कुन बैंकका सीईओले कति खान्छन् तलब ? सबैभन्दा धेरै तलब दिने बैंक कुन हो ?

  • प्रकाशित मिति : २०७८ पुष २८, बुधबार
  • chhanbin.com

नेपालमा बैंक तथा वित्तीय संस्थाको रोेजगारी निकै आकर्षक मानिन्छ । अन्य क्षेत्रकोभन्दा तलब, भत्ता, सेवा सुविधा राम्रो हुने भएकाले बैंकिङ क्षेत्रमा जागिर खान आकर्षित हुन्छन् । बैंक तथा वित्तीय संस्थाहरुमा काम गर्ने कर्मचारीहरुले मासिक तलबका साथै, बैंकको नाफाबाट प्राप्त हुने बोनस, भत्ता, सामाजिक सुरक्षा कोष, बीमा, बिदाको भत्ता, दशैँ भत्ता लगायत सुविधा पाउने गरेको छन् ।

साथै, सस्तो ब्याजदरमा गाडी, घर किन्न कर्जा लगायत सुविधा सबै पदका कर्मचारीहरुले पाउने गरेका छन् । तर, बैंकका कर्मचारीहरुमध्ये सबैभन्दा ठूलो पद प्रमुख कार्यकारी अधिकृत (सीईओ)ले यी बाहेक सवारी, चालक, इन्धन खर्च,संञ्चार तथा टेलिफोन लगायतका सुविधाहरु पाउँछन् ।

एउटा बैंकमा एउटा सीईओ दुई कार्यकाल भन्दा बढी बस्न पाउँदैन् । नेपाल राष्ट्र बैंकको नियमअनुसार सीईओको एउटा कार्यकाल ४ वर्षको हुन्छ । यसरी सीईओहरुले एक बैंकको जागिर छाडेपछि ६ महिनासम्म कुनैपनि बैंकमा जागिर गर्न नपाउने प्रावधान छ ।

राष्ट्र बैंकले तोकेको मापदण्ड पूरा गरेर बैंंकको संञ्चालक समितिले योग्यता पुगेको व्यक्तिलाई सीईओमा नियुिक्त गर्छन् । यसरी हरेक वर्षको वार्षिक प्रतिवेदनमा बैंकहरु कर्मचारीहरुको तलब भत्ता लगायत सेवा सुविधाहरुको विवरण समेत सार्वजनिक गर्ने गरेका छन् । गत आर्थिक वर्ष २०७७/७८ मा वाणिज्य बैैंकहरुले सार्वजनिक गरेको विवरण अनुसार सीईओहरुले वार्षिक करोडौँ रुपैयाँसम्म तलब, भत्ता लिने गरेका छन् ।

धेरै तल, भत्ता बुझ्नेमा निजी क्षेत्रका बैंकका सीईओहरु रहेका छन् । सरकारी बैंकका सीईओको तुलनामा निजी बैंकको सीईओको तलबभत्ता झन्डै ८ गुणासम्म बढी रहेको छ ।

सीईओलाई कुन बैंकले कति दियो तलब भत्ता ?

हाल संचालनमा रहेका २७ वटा वाणिज्य बैंकहरुमध्ये (एनआइसी एशिया र राष्ट्रिय वाणिज्य बैंक बैंक बाहेक) सबैभन्दा धेरै तलब तथा सेवासुविधा लिनेमा प्रभु बैंकका सीईओ अशोक शेरचन रहेका छन् । उनले गत १ वर्षको तलब तथा सेवा सुविधा बापत ३ करोड ५३ लाख रुपैयाँ लिएका छन् ।यो सरकारी स्वामित्वको कृषि विकास बैंकको सीईओको भन्दा झन्डै ८ गुणा बढी हो ।

गत वर्ष सबैभन्दा कम तलब, भत्ता सुविधा लिनेमा सरकारी स्वामित्वको कृषि विकास बैंकका सीईओ अनिल उपाध्याय रहेका छन् । उनले गत एक वर्षमा ३९ लाख ६६ हजार रुपैयाँँ पारिश्रमिक लिएका छन् ।

त्यसैगरी, धेरै तलब सुविधा लिनेको दोस्रो स्थानमा नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति पाण्डे रहेका छन् । उनले गत वर्ष तलब भत्ता लगायत सेवा सुविधा बापत ३ करोड ६ लाख रुपैयाँ बुझेका छन् ।

प्राइम कमर्सियल बैंकका सीईओ नारायणदास मानन्धर २ करोड ८६ लाख, स्ट्यान्डर्ड चार्टर्ड बैंकका सीईओ अनिर्भान घोष दस्तिदार ,२ करोड ७६ लाख, बैंक अफ काठमाण्डूका सीईओ शाोभन देव पन्त २ करोड ५६ लाख र नबिल बैंकका सीईओ अनिल केशरी शाहले २ करोड ४५ लाख रुपैयाँ तलब, भत्ता र सेवा सुविधा लिएका छन् ।

त्यसैगरी, एभरेष्ट बैंकले मुख्य व्यवस्थापकहरुको तलब भत्ता लगायतमा ३ करोड ७० लाख रुपैयाँ खर्च गरेको छ । बैंकको प्रमुख कार्यकारी पदमा रहेका डा. सुधीर कुमार, गजेन्द्रकुमार नेगी, नायब महाप्रबन्धक गौरव कुमार र गिरिश कोहलीका साथै सहायक महाप्रबन्धक केशव पौडेल र आशुतोष शर्माले सो रकम लिएका हुन् ।

कुमारी बैंकका सीईओ सुरेन्द्र भण्डारीले गतवर्ष २ करोड ३८ लाख ३१ हजार रुपैयाँ तलब सुविधा लिएका छन् । सनराइज बैंकका सीईओ सुमन शर्मा,हिमालयन बैंकका सीईओ अशोक राणा, सिद्धार्थ बैंकका सीईओ सुन्दर कँडेलले क्रमशः २ करोड २९ लाख, २ करोड १४ लाख, २ करोड ११ लाख रुपैयाँ तलब, भत्ता सहित विभिन्न सेवा सुविधाबापत लिएका छन् ।

लक्ष्मी बैंकका सीईओ सुदेश खालिङ १ करोड ९ लाख, सानिमा बैंकका भुवन दाहाल १ करोड ८४ लाख, एनएमबी बैंकका सुनिल केसी १ करोड ७४ लाख, सेञ्चुरी कमर्शियल बैंकका तुलसी गौतम १ करोड ५७ लाख, एनसीसी बैंकका रमेशराज अर्याल १ करोड ५२ लाख, ग्लोबल आइएमई बैंकका महेश ढकाल १ करोड ४९ लाख, नेपाल बंगलादेश बैंकका सीईओ ज्ञानेन्द्र ढुङगानाल १ करोड ४१ लाख रुपैयाँ तलब, सेवासुविधा लिएका छन् ।

त्यसैगरी, नेपाल एसबीआइ बैंकले प्रमुख कार्यकारीको भूमिकामा एक वर्षमा एक करोड ३२ लाख ९२ हजार ९६१ रुपैयाँ खर्च गरेको छ । सिटिजन बैंकका सिईओ गणेश पोखरेलले १ करोड ३१ लाख, माछापुच्छ्रे बैंकका सीईओ सन्तोष कोइरालाले १ करोड २८ लाख, मेघा बैंककी सीईओ अनुपमा खुञ्जेलीले १ करोड २ लाख र सिभिल बैैंकका सीईओ सुनिल पोखरेलले १ करोड १४ लाख रुपैयाँ गत एक वर्षमा तलब,भत्ता र विभिन्न सेवा सुविधा बापतको पारिश्रमिक लिएका छन् । त्यसैगरी अर्धसरकारी नेपाल बैंकका सीईओ कृष्ण अधिकारीले गत वर्ष ५४ लाख रुपैयाँ तलब, भत्ता र अन्य सेवा सुविधा बापत बुझेका छन् ।