स्थानीय तहले हेपेपछी इसीडी शिक्षकले नेता गुहार्न थाले, शिक्षा मन्त्रीले यी चार मन्त्री संग के कुरा गरे ?

  • प्रकाशित मिति : २०७८ पुष २८, बुधबार
  • chhanbin.com

स्थानीय तहले केन्द्र सरकारले तोकेको तलब दिन आनाकानी गरेपछि स्थानीय तहको दादागिरीलाई थान्को लगाउन प्रारम्भिक बालविकास सहजकर्ता (इसीडी शिक्षक) हरूले राजनीतिक दलका शीर्ष नेताहरूसँग भेटगरी आफ्ना समस्या समाधानका लागि ध्यानाकर्षण गराएका छन् । तलबमा भेदभाव गर्ने मात्र नभएर आफूहरुले पाउनु पर्ने तलब नपाएपछि देशैभरका इसीडी शिक्षक मारमा परेका छन्।

सरकारले बजेट भाषणमार्फत तलब तोके पनि सबै स्थानीय सरकारले त्यसलाई कार्यान्वयन गरेका छैनन् । त्यसले गर्दा एउटै जिल्लाका अलग -अलग स्थानीय सरकार मातहत कामगर्ने इसीडी शिक्षक र विद्यालय कर्मचारीको तलब फरक हुने गरेको छ । शीर्षस्थ नेताहरूसँगको भेटघाटामा संघीय सरकारले तोकेको न्युनतम मासिक तलब, दरबन्दी, उमेर हदबन्दी र शैक्षिक योग्यता सम्बन्धी समस्याबारे उनीहरूले कुरा राखेका हुन् ।

नेपाल बालविकास शिक्षक, केन्द्रीय समिति अध्यक्ष कृष्णकुमारी थापा मगर नेतृत्वको टोलीले बुधबार नेता वामदेव गौतम, कांग्रेसका महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्मालाई भेटेर आफ्ना समस्याबारे ध्यानाकर्षण गराए ।

संघीय सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेटमार्फत् इसीडी शिक्षक र विद्यालय कर्मचारीलाई न्युनतम १५ हजार तलब दिने बताएको थियो । संघले ८ हजार र स्थानीय सरकारले त्यसमा ७ हजार थपेर तलब दिने गरी बजेट भाषणमा व्यवस्था गरिए पनि त्यसअनुसार तलब पाएका छैनन् । स्थानीय सरकारलाई यसबारे बारम्बार ध्यानाकर्षण गराउँदासमेत तलब नपाएको गुनासो उनीहरूको छ । बजेट भाषणअनुसार तलब पाउनुपर्ने माग गर्दै इसीडी शिक्षक र विद्यालय कर्मचारीले निरन्तर आन्दोलन गरे पनि धेरै स्थानीय तहले सुनवाइ गरेको छैन ।

यता शिक्षा मन्त्री देबेन्द्र पौडेलले कानून मन्त्री, अर्थ मन्त्री र सामान्य प्रशासन मन्त्री संग कुरा गरेर इसीडी शिक्षककै खातामा तलब जम्मा गराउन पहल थालेको समाचार बाहिरिएको थियो। स्थानीय तहले पाउने अनुदान बाट काटेर भएपनि इसीडी शिक्षकलाई तलब खुवाउन ती मन्त्री संग शिक्षा मन्त्रीले छलफल गरेको बुझिएको छ।