलता प्राप्त हुने बुझेका छन्। संघर्षले असफलताको जोखिम निम्त्याउने खतरा उनीहरुले देखेका छन्। त्यही जोखिमले उनीहरुलाई सहकार्यको विकल्पमा धकेलिदिएको छ। ‘मसँग राखिएका अपेक्षा पूरा गर्न खरो रुपमा उत्रन्छु भनेर प्रमाणित गर्न पनि मैले मेरो समयलाई उत्साह, ऊर्जाका साथ काममा लगाउनु पर्नेछ,’ थापा भन्छन्, ‘त्यसका लागि मैले अर्को महामन्त्रीसँग मिलेर काम गर्नैपर्छ। यो हामी दुवैको बाध्यता पनि हो।’

सहकार्य गरेर अघि बढ्न र बाटो पहिल्याउन उनीहरुले कसरत गरिरहेका छन्। महामन्त्रीमा निर्वाचित भइसकेपछि उनीहरुबीच पटक–पटक छलफल भएको छ। कांग्रेस हाँक्न उनीहरु दुईबीचको सहकार्यमात्रै पर्याप्त हुँदैन। विधानले उनीहरुलाई कार्यकारी भूमिका दिएको छ। तर, कांग्रेस सभापतिय प्रणाली भएको पार्टी हो। त्यसका लागि उनीहरुले सभापति शेरबहादुर देउवाको विश्वास जित्नुपर्ने छ। किनकि दुवै देउवाले नचाहेका महामन्त्री हुन्। त्यसो त शर्मा महामन्त्रीमा निर्वाचित हुनुअघि देउवाकै समूहमा थिए। २०७४ सालको आम निर्वाचनपछि देउवाले उनलाई पार्टी प्रवक्ताको भूमिका सुम्पिएका थिए। प्रवक्ताको जिम्मेवारीसँगै उनले देउवासँगको सामिप्ता प्रकट त गरिरहेका थिए तर, १४औं महाधिवेशन नजिकिँदै गर्दा उनी देउवा समूहबाट किनारामा उभ्याइए।